नेपालमा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि म निरन्तर संघर्षमा छु। मेरा मागहरू सरल र हरेक नेपालीको दैनिक जीवनसँग सरोकार राख्छन्। मेरो जीवनमा कुनै व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा छैन। मेरो परिवार, छोराछोरी कोही पनि छैन। चिकित्सा क्षेत्रमार्फत् आमनेपालीको सेवा गर्दै मेरो जीवनको धेरै समय सकियो। अब मलाई आफ्नो लागि केही सोच्नुपर्ने पनि छैन। मलाई हरक्षण नेपालको चिकित्सा क्षेत्र र युवा पुस्ताको भविष्यले सताइरहन्छ।
विश्वका धेरै विकसित मुलुकमा चिकित्सा क्षेत्र गैरनाफामूलक विशुद्ध सेवामूलक क्षेत्र हो, जसमा सरकारको पूर्ण स्वामित्व रहन्छ। चिकित्सा शिक्षा तथा अभ्यासलाई नाफामूलक व्यवसायका रूपमा हेरिँदैन र हेरिनु पनि हुँदैन। संविधानमै समाजवादउन्मुख भनिएको नेपालजस्तो देशमा त स्वास्थ्य र शिक्षा हरेक नेपालीका लागि निःशुल्क हुनुपर्थ्यो। तर, नेपालमा राजनीतिक दलहरूको आवरणमा संगठित दलालीतन्त्रले चिकित्सा क्षेत्र सबभन्दा ठूलो व्यवसायका रूपमा फस्टाइरहेको छ। त्यसबाट नाजायज फाइदा लिनेमा विभिन्न निकायका पदाधिकारी र तिनका राजनीतिक संरक्षक मात्र नभएर संवैधानिक अंगका प्रमुखसमेत छन्।
अहिले सामान्य रोगको उपचार गर्न पनि लाखौं खर्च गर्नुपर्ने परिस्थिति आइसकेको छ। दुरदराजका गाउँहरूमा गरिब नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सामान्य उपचार पनि नपाएर अकालमै मर्न बाध्य छन्। मेरो सबैभन्दा ठूलो लडाइँ चिकित्सा क्षेत्रलाई छिटो अकुत धन कमाउन चाहनेहरूको पञ्जाबाट मुक्त गराई फेरि सेवामूलक पेसाका रूपमा स्थापित गर्नका लागि हो।
कोही पनि नेपाली स्वास्थ्य उपचारको अभावमा मर्न नपरोस् भनेर नेपालको संविधान २०७२ ले गुणस्तरीय स्वास्थ्यमा सबै नेपालीको समान पहुँचलाई संवैधानिक अधिकारका रूपमा स्थापित गरेको छ। यो संवैधानिक अधिकारलाई हरेक नेपालीले वास्तविक जीवनमा उपभोग गर्नसक्ने बनाउनुपर्छ भनेर म निरन्तर आन्दोलित छु।
अहिलेको गतिमा स्वास्थ्य शिक्षाको व्यावसायिकीकरण हुन दिने हो भने एकातिर हरेक दिन सयौं नेपाली स्वास्थ्य उपचारका लागि पैसा तिर्न नसकेर मर्नुपर्ने समय आउनेछ भने अर्कातिर चिकित्सकहरूको गुणस्तरमा गरिएको सम्झौताका कारण धेरै नेपालीको स्वास्थ्य र ज्यानसमेत गुम्ने अवस्था आउनेछ। सहरमा बेरोजगार डाक्टरहरूको भीड लाग्नेछ भने गाउँमा सिटामोल र जीवनजल नपाएर नागरिकहरू मर्ने अवस्था रहिरहनेछ।
अहिले नै नेपाल विश्वमै सबैभन्दा धेरै निजी मेडिकल कलेज भएको र महँगो मेडिकल शिक्षा भएको देशमध्ये पर्छ। जुन नेपालजस्तो गरिब मुलुकका लागि दुःखद संकेत हो। चिकित्सा क्षेत्रमा धेरै पैसा हुने होइन, जेहेन्दार अनि क्षमतावान विद्यार्थीहरूले अवसर पाउनुपर्छ। नेपालमा आजको दिनमा स्वास्थ्य क्षेत्रमा क्षमतावान होइन, पैसाको भरमा डाक्टरी डिग्री हात पार्नेहरूको संख्या धेरै भइसकेको छ।
चिकित्सा क्षेत्रमा राजनीतिक दलहरूको संरक्षण र मौनतामा बढिरहेको विसंगति अनि विकृतिलाई नजिकबाट भोगिरहेको एक चिकित्सक तथा प्राध्यापकको नाताले म चुप लागेर बस्न सकिनँ र आठौं अनसनको सुरुआत गर्दैछु। मैले राखेका माग र पटकपटक नेपाल सरकारका अधिकारी तथा हामीबीच भएका सम्झौताका बारेमा राम्रोसँग अध्ययन गरेर सत्यको पक्षमा उभिन म युवा पुस्तालाई विनम्र अनुरोध गर्दछु।
अनसन बसे पनि नबसे पनि अब मेरो जीवन त त्यति धेरै बाँकी छैन होला। यो देशको बारेमा सबैभन्दा बढी सोच्ने र निर्णय लिने जिम्मेवारी अब युवा पुस्ताको काँधमा आइपुगेको छ। देशको दुर्गतिसँगै धेरै दुःख पाउने त अहिलेको युवा पुस्ताले हो। हामीले लुटतन्त्रविरुद्ध आवाज उठाएनौं भने भविष्यमा सिंगो युवा पुस्ताले नै पछुताउनुपर्नेछ।
देशमा बेथिति र विसंगतिले सिमाना काटिसकेको छ। कानुनी राज्यको झन्डै अवसान भइसक्यो। राणा शासनको झल्को दिने गरी राजनीतिक दल र नयाँ–नयाँ शक्तिकेन्द्रका रूपमा उदाएका छोटे राजाहरू अनि भाइभारदारहरूको लर्कोले यो देशको लोकतन्त्रलाई खुलेआम उपहास गरिरहेका छन्। हामी नागरिक लुटतन्त्रका अगाडि निरीह बनेर बसिरहेका छौं। हामी अब चुप बस्न हुँदैन। न्याय र विधिको शासनका लागि जुर्मुराउन ढिला भइसकेको छ।
म युवा पुस्तालाई आह्वान गर्छु, नेपालमा न्याय र विधिको शासन स्थापना गर्न सबैभन्दा पहिला चिकित्सा क्षेत्रमा मौलाएको लुटतन्त्रको अन्त्य गर्ने प्रण गर्दै हातेमालो गरौं। जसले कानुनको पालना र राज्यको साधनस्रोतको सुरक्षा गर्नुपर्ने हो, उनीहरूबाटै भइरहेको लुट र अत्याचारविरुद्ध आन्दोलित बनौं। चिकित्सा क्षेत्रबाट सुरु भएको यो आन्दोलनलाई सफल पार्दै नेपालको हरेक क्षेत्रमा विधि र कानुनको शासन, पारदर्शिता र जवाफदेहीता स्थापना गर्न सकिन्छ भन्ने आशाको सञ्चार गर्नमा उपयोग गरौं।
हाम्रो भविष्य नै जोखिममा पार्ने भ्रष्ट प्रवृत्तिलाई कदापि जित्ने अवसर दिनु हुँदैन। यो हाम्रो लडाइँले युवा पुस्तामा आशा र आत्मविश्वास बढाउने छ भन्ने मेरो पूर्ण विश्वास छ। चिकित्सा क्षेत्रलाई माफियाहरूको हातबाट मुक्त राख्नु नै युवा पुस्ताका लागि सबभन्दा ठूलो जित हुनेछ।
मेरो अनसन र अभियान तीन करोड नेपालीहरूको स्वास्थ्यसँग खेलवाड गरिरहेका मेडिकल माफिया र उनका राजनीतिक संरक्षकहरू एवं सुशासनको रक्षक हुनुपर्नेमा भक्षक बनेर दण्डहीनतालाई संस्थागत गर्ने प्रवृत्तिविरुद्ध केन्द्रित छ। यो लडाइँमा यहाँहरूले जुन तत्परता र इच्छाशक्तिसहित सहयोग र सहभागिता देखाउनुभएको छ, त्यससँगै हाम्रो आधा जित हासिल भइसकेको मलाई महसुस भइरहेको छ। यही सामूहिक प्रयासको बलमा यो लडाइँ हामीले पूरै जित्ने छौं भन्नेमा मलाई पूर्ण विश्वास छ।
हाम्रो अभियानलाई यति भरोसा गरेर साथ दिनुहुने यहाँहरूलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यो लामो लडाइँमा हामी सधैं एक ठाउँ हुने नै छौं।
(अनसनको पहिलो दिन आइतबार डा. केसीले दिएको वक्तव्य)