भूकम्पको साना धक्का कम हुँदै गएपछि वितण्डाको थप भय घटिरहेको छ। तर महामारी फैलिने अनुमान र हल्लाले अर्को डर फैलिएको छ। काठमाडौं उपत्यका छाडेर जिल्ला जानेको लर्को छ।
खासमा भूकम्प प्रभावित क्षेत्रमा कुनैपनि माहामारीको सम्भावना छैन। त्यसकारण हल्लाको पछि लागेर भयभित नहुन हामी सर्वसाधरणलाई अनुरोध गर्छौं।
महामारी फैलिने एउटा रोग प्लेग हो। २०२५ सालभन्दा यता नेपालमा प्लेगको किटाणु देखिएको छैन। बुझेर नबुझेर हैंटीको भूकम्पपछि रोगव्याधी फैलिएको प्रसंग उल्लेख गर्दै त्रास सिर्जना गर्ने काम भइरहेको छ।
हैंजा लाग्ने सम्भावना छैन
हैंजा लगायत धेरैजसो महामारी पानीको स्रोतबाट फैलिन्छ। हैंजाको किटाणु मुहानमा संक्रमण भयो भने यो फैलिने सम्भावना हुन्छ। काठमाडौंमा२०४० सालपछि हैंजा फैलिएको छैन। काठमाडौंमा वर्षमा १०/१२ जना हैंजाका विरामी देखिने गरेका छन्। ती विरामीले बङ्गलादेश, इण्डिया वा अन्त्यत्रबाट किटाणु ल्याएको रेकर्डले देखाउँछ।
अहिले भूकम्पले बिचल्लीले गोर्खादेखि रामेछापसम्मका धेरैजसो जिल्लामा २०२७ सालभन्दा यता हैंजा फैलिएको छैन। यी जिल्लामा स्वास्थ्य संस्थाहरुको पहुँच ग्रामिण तहसम्म छ। बाटोघाटोको सुविधा पनि राम्रै छ। कहिँ डरलाग्दा सरुवा रोगका किटाणु देखापरे सूचना पाउनेबित्तिकै हामी गाउँ, टोल पुगेर काम गर्न सक्षम छौं।
हैंजाले पनि महामारीको रुप लिन लाखौं सर्वसाधरणले एउटै स्रोतको पानी खाएको हुनुपर्छ। काठमाडौं उपत्यका वा अहिलेको भूकम्पले धेरै क्षति गरेको गोरखादेखि रामेछापसम्म पानीका हज्जारौं स्रोत छन्। गाउँमा एउटै वडाका बासिन्दाले पनि भिन्नाभिन्नै मुहानको पानी खाइरहेका छन्। कुनै गाउँमा कथंकदाचित हैंजाको किटाणु देखापरे त्यहाँको पानी ट्याङकी वा मुहानमा ओखती हालेर किटाणुरहित बनाउन सकिन्छ।
घनावस्ती भएका काठमाडौं उपत्यकामा दर्जनौं स्रोतबाट पानीको आपूर्ति भइरहेको छ। खानेपानी अड्डाले नै ट्याङ्कीमा 'क्लोरिन ट्रिटमेन्ट' गरेर मात्र घर घरमा पानी पठाइरहेको छ। काठमाडौं र पाटनमा भूइँचालोले कतिपय ठाउँमा खानेपानीको पाइप र ढल फुटाइदिएको छ। धारामा छोक्रासहितको पानी आएको गुनासो पनि सुन्ने गरिएको छ। यो पानी पिउन योग्य हुँदैन। तर यो फोहोर नै कुनै महामारीको स्रोत भने हुन सक्दैन। हामीले बुझ्नुपर्छ यो पानी दुर्गन्धित मात्र हो।
जुनसुकै स्रोतबाट भान्छामा आइपुगेको पानीलाई दुई तरिकाबाट प्रशोधन गर्न सकिन्छ। उमालेर पिउने वा क्रलोरिन हालेर सफा गर्ने। क्लोरिन महँगो पनि हुँदैन। जमिनमुनिबाट तानिएको पानी शुद्ध बनाउने सुलभ विधी पनि उमाल्ने वा क्लोरिन हाल्ने नै हो।
एक हजार लिटर पानीमा क्लोरीनको एक चम्चा धुलो हालेर आधा घन्टा छाड्यो भने पानी शुद्ध हुन्छ। घरायसी प्रयोगका लागि वीस/पच्चीस रुपैयाँमा प्याकेट पाइन्छ।
फोहोरले दुर्गन्ध मात्र
एक साता अघिदेखि विशेष गरि शहरी क्षेत्रका मानिसहरू झुरुप्प झुरुप्प समूहमा त्रिपालमुनी बसिरहेका छन्। चर्पीको अभाव छ। सानो क्षेत्रफलमा ठूलो संख्या बस्नेबित्तिकै फोहोर हुने भैहाल्यो। आफू बसेको ठाउँ वरिपरि सकेसम्म सफा राख्नुपर्छ। विभिन्न कारणले फोहोर नउठेर थुप्रियो भने के हुन्छ?आत्तिनुपर्दैन फोहोर थुप्रिएकै कारण कुनै महामारी आइहाल्दैन। सर्वसाधारणको मनबाट फोहोरले वित्यास पार्ने भयो भन्ने भय हटाउन जरुरी छ। भनाइको अर्थ अलिअलि फोहोर र कसेर थुप्रिँदैमा डराउनु पर्दैन।
हाम्रोमा केहि वर्ष पहिलासम्म असन इन्द्रचोक भोटाहिटी जमल कालीमाटी लगायत ठाउँमा घरभन्दा अग्ला फोहोरको डुंङुर थुप्रिएको देखिन्थ्यो। हामी सम्झना गरौं त, त्यसबाट निस्किने दर्गन्धले मानिसलाई निकै असजिलो भने हुन्थ्यो। तर कुनै रोगव्याधी फैलिहालेको थिएन।
फोहोर थुप्रिएर डुंगुर हुँदै गयो। फोहोर कुहिएर झोल बग्न थाल्यो र त्यो पिउने पानीमा मिसियो भने संक्रमण हुन सक्छ। यसबाट जोगिने उपाय पनि पानीलाई शुद्ध बनाएर खाने नै हो।
स्वस्थ मानिसको शव रोगको स्रोत होइन
महाभूकम्पको वितण्डामा ज्यान गुमाएका मानिसहरुको संख्या अझै यकिन हुन सकेको छैन। भत्केको बिल्डिङ्बाट शव निकाल्ने काम जारी छ। सातदिनसम्म झिक्न नसकिएका मृत शरीर कुहिन थालिसकेक छन्। 'यसबाट के के रोगव्याधी फैलिने हो?,' आम मानिसको मनमा यो भयमिश्रित प्रश्न छ।
भुँइचालोमा अधिकांश स्वस्थ मानिस बितेका हुन्। उनीहरूको शरीरमा कुनै रोगको किटाणु हुँदैन। शरीरलाई गाल्दै लाने ब्याक्टेरियाबाट महामारी फैलिने भन्ने हुँदैन।
अघिकै फोहोरको कुरा गरौं। ती डुंगुरमा मरेका कुकुर, गाईवस्तु, राँगा, भैंसीका सडेका हाडखोर हुन्थे। त्यसले कुनै रोग नफैलाउने अहिले खोजीका क्रममा रहेका शवका कारण महामारी फैलिहाल्ने भन्ने हुँदैन। त्यहाँमाथि फेला नपरेका शवहरु भगनावशेषमा पुरिएका छन्।
शहरमा वर्षाले बिगार गर्छ
यसपाला बैशाखमै पनि लगातार पानी परिरहेको छ। भुँइचालोले हल्लाएको मानिसको मन बेला बेलामा परिररहेको पानीले झनैं गलाइदिएको छ। यसबाट पनि शहरवासी आत्तिनुपर्ने अवस्था म देख्दिनँ। पानीले धुलो मैलो बगाइदिएर सेल्टर वरिपरि धुलोमैलो बगाएर राहत नै मिल्छ।
गाउँमा भने पानी परेपछि अलि होसियार हुनुपर्छ। पहाडी जिल्लाहरुमा व्यापक क्षति भएको छ। सिन्धुपाल्चोक जिल्लामा मात्रै २५ सय भन्दा बढीको मृत्यु भएको खवर आइसकेको छ। गोठमा बाँधिएका गाई, भैंसी, खसी, बाख्रा मानिस झन् ठूलो संख्यामा मरेको हुनुपर्छ।
अहिलेको पानी ती मृत जनावर भएर बगेर सानो सानो भलमा परिणत हुनसक्छ। त्यो भल पानीको मुहानमा पुग्छ र संक्रमण हुनसक्छ। यसको उपाय पनि माथि उल्लेख गरेको बिधिबाट पानी स्वस्थ बनाउने हो।
स्वस्थ रहने पाँच सञ्जिवीनी
भीडभाडमा बस्दा रुघा खोकी, टाइफाइड, जण्डिसका किटाणु संक्रमण हुने सम्भावना हुन्छ। विपद्को घाउँ भतभती पोलिरहेको अहिलेको अवस्थामा हामीले परिवारको स्वास्थ्यमा ध्यान नदिएका हुनसक्छौं। त्यसैले आफ्नो परिवार र समुदायलाई निम्न उपाय अपनाउन घचघच्याउनु तँपाइको पनि कर्तव्य हो।
१. उमालेर वा क्लोरिन राखेर मात्र पानी पिउने
२. हात धोएर वा चम्चाले मात्र खाने
३. रूखो, पीठो, खोले, फाँडो जे छ ताँतो मात्र खाने
४. अस्थायी चर्पी बनाएर दिशा पिसाब गर्ने
५. जथाभावी नथुक्ने
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख मरासिनीसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित)