‘कहिलेकाहिँ सबैभन्दा मुस्किल निर्णय नै सबैभन्दा सहि निर्णय हुन्छ’
निर्णय गर्न सकिरहेको छैन- कुन पक्षमा उभिउँ? तर्कवाणको वर्षा कुन पक्षमाथि गरौं? कांग्रेसमा अब के हुनुपर्छ भन्ने ‘कोरा थेसिस’ आलेखको विषय बनाउँ कि नबनाउँ? सजिलो त त्यहि हो।
सजिलो बाटो भनेको ‘उपदेश छाप सतही शब्द पसल’ खोल्नु हो। तर आजभोलि त्यस्ता पसल पनि चल्न छाडेको छन्। श्रोताभन्दा वक्ता धेरै हुने कार्यक्रमजस्ता भएका छन्।
बडा गहिरो तवरले बुझ्नु पर्ने कुरा- हर युगका चुनौति फरक हुन्छन्। यो ‘वैश्य युग’ हो। ‘उत्पादन र बजार’ यस्को धर्म हो। युग फरक भएकोले यसका चुनौति स्वाभवत:फरक छन्। चुनौति फरक भएकाले समाधानका उपाय पनि भिन्न हुने नै भए।
वैश्य युगको यो सामान्य तथ्य नेपालको राजनैतिक एवम बौद्धिक नेतृत्वको पकडमा आइनरहेको अवस्था हो,अहिले। साधारण क्षमताको ब्याट्सम्यानले क्रिकेटमा ‘गुगली’ बलको स्पिन नबुझेको अवस्था हो।
अपवादबाहेक, नेपालको बौद्धिक नेतृत्वको बाल्टी खाली भइसकेको छ। उमेर धेरै भएर खाली भएको होइन। भन्ने कुरा बाँकी नभएर खाली भएको हो। हामीले नितदिन दोहोर्याउने शब्द र समाजको यथार्थबीचको पारपाचुके भएकाले यस्तो अवस्था आएको हो।
‘वैश्य समाज’का जटिलता बुझ्न नसकलेर बाल्टी रित्तिएको हो।
ईन्टरनेटमा ‘गुगुलेश्वर महादेव’(गुगलेश्वरी महादेवी पनि भन्न सकिन्छ)को आगमनका साथै सामान्य सूचना संकलनको बलमा पिएचडी वा मास्टर्स गर्नेहरुको बौद्धिक रवाफ स्वत: समाप्त भएको छ। थियो कुनै युग, जब सामान्य जानकारीका बलमा काठमाडौंको खाल्डोमा ठूलै बौद्धिक कहलिन पाइन्थ्यो। थियो कुनै युग, जब ‘ठूलो’ मिडियामा झुल्लिएकै भरमा ठूलै विचारक भएको भ्रम छर्न पाइन्थ्यो। ईन्टरनेटले ल्याएको महाप्रलयका कारण मिडिया र सम्पादकहरु (पदका अगाडी प्रधान उपसर्ग जोडिएका र मजस्ता भूपुसमेत)को ‘प्लेटफर्म’ माथिको एकाधिकारमा चिरा परिसकेको अवस्था हो।
‘गुगलेश्वर महादेव’को एउटै ‘क्लिक प्रहार’ का कारण त्यो युग ध्वस्त भएको हो। दोष हाम्रो राजनैतिक, बौद्धिक वा मिडिया नेतृत्वको मात्र हुँदै होइन। हिजोका दिनमा जति सृजनात्मक्ता भए पुग्थ्यो, अब त्यतिको भरले नपुग्ने भएको छ। बजारमा माग को ‘स्तर’ जति बढेको छ त्यसलाई अब सामान्य सप्लाइले धान्न असम्भव भएको छ।
अहिले समाजमा दुई कुरा एकसाथ भइरहेका छन्। एकातिर आफूलाई जान्ने ठान्ने वर्गको सिक्का बजारमा औसत(अथवा खोटो) प्रमाणित भइरहेको छ भने अर्कोतिर हिजोसम्म ‘तल’ ठानिएका वर्गमा चेतना र उत्तेजना दुवैको स्तरमा अकल्पनीय बृद्धि भएको छ।
नेपाली समाजमा चेतना कति बढेको हो? र , त्यो चेतनाको नाममा अयथार्थवादी उत्तेजनाको फैलावटको मात्रा कति हो भन्ने जटिल बिषयमा म आज प्रवेश गर्न चाहन्नँ।
आजको सामान्य सत्य यति मात्र हो - ‘तल’ (जनस्तरमा) चेतना र आकांक्षा जति बढेको छ, त्यसको समाधान माथि बस्नेको ‘औसत’ नतिजाबाट सम्भव नै छैन ।
त्यसैले त अब हिजोसम्म कहलिएका सञ्चार माध्यममा छाउने गरेका ठूलै विचारक पनि सामान्य र औसत प्रतित हुन थालेका छन्। मिडियामा सोध्नेका प्रश्न सकिएका छन्, उत्तर दिनेका जवाफ पनि बासी भएका छन्।
हामीले थाहै नपाइ एक नयाँ पुस्ता खडा भइसकेको छ। एक यस्तो पुस्ता जो नयाँ प्रयोगहरुका निम्ति तयार छ, एक यस्तो पुस्ता जो हर विषयमा प्रश्न उठाउने क्षमता राख्छ। एक यस्तो पुस्ता जो सिक्न र सच्चिन दुवैका निम्ति तयार छ।
गहरिएर हेरेँ, यो कुनै नविन नौलो भएको होइन।
किसुनजीलाइ उद्धृत गर्न चाहन्छु, ‘मानिसको त कुरै छाडनुस्,देवी देवताको पनि समय हुन्छ। इतिहासमा एक समय घुँइचो पशुपतिनाथभन्दा दक्षिणकालीमा बढि थियो। एक बेला सन्तोषी माताको युग आयो। उनका नाममा सुपर हिट फिलिम बने, गीत चले। शुक्रबारका दिन भुट्या चना र गुड बजारमा दुर्लभ भयो किनभने त्यस दिन माताको पुजनमा यी पदार्थ अनिवार्य थिए। फेरि, बखत यस्तो आयो जब बंगलामुखी मन्दिरमा भक्तजन एक्कासी बढे। समय बडा बलवान .... !’
किशुनजीका शब्दहरुमा म एक वाक्य आफ्नो तर्फबाट पुछारमा जोडन चाहन्छु, ‘समय बडा बलवान ....यसको धार चिन्न सके पहलमान ।’
यस पृष्ठभूमिमा नेपाली कांग्रेस अर्थात नेपालको सबैभन्दा पुरानो र हालको सबैभन्दा ठूलो राजनैतिक संगठनको महाधिवेशन हुँदैछ। यस पटकको महाधिवेशन प्रभाव दुरगामी महत्वको हुनेछ।
यो सामान्य दोबाटो होइन, राजमार्गहरु छुट्टिने युगान्तकारी मुकाम हो।
**
२००७ सालदेखि आजको दिनसम्म नेपालमा शासन जम्मा ‘दुई’ ले गरेका छन्। राजा र नेपाली कांग्रेस। प्रधानमन्त्रीको कुर्सीमा त अनेक नाम गरेका पञ्चहरु पनि बसे। पछि गएर कहिले माओवादी र कहिले एमाले नाम गरेका कम्युनिष्ट पनि बसे। अहिले पनि बसेकै छन्।
नाममा के छ र? आफ्नो नाम आफूले जे राखे पनि हुन्छ। त्यसले सत्यमा कुनै तात्विक फरक पार्दैन। शासन जम्मा दुई प्रवृतिले गरे। पहिलो, राजदरबारको सेरोफेरोमा चल्ने तत्वहरु र दोस्रो, संसदिय व्यवस्थाको सेरोफेरोमा चल्ने तत्वहरु।
आज न राजतन्त्र छ न त बाँकी छ कुनै राजावादी दल। जे जति महत्वपूर्ण खेलाडी छन्, सबै प्रत्यक्ष वा परोक्ष रुपले संसदिय व्यवस्थाको सेरोफेरोमा चल्ने मात्र छन्। नेपालबाट राजतन्त्रको विदाइ मात्र भएको छैन,राजनैतिक दर्शनका हिसाबले नेपाली कांग्रेसको दर्शन विजयी भएको छ। विश्वेश्वरप्रसाद कोइराला जुन दर्शनका अविचलित पहरेदार रहे, हो, त्यही दर्शनको जित भएको छ। त्यसैले त आज कमल थापा पार्टीदेखि लिएर प्रचण्ड पार्टीसम्म सबै खालेहरु नयाँ बानेश्वरको एउटै हलमा अटाउन पुगेका छन्।
२००७ देखि आजसम्म भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्ने मौका पायो। बामपन्थी पार्टीहरुको पनि त्यसमा योगदान रह्यो तर तिनले आफ्नै बुतामा कुनै युगान्तकारी परिवर्तनको ‘नेतृत्व’ आजसम्म गरेका छैनन्।
कांग्रेसलाई फुलाएको झैं सुनिन्छ, तर आजसम्म ईतिहासको सामान्य सत्य यहि हो। २००७ साल , ०४७ साल र २०६२/६३ को पात्रोले यहि भन्छ।
बडा गहिरो तवरले बुझिनु पर्ने तथ्य– यदि नेपाली कमयुनिष्ट पार्टीहरुले साँच्चिकै गरिबदु:खीका निम्ति काममा सफलता पाएको भए आजको मितिसम्म आइपुग्दा नेपाली कांग्रेस आफैं असान्दर्भिक भइसक्थ्यो।
नेपाली कम्युनिष्टहरुले दसकौंदेखि नेपालको चौघेराभित्र दुई थान गफ दिँदै आएका छन्- गरिबी निवारणको गफ र राष्ट्रियताको गफ। तिनका कुरा गफ नभएर यथार्थ भइदिएको भए नेपाली कांग्रेस उहिल्यै महत्वहिन भइसक्थ्यो। तर त्यस्तो भएन,किनभने सत्य त्यस्तो छैन।
गफ सत्य भन्दा छिटो फैलिन्छ तर सत्यको आयु गफभन्दा धेरै लामो हुन्छ। हावादारी उतेजक नाराबाजीको असर समाजमा नचल्ने होइन। चल्छ। तर एक बिन्दु यस्तो आउँछ जब मानिसलाई कुनै बखत जुरुकजुरुक उचाल्ने नाराबाजी र भाषण सुनेर, जनतालाई हाँसो सिवाय केहि उठ्दैन।
नेपालका कयौं विचरा कम्युनिष्ट पार्टीहरुको नियति यहि हो। राम्रै नियतले सुरुवात गर्ने कम्युनिष्टहरुको गति पछि गएर किन यस्तो हुन्छ? म भन्न सक्दिनँ। खगेन्द्र संग्रौला दाइलाई पनि धेरैपटक सोधेँ, उहाँले पनि यसै हो भन्न सक्नुभएन।
हावादारी गफ त कांग्रेसले पनि दिन्छ तर कम्युनिष्टभन्दा अलि कम। इतिहासको पात्रोलाई जसरी पल्टाए पनि, जति पल्टाए पनि तस्वीर यहि देखिन्छ। त्यसैले गर्दा अनेकौंपटक,अनेकन गतिछाडा काम गर्दागर्दै पनि नेपाली कांग्रेस महत्वहिन भएको छैन। असान्दर्भिक भएको छैन्।
दोहोर्याइरहनु पर्छ र! आजको मितिसम्म कांग्रेस नै सबैभन्दा ठूलो पार्टी हो। नेपालका दुवै छिमेकी र अन्तर्राष्ट्रिय समुदायले यसैलाई भएकामध्ये अलि बढि जिम्मेवार र भरपर्दो ठान्दछन्।
एकैरात,एकै छाकमा, यो भएको होइन। नेपाली कांग्रेसको आफ्नै इतिहास र विरासत छ। यो मास बेस पार्टी भएकाले नेता र कार्यकर्ताको मात्र होइन। यसका पछाडि जनमतको एउटा ठूलो हिस्सा सदैव रहेको इतिहास छ। यो इतिहासको स्मरण प्रत्येक महाधिवेशन प्रतिनिधिका निम्ति अनिवार्य छ।
पत्रकारितामा लामो अवधिदेखि सकृय भएका नाताले मैले नेपाली कांग्रेस र यस्का नेताहरुलाई ‘प्रतिबन्धित’अवस्थादेखि नै देख्ने मौका पाएँ। यसअघि पनि महाधिवेशनहरु भए। मैले कुनै पनि महाधिवेशनमा सामान्यभन्दा बढ्ता रुचि राखिनँ।
जोसुकैले जितोस् हारोस्, मलाई मतलब थिएन। त्यसको कारण गणेशमानजी , किशुनजी , गिरिजाबाबु , महेन्द्र नारायण निधिजीजस्ता अनेक ‘मेगा’ साइज नेता थिए। यिनीहरु मिलेर वा एक्लाएक्लै पनि पार्टी कमाण्ड गर्ने हैसियत राख्थे।
यीमध्ये कोहि एउटा पनि आज बाँचेको भए, म यो आलेख लेख्ने थिइनँ। संसारमा आज ‘वैश्य युग’ नभएको भए पनि यो प्रारुपको आलेख लेख्ने थिइनँ।
प्रजातन्त्र संस्थागत भइसकेको भए, संस्थाहरुको निर्माण भइसकेको भए, मलाई कांग्रेस पार्टीको महाधिवेशनसित रत्तिभर मतलब हुने थिएन; जोसुकै जितोस् वा हारोस्।
तर आज त्यो स्थिति रहेन। जोजो नेता आज चुनावी मैदानमा छन्, ती कसैको साइज ‘मेगा’ होइन। ‘एभरेज साइज’ का नेता हुन्। तर यसो भन्दैमा बितेर गएका नेता पृथ्वीमा फर्कने होइनन्। फेरि, हर युगमा ‘मेगा स्टार’ आउँदैनन् पनि। राजनीतिमा मात्र होइन, जीवनका हरेक क्षेत्र र विधामा यहि नियम लागु हुन्छ। त्यसैले, जो छन् तिनैबाट काम चलाउनु पर्ने हुन्छ।
***
सुशील कोइराला आफ्नो निम्तिमात्र सभापतिको चुनावमा होमिनुभएको थिएन। उँहा कोइराला परिवारको विरासतका निम्ति पनि चुनाव लड्दै हुनुहुन्थ्यो। बीपी कोइराला बाहेक म कोइराला परिवारको प्रंशकक होइन। तर, म यो सत्य पनि नकार्न सक्दिनँ- कोइराला परिवारको नाम हटाइयो भने कांग्रेस इतिहासको पहिलो पाना पनि रच्न सकिन्न। यो विरासतको बिउ कृष्णप्रसाद कोइरालाबाट प्रारम्भ हुन्छ। यसले विशाल बटबृक्षको रुप लिन्छ, बीपीको छहारी मुनि।
म कुनै राजनैतिक दलको सदस्य होइन। हुने विचार पनि छैन। तर म ती अनगिन्ति मानिसमध्ये पर्छु, जसको मन बीपीको नाम सुन्दा हमेशा पुलोकित हुन्छ।
आज पनि,जबजब म उनका रचना पढछु, श्रद्धा ले मुन्टो स्वत: निहुरिन्छ। एक पेशागत लेखक /पत्रकारका रुपमा मलाई राम्ररी थाहा छ, नेता विशेषका प्रति मैले व्यक्तिगत स्तरमा झुकाव र दुराव राख्नुहुन्न। यति थाहा हुँदाहुँदै पनि- बीपी, किशुनजी, गणेशमानजी र मनमोहन अधिकारीजी र मदन भण्डारीजीको सन्दर्भमा म निरपेक्ष रहन सक्दिनँ। किनभने म यिनीहरुलाई मन पराउँथें, मन पराउँछु र मन पराइरहने छु। पछिल्ला चारलाई त मैले उनीहरु जिवित छँदै कयौंपटक भेटघाट गर्ने मौका पाएँ।
बीपीलाई पहिलो र अन्तिम पटक देख्दाचाहिँ,उनी मृत्यु शैयामा पल्टेर आर्यघाटतर्फ जाँदै थिए। नजाने कुन आकर्षणको डोरीले तानिएर हो,चुपचाप उनको शवयात्राको पछि लागेँ। बीपीको सुन्दर व्यक्तित्व, उनले प्रजातन्त्रका निम्ति गरेको संघर्ष र पाएको दु:ख,उनको जेलजीवन र रोग, उनको बेजोड लेखन क्षमता.... आदि सबै मिलेर एउटा यस्तो तस्वीर खडा हुन्छ जसलाई फर्किफर्कि हेर्न म बाध्य भइरहेको हुन्छु।
सोच्छु, यस्तो सानो ठाउँमा त्यत्रो मानिस कसरी अटाएको होला?
म वंशवादको पक्षधर कदापी होइन तर पनि चाहन्छु त्यो संघर्षशील परिवारको कोहि सदस्य कांग्रेस पार्टीको नेतृत्वदायी भूमिकामा रहोस्। म ‘लिगेसी’ शब्द प्रयोग गर्दै छु, जस्को अर्थ ‘वंशवाद’ भन्दा नितान्त भिन्न हुन्छ। सुशील कोइराला निर्वाचनको मुखैमा आएर दिवङ्गत नहुनु भएको भए पनि, म यो आलेख लेख्ने थिइनँ। तर, आजको बीपीले जुन भावुकताका साथ आफू र आफ्नो परिवारबारे जेल जर्नल र आत्मवृतान्तमा लेखेका छन्, म त्यसलाई बिर्सन पनि सक्दिनँ।
हालै भएको कांग्रेसको ईकाइ निर्वाचनको दौरानमा पनि पैसा र गुण्डाको प्रयोग जुन मात्रामा बढेको छ, त्यो देखेर सामान्य जनता तर्सेका छन्। कांग्रेस भित्र जुन गतिले नैतिक मूल्य र मान्यता ओरालो लागेका छ, त्यसलाई रोक्नै पर्ने भएको छ। यो काम सजिलो छैन। यो काम सजिलो निर्णयका बलमा सम्भव छैन।
म चाहन्छु, आउँदो महाधिवेशनमा डा.ससांक कोइराला कुनै नेतृत्वदायी भूमिका गरुन्। कांग्रेस पार्टी आज पनि एक भएको छैन। यो आज पनि ४० र ६० मा विभाजित छ। आजको दिनमा यो ४० र ६० बीचको गठबन्धन मात्र हो, एउटा पार्टी होइन।
आउँदो महाधिवेशनले नेपाली कांग्रेसलाई ४० र ६० को मानसिकताबाट मुक्त गराई एउटै पार्टी बनाउन सक्यो भने त्यो एक यस्तो युगान्तकारी उपलब्धि हुनेछ, जसको प्रभाव समग्र देशको स्थिरता र विकासको गतिमा पर्ने छ।
महाधिवेशन भनेको नेतृत्व चयन मात्र होइन। पार्टीका नीति निर्माणको थलो पनि हो। तर जुन पार्टी आफूभित्रै यसरी दुई चिरामा विभाजित छ, त्यसले औपचारिकताका नाममा जेजस्ता नीति बनाए पनि अर्थ के रहन्छ र?
जो पार्टी सारा देशलाई एकता, सहमति र सहकार्यको रटान रातोदिन दिन्छ तर आफूभित्रै सहमति, एकता र सहकार्य गर्न सक्दैन भने आम जनताले त्यसलाई कसरी लिने? त्यसकारण कांग्रेसको अगामी भेला ‘सहमति , सहकार्य र एकताको महाधिवेशन' बनाउने तर्फ सबै महाधिवेशन प्रतिनिधिहरुको ध्यान जानु अनिवार्य छ।
यसै अवधारणा अनुरुप अगाडिको बाटो खोज्न सकिन्छ कि भन्ने सदासयताका साथ म नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाजी र केन्द्रीय समिति सदस्य डा.शशांक कोइरालाजीलाई सार्वजनिक अनुरोध गर्न चाहन्छु। समस्त महाधिवेशन प्रतिनिधिहरुको ध्यान विनम्रतापुर्वक आकर्षण गर्न चाहन्छु।
मलाई थाहा छ, मैले भनेको बाटो मुस्किल बाटो हो। तर मुस्किल समयमा सजिला निर्णयहरु कहाँ काम लाग्छन र?
समय बडा बलवान ... यसको धार चिन्न सके पहलमान !
[email protected]