हामीले के विरायौँ र? कहिलेकाँही लाग्छ गलत समयमा गलत ठाउँमा जन्मिएँ की क्या हो? जन्मजातै राज्य सत्ता विरोधी हुनुपर्ने? अन्य भागका नेपालीलाई पनि लाग्छ होला कति किच किच गर्छन् यी मधेशीहरू। तर के गरौँ भन्नुस् न? आठ वर्षदेखि संविधान निर्माणमा काम गरिरहेको छु। ‘मुर्गी जितनी बढ्ती हे उत्नी दुम सुटकाती हे’ जस्तै भएको छ । हाम्रो उर्जा पनि जिरोमाइल टु जिरोमाइल भइरहेको छ। संविधान घोषणा भएको दिन घर फर्किदा बुढीले सोधी के पायो त? झुठ बोल्न पनि भएन र साँचो पनि बोल्न सकिनँ। केही पाएनौ पनि भन्न भएन, पाएको गुमायो भन्न पनि भएन। म विजय पाण्डे दाइसँग सहमत छु कि संविधान रोपेको रूख हो घरमा राखेको फर्निचर होइन।
मेरो विजय दाइसँग केवल प्रश्न के हो भने जरा गाडीसकेको पुरानो रूख नयाँ रूख रोप्दा छयाप्पै काटनुपर्छ र? अन्तरिम संविधानले सेटल गरिसकेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी हटाउन के आवश्यक थियो? प्लस टेस्टको यो नीतिले ४२ जना फेरि पुरानै संविधानका कुरा लेखाउन ज्यान फालेका हुन त? विजय दाइ, पाएको पनि गुमाउनुको पीडा के हुन्छ त्यो हामीलाई थाहा छ। पुरानो संविधानले दिएको र नयाँ संविधानले खोसेको रातमा कसरी आफ्नो घरमा दिवाली मनाउँ?
भाारत विरुद्ध ट्विटे र फेसबुकवालाहरू युद्व नै छेडेका छन् भन्दा पनि हुन्छ। अर्थात सामाजिक सञ्जालमा भारतले अघोषित नाकाबन्दी गर्यो भनेर भारतको व्यापक आलोचना भइरहेको छ। यी समूहले त कमसेकम नेटमा भएपनि आक्रोश पोख्न पाएका छन्।
विचार के गर्नुपर्यो भने आन्दोलन गर्ने अधिकांश मधेशी थारूहरू नेट भनेको के हो त्यो पनि थाहा छैन। तिनका वारेमा सोच्ने कि नसोच्ने? महात्मा गान्धीले ‘बुरा मत देखो, बुरा मत करो और बुरा मत सहो’ भनेका थिए। कमसेकम गान्धीको विचारलाई आत्मसाथ गरेको भए आज यो दिन आउँदैन थियो।
मलाई थाहा छ, भारतको कदमले नेपालको रूलिङ इलिट्स भारतसँग रिसाउनेछन्। दुई पक्षीय थुप्रै विषयमा भारतले नेपालमा निकै जटिलता र विलम्बको सामना गर्नुपर्नेछ। भारतको राष्ट्रिय स्वार्थ शायद काठमाडौं सँगकै सम्बन्धले पूर्ति गर्ने हो। अहिलेको भारतको हस्तक्षेपले मधेशीलाई कति फाइदा र कति घाटा होला त्यसको लेखा जोखा भविष्यमा होला नै। भारतको राष्ट्रिय स्वार्थ मधेशीले चाहेर पनि कहिले पूरा गर्न सक्दैन।
तर एउटा वास्तविकता के हो भने उग्र राष्ट्रवादले नेपालमा भारतले केही गरेपनि र केही नगरेपनि गाली गर्न छोड्दैन। तिनी जन्मँदै भारत विरोधी राष्ट्रवाद लिएर जन्मन्छन्। हामी पनि तिनका भारतविरोधी मानसिकताका शिकार भएका हुन्छौं। ठूला दाइप्रतिको आक्रोशले हामी आफनै मुलुकमा विदेशी नागरिकको रुपमा भेदभाव सहन बाध्य हुन्छौं।
भारतविरोध र मधेसी विरोध पर्यायावाचीको रूपमा प्रयोग हुन्छ। ऋतिक रोशनले नेपाल बाहिर बोलेको विषयमा काठमाडौंमा मधेशीहरू कुटिएको अझै सम्झिरहेको छु। मलाई थाहा छैन, तर म ल कलेजको क्लासबाट भागेर डेरा पुगेँ। थापाथली पुलको छेउ छेउ हुँदै मुख छोपेर कलंकी पुगी जनकपुर भागेर कुटाइ खानबाट जोगिएको हो। त्यो बेलामा भाग्नु परेको पीडा अझै ताजै छन्, किनभने ऋतिक रोशनको कथित नेपालविरोधीको टिप्पणी भारतीयहरूमात्रै भएनन्, यहाँका धोती लगाउने मधेसीहरू पनि भए, काला वर्णका मजस्ता मधेसीहरु पनि भए, जो वास्तवमा जिन्दगीमा धोती नलगाए पनि धोती कहलिन्छन काठमाडौंमा। फेरि त्यस्तै माहोल बन्दै गएको छ। सचेत हुने बिषय हो यो।
नाकाबन्दी गर्ने मधेसी र थारू नेताहरुका परिवार र छोराछोरी पनि काठमाडौंमा छन्। तिनीहरु पनि नाकाबन्दीको चपेटमा पर्नेछन्। ४४ दिनमा ४१ जनाको मृत्यु हुँदासम्म पनि यो काठमाडौंको सत्ताले सुनेन। पहिले नै लोकतान्त्रिक चरित्र देखाएर संवाद मार्फत समस्या सुल्झाएको भए आज यो अवस्था आउने थिएन। आफ्नै देशका जनताले त्यत्रो आन्दोलन गर्दा कानमा तेल हालेर सुत्ने? राजनीतिक समस्यालाई सुरक्षा परिचालन गरेर हल खोज्ने कार्य गरेको परिणाम स्वरुप आजको अवस्था आएको हो।
म काठमाडौंवासीलाई भन्न चाहन्छु, सिंहदरवारमा बस्नेहरुलाई भन्न चाहन्छु, के नाजायज माग्या छ भन्नुहोस् त मधेसीहरूले? हाम्रा पौने दुई भोट तपाईँका एक भोट नहोस् भनि माग्नु नाजायज हो? सबै समुदायका राज्यमा बराबरी हिस्सेदारी होस् र समानुपातिक समावेशीको व्यवस्था होस भनी माग गर्नु के लोकतान्त्रिक माग होइन?
मोरङ, सुनसरीजस्ता मधेसका जिल्लाहरूलाई दक्षिण भाग प्रदेश नं. २ मा राखि सामर्थ्यको लागि कोसीको उपभोग गर्ने हक दिनुस भन्नु गल्ती हो ? नवलपरासी देखि कैलालीको टीकापुर सम्म थरुहट प्रदेशका माग सम्बोधन गर्न भन्नु के नाजायज हो? संघीयताको सवालमा मधेसीहरूले पहिचानको कुरा गर्दा उनीहरुलाई साम्प्रदायिक र विखण्डनकारीको विल्ला भिडाउनु जायज कुरा हो?
मधेसको मानसिकता अब नेपालबाट केही नपाइने हो कि भन्ने तिर गएको छ? कति चोटी आन्दोलन गर्ने? अन्तरिम संविधानले दिइसकेको अधिकारहरू पाउन पनि ४१ जना मर्नुपर्छ र? जे लिनु छ त्यो लिउँ तर एकचोटी लडौं भन्ने तिर मोडिएको छ। यी विकसित मानसिकताले नेपालको सार्वभौमसत्तामाथि खतरा उत्पन्न गर्ने संकेत दिएको छ, तर काठमाडौंले बुझ्न नसक्या मात्र हो, काठमाडौं त केवल मधेसीहरूलाई विद्रोही, साम्प्रदायिक र विखण्डनकारीको विल्ला भिडाएर दबाउन चाहन्छ। दिल्लीले चाँडै बुझेर रोकेकोमा नेपाली राष्ट्रवादीले पनि भारतप्रति विरोध गर्नुपर्ने कारण छैन। तर केही छैन, कोही ढिला बुझ्छन् कोही चाँडै। को कताबाट आए भन्ने विवादमा नफसौं फेरि हामी ढुंगे युगमा पुग्छौ। इतिहासलाई हतियारको रूपमा प्रयोग नगरौं। खाँडीमा भौतारिएका हाम्रा युवा र दिदी बहिनीको पसिना र शरीरबाट कात्रो सहित आउने रेमिट्यान्सले चल्या यो देश हो। विजय पाण्डे दाइसँग म यो विषयमा सहमत छु । सबै द्वन्द्वको मुल जड गरिबी हो। तर दाइ त्योभन्दा पनि मुल जड हाम्रो मानसिक दरिद्रता र हामी हरेक विषयलाई परम्परागत शैलीको गरीबी पाराले व्याख्या गर्छौँ र आफैमा रमाउँछौ । नेपाली खोक्रो राष्ट्रवाद जो चाहिँ मुलतः भारत र मधेसी विरोधी छ, त्यसलाई आजैदेखि फालौँ।
शान्ति र विकास धेरै पर छैन। अहिले हामी ठीक श्रीलंकाको सन् १९८४ को अवस्थामा छौँ । भारतको श्रीलंकासँगको लामो र तितो अनुभव छ। हाम्रो आन्तरिक कलह घरमा हल गर्न नसकेपछि होहल्ला, झगडा, रगताम्य गरेपछि छिमेकी बोलेको हल्ला जस्तै लाग्छ। अहिलेको ग्लोबल युगमा लोकतन्त्र, अल्पसंख्यकको बारेमा छिमेकीले बोल्नु ट्रेन्ड नै छ। राष्ट्रवादी अडान सेलेक्टिभ हुनसक्दैन। आज भारतले मधेसी आन्दोलनरत दलहरुको पक्षमा समर्थन गर्दा हस्तक्षेप ठान्नेहरुले राणाविरोधी आन्दोलन, २०४६ सालको आन्दोलन, १२ बुँदेको यात्रा र २०६२-६३ को आन्दोलनमा भारतको सहयोग सम्झिदा पुग्छ। यसकारण भारतले हस्तक्षेप गर्यो भने त्यो मधेसीहरुले पनि विरोध गर्ने नेपाली राष्ट्रियताको नयाँ पहिचान बनाऔँ।
मधेशीलाई पनि अपनत्व अनुभुति हुने राष्ट्रिय चरित्रको निमार्ण गरौँ यस्ता हस्तक्षेप आफैं हट्छ। तर मुल प्रश्न र समस्याको जडमा नछिर्ने हाम्रो नेपालीको बानि नै भइसके जस्तो छ।
गिरिजाप्रसाद कोइरालाले २८ फेब्रुअरी २००८ मा गरेको आठ बुँदे तमसुकमा देखिजाने सुनिजाने भनी साक्षी बसेका तत्कालीन भारतीय राजदूत मुखर्जीले स्वीकार गरेको छन्। अब तमसुकको भाखा नाघेपछि साक्षीले तैले यसो गर्न पाउँदैनस्, स्वायत्त मधेस प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशीको तमसुक र अन्तरिम संविधानबाट पछाडि हट्न पाउँदैनौ भन्नु स्वभाविक हो। त्यही बेला मधेशीसँगको सम्झौता आफ्नै बल बुतामा सिंहदरबारमा गरेको भए आज यो अवसर भारतले पाउँदैन थियो होला। मधेशीले आन्दोलन गर्दा लेनचौरँसंग गुहार माग्ने र दुई पक्षीय सवैखाले सम्झौता गर्न तयार हुने र कोठा बाहिर आएर राष्ट्रियताको जप गर्ने?
प्रक्रियागत रूपमा हेरौं न त कति लोकतान्त्रिक विधिले संविधान बन्यो। के लोकतन्त्र भनेको कर्मकाण्डे विधि मात्र हो? संशोधन प्रस्ताव हालेका सभासद्हरुलाई जवरजस्ती अघोषित व्हीपको आधारमा संशोधन फिर्ता गराइयो। ध्वनिमतको आधारमा सबै धाराहरु पास गरियो। धाराहरुमा छलफल समेत गरिएन। एमाले र कांग्रेसका मधेसी तथा थारु सभासदहरु मुटुमा ढुंगा राखी हस्ताक्षर गरे र तिनलाई अहिले घर फर्कन गाह्रो छ। विश्वभरि कतै पनि यस्तो संविधान सभामा यस्तो अघोषित व्हीप र प्रक्रिया अपनाइएको विरलै छ।
लोकतन्त्र भनेको परिणाम मात्र होइन, प्रक्रिया पनि हो। यसकारण अझै पनि ढिलो भएको छैन। आन्तरिक समस्याको हल वार्ता र संवाद मार्फत खोजौँ भारत आफै पछाडि हट्छ। मधेशी र थारुलाई मुल धारमा ल्याउने गरी संविधानको संशोधन गरौँ र अधिकांशले स्वीकार्य गर्ने गरी संविधानलाई नँया रूप दिऊ, दशैँ र तिहार खुशीयालीका साथ मनाऔँ। यसमै सवैको जित हुन्छ।