नेपाली समाजमा लाहुर जाने परम्परा लामो छ। यो विषयमा दुईवटा कोणबाट छलफल हुने गर्छ। एउटा, नेपाली समाजमा रोजगारको उचित अवसर नपाउँदा लाहुर जानु बाध्यात्मक परिस्थिति हो भन्ने छ। दोस्रो, जे गर्ने हो आफ्नै देशमा गर्नुपर्छ, लाहुर जानु अनुचित हो भन्ने छ।
लाहुरे परम्पराको इतिहास र त्यसले नेपाली समाजमा पारेको प्रभाव हेर्दा यी दुई दृष्टिकोणबाहिर पनि छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ। यसका थप ठूलाठूला आयाम भेटिन्छन्। त्यसैले, नयाँ पुस्ताले यसमा नयाँ नयाँ निष्कर्षको खोजी गर्नु आवश्यक छ।
तराईमा खेतीयोग्य जमिनको मात्रा अलि बढी भएकाले त्यहाँ लाहुर जाने परम्परा त्यति थिएन। त्यहाँको जमिनले श्रमशक्तिलाई धानेको थियो। काम गर्न छोटो समय भारतका कुनै सहरमा जाने परम्परा भए पनि लामै समयका लागि घर छोडेर काममा जानुपर्ने आवश्यकता थिएन। हुन त अहिले त्यहाँको पनि परिस्थिति फेरिएको छ। इतिहासमा भने त्यहाँ लाहुरे परम्परा देखिँदैन।
पश्चिम पहाडको कुरा गर्दा भारतमा मुगल शासन हुँदादेखि नै काम गर्न जाने परम्परा देखिन्छ। मुगलको शासन भएकाले नै भारतलाई उनीहरू मुग्लान भन्ने गर्थे।
पृथ्वीनारायण शाहको राज्य विस्तारअघि पश्चिम नेपालमा स-साना राजारजौटाको शासन थियो। उनीहरूले बाली प्रथामै भए पनि विभिन्न सेवक समुदायलाई संरक्षण दिएका थिए। राज्य विस्तारसँगै उनीहरूको शासन समाप्त भयो। ती सेवक समुदाय राज्यबाट पाउने संरक्षणबाट वञ्चित भए। त्यसैले रोजीरोटीका लागि उनीहरू भारत काम गर्न जाने क्रम अझ बढ्न पुग्यो। यस्तो सेवक समुदायमा विशेषत दलितहरू नै हुने हुँदा यसरी काम गर्न भारत जाने पनि दलितहरू नै धेरै भए।
पछि बलभद्र कुँवर पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भएको पनि भनिन्छ, यद्यपि यो पुष्टि भएको छैन। नेपाल-अंग्रेज युद्धमा सन्धि भएपछि भारतको पन्जाबको लाहौर जाने क्रम सुरु भयो। यतिबेलैदेखि विदेश गएर फर्किनेलाई लाहुरे भन्ने थालियो।
जंगबहादुरको शासनकालमा उनले जनजातिलाई दुई खेमामा विभाजित गरे। मुलुकी ऐनमा मासिन्या र नमासिन्या मतवालीमा विभाजन गरे। पछि राणाकालमै गोर्खाभर्ती सम्बन्धि सम्झौता भयो। नमासिन्या मतवाली अन्तर्गत पर्ने मगर, गुरुङ, राई र लिम्बु ब्रिटिस सेनामा जाने क्रम सुरु भयो।
नेपालको खस-आर्य समुदाय नेपाली सेनामा नै खपत हुन सक्ने र नेतृत्वमा पुग्न सक्ने हुँदा विदेशी सेनामा जान उत्साही भएन। तर, यी चार जातिका युवाहरू ब्रिटिस सेनामा भर्ती भए । उनीहरूले विश्वयुद्धमा समेत भाग लिए। उनीहरूले अंग्रेजका निम्ति बहादुरीका साथ लडे। पछि यसैको निरन्तरताका रूपमा ब्रिटिस सेना र भारतीय सेनामा जाने परम्परा सुरु गर्यो। यसबाहेक नेपालबाट ल्हासा जाने क्रम पनि थियो। तर, त्यो श्रम गर्न नभएर मूलत व्यापारका लागि थियो।
यसरी विभिन्न स्वरुपमा श्रमका लागि मुलुकबाहिर जाने प्रचलनले नेपाली समाजमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।
पहिलो, दलितको नाममा खेत
पश्चिम नेपालमा जति पनि दलितहरूसँग खेत छ, त्यो भारतबाट फर्किएकाहरूले नै किनेका हुन्। नेपालमा उनीहरू बालीघरे प्रथा अन्तर्गत काम गर्थे। त्यसैले नगद उनीहरूको पहूँचमा थिएन। बारी त उनीहरूसँग हुनसक्थ्यो। बिष्टहरूले छाप्रो हाल्न दिएको जग्गा उनीहरूको नाममा नापी भएको हुनसक्छ। सिकर्मी र डकर्मी काम समेत गर्ने भएकाले घर बनाउन सक्थे। बालीघरे आधारमा श्रम गर्ने उनीहरूले खेत किन्न सक्ने गरी नगद जम्मा गर्न सक्ने सम्भावना भने थिएन। भारतमा श्रम गरेर नगद आर्जन गर्ने दलितले मात्रै खेत किन्न सके।
यसले नेपालको वर्णव्यवस्थाबाट निर्धारित पश्चिम नेपालको वर्ग बनावट एकहदसम्म यसले भत्कायो। नेपालको वर्ग बनावटमा यो निकै महत्वपूर्ण पाटो हो। किनभने नेपाली समाजको व्यवस्थाभित्रै रहेर दलितले खेत किन्न सम्भव नै थिएन।
दोस्रो, लाहुरेले बनाएका चार सहर
लाहुरे परम्पराले नेपालमा चारवटा ठूलाठूला सहर बनायो- धरान, नारायणगढ, पोखरा र बुटवल।
राई, लिम्बु, मगर र गुरुङ जातिले आ-आफ्नो ऐतिहासिक थातथलो प्रवेश गर्ने केन्द्रमा नयाँ सहर बसाएका हुन्। धरान राई र लिम्बु जातिको ऐतिहासिक बसोबास क्षेत्र प्रवेश गर्ने केन्द्र हो। नारायणगढ र पोखरा गुरुङ जातिको तथा बुटवल मगर जातिको पुरानो थातथलो प्रवेश गर्ने क्षेत्र हो। त्यसैले यी जातिका लाहुरेहरू यिनै सहरमा केन्द्रीत भए।
यदि यी चार जनजातिबाट ब्रिटिस सेनामा गएका थिएनन् भने यी सहरले यस्तो स्वरूप पाउने थिएनन्। धरान र पोखरामा पुरानो नेवार बस्तीमात्रै हुन्थ्यो। चितवनमा पनि पुनर्वास अन्तर्गत पहाडबाट झरेका केही मानिसहरूको मात्रै बसोबास हुन्थ्यो। बुटवलले पनि यो तामझाम पाउने थिएन।
नेपालको परम्परागत सामाजिक, आर्थिक र राजनीतिक संरचना अन्तर्गत यी सहरको विकास सम्भव थिएन। जस्तो, बन्दीपुरजस्ता परम्परागत सहरको विकास सम्भव भएन। यो संरचनालाई छल्दै यी सहरले यो स्वरुप प्राप्त गरेका हुन्।
नेपालको परम्परागत आर्थिक, राजनीतिक र सामाजिक संरचना अन्तर्गत रहेर जनजातिले यति ठूलाठूला घर बनाउन सम्भव थिएन। तर उनीहरूले बुटवल र पोखरामा ढुंगाका ठूल्ठूला घरहरू बनाए। धरानमा आकर्षक डिजाइनका राम्राराम्रा घर बनाए। नारायणगढमा पनि त्यहि भयो। अर्थात्, लाहुरेहरूले नेपालको परम्परागत समाज व्यवस्थाले डिजाइन गरेको ढाँचा भत्काइदियो र जनजाति भित्र नयाँ मध्यमवर्ग निर्माण गर्यो। यो इतिहासको एउटा महत्वपूर्ण क्रमभङ्ग हो।
तेस्रो, दलित भित्रको नयाँ वर्ग
यहि लाहुरे परम्पराले कामीभित्र सुनारहरूको एउटा मध्यम वर्ग सिर्जना गर्यो। लाहुरे परम्पराअघि पनि सुनारहरू छँदै थिए। जंगबहादुरको मुलुकी ऐनमा कामी र सुनारलाई छुट्टाछुट्टै उल्लेख छ। तर,नेपालको परम्परागत व्यवस्था अन्तर्गत उनीहरू मध्यम वर्गको रुपमा विकास हुन सम्भव थिएन। गहनाको काम गरे पनि उनीहरू बाली प्राप्त गर्थे। बाली उठाएर जीविकोपार्जन गर्न त सम्भव थियो तर सम्पत्ति जोड्न सम्भव थिएन।
गहना परम्परा भएका राई, लिम्बु, गुरुङ र मगर, ब्रिटिस सेनामा पुगे पनि सुरुमा भारत पुग्यो। भारतमा गहना परम्परा अझ विकसित र लोकप्रिय थियो। त्यसले उनीहरूलाई झन् उत्साही बनायो। त्यसपछि उनीहरू बेलायत, सिङ्गापुर, बर्मा, ब्रुनाइ लगायतका मुलुक पुग्यो। उनीहरूले त्यहाँबाट फर्किँदा नगद लिएर आए। त्यसलाई गहना बनाउनमा पनि खर्च गरे।
हिन्दु खस-आर्यहरूले दलितलाई बालीप्रथामा राखे पनि यी जनजातिहरू यो प्रथा अन्तर्गत प्रशिक्षित भएको थिएन। उनीहरूले गहनाको काम गरेबापत् सुनारहरुलाई नगद दिन सुरु गरे। राई,लिम्बु, गुरुङ, मगर पनि बालीप्रथामा अभ्यस्त हुन्थे भने यो सम्भव थिएन। यी समुदायमा बालीप्रथा नरहेकै कारण सुनारहरूले नगद संकलन गर्न पाए। सुनारहरूको एउटा खलक लाहुरेहरूको बसोबास रहेका धरान, नारायणगढ, बुटवल र पोखरामा केन्द्रीत भयो। यी सहरमा उनीहरूको नयाँ मध्यम वर्ग तयार भयो।
दलितभित्र तयार भएको यो मध्यमवर्ग लाहुरे परम्पराको उत्पादन हो। नेपालको परम्परागत समाज व्यवस्था अन्तर्गत दलित समुदायबाट यो स्तरमा उठ्न सम्भव नै थिएन। ती सुनार बाहेकका परम्परागत काम गरिरहेका कामीलाई यो स्तरमा उठ्न अहिले पनि सम्भव छैन।
लाहुरे परम्पराले हामीलाई आत्मविश्वास त दिएन। अरुमाथि आश्रित हुने र आफ्नो सिर्जनाभन्दा अरुले बनाइदिएको सुत्रभित्र फिट हुन सिकायो। तर यसले नेपाली समाजको परम्परागत ढाँचालाई थोरै भए पनि भत्काइदियो। आज जति जनजातिबाट गायकलगायत निस्किएका छन्, ती लाहुरे परिवारसँग सम्बन्धित हुँदैनथे भने आजको स्तरमा आउन सम्भव थियो? आज लाहुर जान नपाएको तामाङको हालत के छ? तामाङ त मासिन्या मतवाली भित्र थियो, राज्यले उसलाई प्रोत्साहित गर्दैन थियो। केही लाहुर गएका थिए भने पनि गुरुङ थर लेखेर गएका पाइन्छ।
लाहुर जान नपाएको भए गुरुङ, राई, लिम्बु र मगर पनि आजकै तामाङको हालतमा हुन्थे। जुनजुन समुदायबाट लाहुर जान पाए उनीहरूले नेपालको परम्परागत अर्थव्यवस्थाको नियन्त्रण भत्काए र नेपालमा नयाँ मध्यम वर्ग सिर्जना भयो। कतिपयले त व्यवसायमा अगुवाइ नै गरिरहेका छन्।
यी समुदायभित्रका मानिसले विर्ता पाउन सम्भव थिएन। बरू भएकै किपट पनि खोसिएको थियो। त्यसैले जमिनबाट उनीहरूको प्रगति सम्भव थिएन। शिक्षाबाट बञ्चित गराइएको हुँदा शिक्षाबाट पनि प्रगति सम्भव थिएन।
त्यसैले लाहुरे परम्परा नेपालमा हुँदैनथ्यो भने राई, लिम्बु, मगर र गुरुङ भित्रको एउटा हिस्सा मध्यमवर्गको रुपमा स्थापित हुन सक्ने थिएन। उनीहरू नेपालको परम्परागत सामाजिक, आर्थिक, राजनितक पद्धतिलाई छलेर अगाडि बढेका हुन्। त्यही पद्धतिभित्र उनीहरू मध्यमवर्गका रुपमा स्थापित हुन सम्भव नै हुँदैनथ्यो।
इतिहासको अध्ययन गर्दा लाहुरे परम्परा गम्भिरताका साथ अध्ययन गरिनु आवश्यक छ। नयाँ पुस्ताले इतिहास अध्ययन गर्दा यसका सिमित आयमभित्रको छलफलबाट बाहिर आएर थप आयाम खोजि गर्नु जरूरी छ।