अहिले काठमाडौंले मधेशी नेताहरुलाई साम्प्रायिक भएको आरोप लगाउने गरेको छ। के वास्तवमा मधेशीहरु साम्प्रदायिक नै हुन त? विगत केही महिनामा ठूला दलका नेताहरुले देखाएको चर्तिकला हेर्दा छर्लङ्गै हुन्छ, वास्तवमा साम्प्रदायिक को रहेछ। मधेस जिल्लामा रहेको पर्सा जिल्लाको ठोरी गाविस पहाडी प्रदेश अर्थात माथि लाने साम्प्रदायीक र जातिवादी की? तल मधेशमा राख्नु पर्छ भने सामप्रदायीक? ठोरी गाविस पहाडी मूलका नेपाली दाजुभाइको बहुसंख्या रहेकै कारणले पहाडी प्रदेशमा राख्नुपर्ने तर्क सहमति जनाउने हाम्रा नेताहरु साम्प्रदायिक होइनन?
हरके समुदाय र क्षेत्रको जायज मागहरु सरकार र मुख्य दलहरुले सम्बोधन गर्नुपर्दछ र यस अर्थमा बाग्लुङ, कर्णाली र सुर्खेतका बासिन्दाहरुको पनि जायज माग पूरा हुनुपर्दछ र मधेसका जनताको पनि जायज माग पूरा हुनुपर्दछ । तर भयो के भने तीन दलका नेताहरुले बाग्लुङ, कर्णाली र सुर्खेतका बासिन्दाहरुको माग सजिलै सम्बोधन गरे तर मधेशी र थारु जति चिच्याए पनि, सुरक्षा अधिकारीको गोली खाए पनि उनीहरुको माग सम्बोधन गरेनन्। फलत: आज झण्डै महिनादिनदेखि मधेश अशान्त छ र बजार, कारखाना ठप्प छन्।
तीन दलका मुख्य नेताहरु संविधान घोषणा गरौँ, केही मानिस मरुन्, त्यसपछि विचार गरौँला भन्ने मुडमा देखिन्छन्। यी मधेशीहरु आप्रवासी हुन जति गरे नि किचकिच गरी हाल्छ, काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने मनशाय तीन दलमा रहेको देखिन्छ ।
काठमाडौंका हिन्दुवादीको आन्दोलनमा पानीको फोहोराले भीड तितरबितर पार्ने तर मधेशतिर टाउकै फुट्ने गरी र्हिकाउने? हैन यो कस्तो डबल स्टयान्डर्ड नीति हो? हिफाजत मिया अन्सारी र राजकिशेरा ठाकुरका साना नानीहरु ठूला भएपछि यो गोर्खाली राज्यलाई सोध्नेछन्, तिनका बाबुलाई किन मारियो भनेर। साम्प्रदायिकताको बिल्ला मधेशी र थारुलाई भिडाएपछि आफ्नो कर्तुतहरु सबै बिर्सिहाल्छन् भन्ने यदि राज्यले सोच्दछ भने त्यो गलत हो।
मधेसी र थारुहरु झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर तल मधेस र थरुहट प्रदेशमा राखौँ भनिरहेका छन्। त्यो कुरा उनीहरुले ती जिल्लाहरुको ऐतिहासिक र सांस्कृतिक पहिचानको आधारमा भनेका हुन्। उनीहरु भन्दैछन्, ती जिल्लाका मधेशी पहाडी मिलेर बसौंला। अनि उनीहरु कसरी साम्प्रदायिक भए त? ती जिल्लाहरुमा हाम्रा पहाडी दाजुभाई अलि बहुसंख्यामा रहेकै कारण तिनीहरुलाई मधेसबाट काटेर पहाडी प्रदेशमा राख्न खोज्नु कतिको जायज हो। त्यतिमात्र कहाँ हो र नवलपरासीको दाउन्ने पूर्वको भागमा पहाडी दाजुभाइको संख्या बढी भएको कारणले त्यो क्षेत्रलाई पहाडी प्रदेशमा राख्ने खोज्ने सोच साम्प्रदायिक होइन?
मधेसीहरुको अत्यन्त ठूलो बहुसंख्या रहेको एरियाबाट मधेसीहरुले एमालेका नेता माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष पुष्प कमल दाहाललाई जिताउनेहरु साम्प्रदायिक कि पाहाडबाट मधेशीलाई वडा सदस्यमा समेत नजिताउने वा उम्मेदवार नबनाउनेहरु साम्प्रदायिक? ठीकै छ, माधव नेपाल त लौ रौतहटमा नै हुर्किनुभयो र उहाँ त्यहाँको भाषा पनि बोल्नुहुन्छ। र, देखावटीका लागि भए पनि मधेसमा जाँदा स्थानीय पहिरनमा देखिनुहुन्छ तर पुष्पकमल दाहालजी त कहिले र्मिचैया बस्नु भएन र पनि मधेसी मतदाताहरुले उहाँको पक्षमा भोट हाले र उहाँले जित्नुभयो। हामीले तपाईंहरुलाई अझ दाइ दाइ, हजुर हजुर सम्बोधन गरेर तपाईंलाई बोलाउने तर हामी नै साम्प्रदायिक हुने। तपाईंका घरका कवाडी सामान बटुलिदिने, तापाईंको घरमा नै ताजा फलफुल र तरकारी पुर्याइदिने, तपाईंका दाह्री र कपाल खौरी दिने, तपाईंका घर र फर्निचर बनाइदिने अझ हामी नै साम्प्रदायिक हुने? त्यति मात्रै कहाँ हो र! तपाईंका छोराछोरीलाई हिसाब र विज्ञान पनि पढाइदिने र हामीले पढाएका तंपाईंका छोराछोरी सेनाका जर्नेल, कर्नेल, न्यायाधीश, सिडीओ र एसपी हुने अनि तपाईंलाई पढाएका मास्टरका छोराछोरी फेरि मास्टर र मेकानिक नै हुने ?
होइन यो राज्य सत्ताको कस्तो प्रणाली तपाईंहरुले बनाउनु भयो। संस्कृतको श्लोक स्मरण गर्ने हो भने गुरु ब्रह्मा, गुरु बिष्णु र गुरु देव महेश्वर हुन्छ, तर तपाईंहरु तिनै गुरुलाई विखण्डनकारी, साम्प्रदायिक र धोती भन्नुहुन्छ। गुरुलाई राम्रो गुरु दक्षिणा नदिए पनि हुन्छ, तर तिनको अपमान नगरौँ।
लौ ठीक छ, पञ्चायत कालमा त केही भएन। प्रजातन्त्रको २५ बर्षमा पाँच विकास क्षेत्रको सदरमुकाम कहाँ छ त हजुर? मध्यमाञ्चलको काठमाडौं, पश्चिमाञ्चलको पोखरा, पूर्वाञ्चलको धनकुटा, मध्यमाञ्चलको सुर्खेत र सुदुर पश्चिमको डोटी। अनि त्यतिबेला मधेशको सामर्थ्यको चिन्ता भएन। मधेशीहरु भन्छन्, 'बरु भोकै मरौंला तर पहाडको आधिपत्य अब सहने इच्छा छैन।' मित्र तुल नारायण साह भन्छन्, 'बालुवा र खोलाको पानी मात्रै आर्थिक स्रोत हुने भए हाम्रा पहाडी दाजुभाइहरुलाई तल झर्नै पर्दैन थियो होला?' हाम्रो बासमति चामलको टेस्ट तपाईंको मुखमा पर्यो, हाम्रो पोखरीको माछा खाने बानी तपाईंलाई पर्यो, हाम्रो सहृदयता र हजुर भने बानी हाम्रै लागि गलाको पासो बन्यो।
गत बर्ष लेवननमा नेपाली कामदारको हकहितबारे वकालत गरेर म काठमाडौं फर्किँदा काठमाडौं एयरपोर्टमा एकजना नेपाली दिदीले सोधिन्, “भैया आपका घर इन्डीयामा कहाँ है?” मसँगै लेबनान गएका एक धामी थरका वकील सहकर्मी मसँगै रहेको बेला ती नेपाली दिदीले एक कालो छाला भएका नेपालीलाई भारतीय ठानेकी थिइन्। भैरहवा भ्रमणको बेला लुम्बिनीपार्क घुम्न जाँदा मलाई मेरो अनुहार हेरेर भारतीय अर्थात विदेशीको टिकट काटिदियो। अनि साम्प्रदायिकता कसको दिमागमा रहेछ? हजुर बताइदिनु पर्यो।
हामी नेपाली हुन नचाहेको हो की तपाईंको पुरातनवादी साम्प्रदायिक चिन्तनले हामीलाई नेपाली हुन नदिएको हो? फैसला गर्नुस्। सर्वोच्च अदालतका न्यायाधीश गिरीश चन्द्र लालले मुद्दा फैसला गर्दा मधेशी न्यायाधीश भएर फैसला गरेको भनेर आलोचना गर्ने तर अर्का न्यायाधीश शुसीला कार्कीले सेना सम्बन्धि रिट निवेदन खारेज गर्दा सर्वोच्चका न्यायाधीश मात्रै ठान्ने तपाई साम्प्रदायिक कि हामी साम्प्रदायिक? आधिपत्य र संकीर्ण सोचको विरोध नर्गनु नै तँपाईंको आँखामा साम्प्रदायिक नहुने हो भने म बारम्बार र हजारबार साम्प्रदायिक सौभाग्यशाली हुन चाहन्छु।
मेरो बाबुबाजेले सायद आफ्नो अधिकार खाजेर साम्प्रदायिकको आरोप खेप्ने हिम्मत गरेको भए मैले यो आरोप खेप्नु पर्दैन थियो। तर मेरा बाजेमा मजतिको चेतना थिएन। मेरो बुबा जीवनभरि खाद्द संस्थानको सुब्बाको जागिर खानुभयो। काठमाडौंको हाकीमलाई माछा, चामल, दाल, अचार र मस्यौरा पुर्याउँदै ठीक भयो। बुबाले कानुन पढ्दै गरेको मलाई फोन गर्नुहुन्थ्यो, 'फलानो नाइट बसबाट माछा पठाइदिएको छु, भट्टराई सरलाई पुर्याइदे।' म भने माछा हेरेर चित्त बुझाउँथे।
तर, अब मेरी छोरीले कुनै खालको थिचोमिचो सहन नपर्ने गरी देश बनाउन चाहन्छु। नेपालीको परिभाषालाई फराकिलो पार्न चाहन्छु। चाहे जतिसुकै साम्प्रदायिकताको आरोप किन नलागोस्। मार्टिन लुथर किंग र नेशनल मण्डेला जस्तालाई त यो आरोप खेप्नु पर्यो भने हामीलाई यो आरोप नलाग्ने कुरै छैन। समानताका लागि हिँडिएका हरेक बाटाहरु साम्प्रदायिकताको गल्लीबाट गुज्रिनै पर्छ। पहिला थारु र मधेसी, पहाडी दाजुभाइसँग मिलेर बसेका होइनन्। ज्ञान, क्षमता र हिम्मतको कमी थियो तिनीहरुमा, त्यसलै चुप लागेर सहेर बसेका मात्र थिए तिनीहरु। मौनता भनेको मिल्नु होइन। असली सद्भावको प्रकृया त बल्ल पो सुरु भएको छ। हामीलाई बोल्न दिनुहोस्, हाम्रा पीडा पोख्न दिनुहोस्। रोए कराएपछि चित्त सफा हुन्छ। त्यसपछि समताको जगमा सदभावको खम्बा खडा गरौँला। पहिला हाम्रा मनमस्तिष्कमा रहेका गुम्सिएका भावनाहरु अभिव्यक्त गर्न दिनुस्।
मधेस आन्दोलनलाई भारतले उचालेको, हिन्दुवादी हावी भएको र राजावादीले सघाएको भनी महेन्द्रवाणीको गाथा छोड्नुस्। भारत परस्त को हुन को होइनन् भन्ने कुरा त गत महिनाको भारत भम्रण गरेकाहरुको नाम हेरे थाहा हुन्छ। स्व. गिरिजाप्रसाद कोइराला एक श्रद्धेय नेता हुनुहुन्थ्यो र उहाँको सम्मान त्यहीरुपमा भोलि पनि हुनुपर्दथ्यो। उहाँको शालिकमाथिको तोडफोड निन्दनीय छ। तर, काठमाडौंले जसरी शालिक तोडफोडमा चिन्ता व्यक्त गर्यो, त्यही रुपमा पाँचजना मधेसी नागरिक सुरक्षा अधिकारीको गोली लागेर ढल्दा त्यसमा चिन्ता व्यक्त गरेको खासै देखिएन। आन्दोलनकारीले संयम अपनाउनु पर्यो, प्रहरीलाई खानामा समस्या भयो भनेर ठूला अधिकारवादीले वक्तव्य निकालछन् तर त्यहाँ मान्छे मार्दा त्यसको विरोधमा एक शब्द बोलिँदैन। अनि साम्प्रदायिकको बिल्ला हामीले भिर्नुपर्ने? मारिएका परिवारका पीडा कति गम्भीर छ भन्ने कुरा हिफाजत मिया अन्सारी र राजकिशोर ठाकुरको परिवारलाई सोधे थाहा हुन्छ। मियाकी अपांग छोरी, गर्भरहेको अर्को सन्तान र ठाकुरकी दुधे बालकको पीडा छाप्न काठमाडौंको सञ्चार माध्यमले आवश्यक ठान्दैन। अनि तिनले हामीलाई सद्भावको पाठ सिकाउने?