गोपीकृष्ण सिनेमा हलनिर पुग्दा मेरो मोटरसाइकल एकाएक असन्तुलित हुन थाल्यो। टायरमा हावा खुस्किएजस्तै लरबराउन थाल्यो। छेउमै गुडिरहेको अर्को मोटरसाइकल पनि लड्खडाउन थालिसकेको थियो। अगाडि मानिसहरू भक्ल्याकभुक्लुक लड्न थाले।
एकाएक वातावरण कोलाहलमय हुन थाल्यो। मानिसहरू चिच्याउन थाले। सुरूमा त भुँचालो गएको भन्दा कसैले आक्रमण गरेर पो मानिसहरू यसरी भागाभाग गर्न थालेका हुन् कि भन्ने जस्तो लाग्यो। मानिसहरू ‘लौ भुइँचालो गयो’ भन्दै चिच्याउन थालेपछि यसको रौद्ररुप देखिन थाल्यो।
एकाएक नजिकैका घरहरू हल्लिएका देखिन थाल्यो। जसोतसो मोटरसाइकल रोकेँ। मेरो नजिकै भएका अर्का सहयात्रीले पनि रोके। उनको मोटरसाइकल ढल्यो। त्यसमाथि मेरो मोटरसाइकल पर्यो। दुई मोटरसाइकलले एकअर्कालाई अंकमाल गरेजस्तै अनायासै हामी पनि एकअर्कालाई भर दिएर उभियौं। जिउ असन्तुलित भइरह्यो।
हामीले एकअर्कालाई समातेर अडिन खोज्यौँ। मानिसहरू के गर्ने र कसो गर्ने अवस्थामा पुगे। मलाई भने सडक फाट्यो वा बिजुलीको खम्बाले थिच्यो भने के गर्ने भन्ने पिर भयो। बल्ल बल्ल त्यो तीव्र गतिको भूकम्प रोकियो।
आफू बाँचेपछि स्वाभाविकरूपमा आफूले माया गर्ने सबैभन्दा नजिकका मानिसहरूका सम्झना हुने रहेछ। पाँच मिनेट मात्रै अगाडि छोरीलाई घरमा छाडेर हिंडेको थिएँ। सिंगापुरबाट आएका हाम्रा एकजना मित्र जानियल जकरियासँग सहकर्मी नारायण वाग्लेले बोलाएको १२ बजेको लञ्चका निम्ति बालुवाटार जाँदै थिएँ।
चारजनाको परिवारमा पत्नी विराटनगरतिर, छोरा मामाघरतिर गएका थिए। बस हामी दुईजना बाबुछोरी मात्र थियौं। छोरीले बिहानको खाना बनाइसकेको हुनाले उनैले कर गरेर अलिकति बिहानै खाएको थिएँ। ‘नारायण अंकलसँगै खाने आज, छोरी’ भन्दै मैले उनीसँग थोरै भाग मात्र बसेर साथ दिएको थिएँ।
एकाएक छोरीको मायाले बाइक उठाउनतिर लागेँ। जसोतसो त्यसलाई उठाएर घरतिर दौडाउन थालेँ। मनिसहरू ढलेकालाई उठाउन थालेका थिए। केही मानिस घाइतेहरूलाई ल्याएर मोटरमा हाल्न थालेका थिए। आफूलाई भने घरको अवस्था कस्तो भयो होला भन्ने चिन्ताले गाँज्यो। घरबाट बाइकमा दुई मिनेट पनि उता गएको छैन यस्तो अवस्था भयो।
अनि दुई मिनेट टाढाको दूरी पनि कति धेरै टाढा हुने रहेछ भन्ने अनुभव त्यो बेला भयो। बाइक फर्काएर केही अगाडि मात्र पुगेको थिएँ एक किशोरी र उनका भाइले रुँदै ‘अंकल हामीलाई पुर्याइदिनू न’ भन्न थाले। मैले केही नसोची तिनका निम्ति बाइक रोकेँ। अरु मानिसले सोध्दै थिए– कोसँग जान लागेको?
बस्, त्यो बेला उनीहरूलाई कोसँग जान लागेको भन्दा पनि कतिखेर आफ्नो परिवारका सदस्यलाई भेट्ने भन्ने भइरहेको थियो। केही माथि पुर्याइदिएपछि उनीहरू आत्तिदै रोक्नु भने। त्यो बेला उनीहरूले बाटोमा आइरहेका आफ्नो परिवारका सदस्यलाई देखिसकेका थिए।
उनीहरूलाई त्यहाँ छाडेर म अगाडि बढेँ।
बाटोमा यत्रतत्र आत्तिएका मानिसहरू थिए। तिनलाई छल्दै अगाडि पुगेँ। हाम्रो टोलको सात तले भवन पुग्दा त आश्चर्य भयो, मानिसहरूले बाटो छेकिसकेका थिए।
‘बाटो छैन,’ तिनीहरूले सावधान बनाए। यसो हेर्छु त ठाडो हेर्दा टोपी खस्लाजस्तो साततले भवन सडकमा लम्पसार परेर सुतिसकेको छ। एकछिन अघसम्म मलाई यस्तो भयानक भुकम्प गएको होला भन्ने मलाई लागेकै थिएन।
हतारहतार गरेर गोजीबाट मोबाइल झिकेर एकदुई क्लिक गरेँ। त्यसपछाडि घर पुग्न फेरि हतारिएँ। ‘यस्तो बेलामा पनि बाइक चलाउने?’ मानिसहरू मलाई सचेत गराइसकेका थिएँ। जहाँसम्म पुग्न सकिएला पुगौला भन्दै अगाडि बढेँ। अरु बेलाको यो दुई मिनेटको बाटो पनि आज कत्ति टाढाजस्तो!
घर पुगेँ। घर अगाडिको खाली जमिनमा पूरै छरछिमेकीहरू आइसकेका थिए। मेरो घर पस्ने बाटो छिमेकीको पर्खाल लडेर थुनिइसकेको थियो। बाइक रोकेर सोधेँ– ‘छोरी तिमी कहाँ छौं।’
उनलाई देखेपछि आश्वस्त भएँ। एकैछिन अघिको दृश्यले खुट्टा थरर्र कामे। भुइँचालो गएको बेला अहिलेसम्म कहिल्यै सवारी चलाएको अनुभव थिएन। दुई पाङ्ग्रे, त्यसमा पनि स्पिडमा भएको भए दुर्घटना अवश्यम्भावी थियो। गाडी लिएर हिडेको भए फर्केर आउँनै मुस्किल हुने रहेछ।
०००
म टोलमा भुइँचालोपछि थरर्र काम्दै एउटा इँटामाथि थचक्क बस्दै आफूले एकैछिन अघि खिचेको फोटो मोबाइलमा हेरेँ। म सधै हिड्ने बाटोमा उभिएको त्यो सात तले भवनको दशा देखेर आफूलाई थाम्न सकिनँ। तत्काल त्यसलाई ट्वीट गर्नासाथ त्यही नै नेपालमा गएको भुइँचालोको जानकारी गराउने सम्भवतःपहिलो तस्विर बन्न पुगेछ।
भुइँचालो गएलगत्तै २० मिनेटभित्र १२:१४ मा ट्विट भएको त्यो तस्विरले अहिलेसम्ममा २९१६ पटक रिट्विट र ४८४ फेब्रेट पाएको छ। त्यो तस्विर पाउनासाथ संसारभरबाट नेपालीको दुःखप्रति सहानुभूतिका आवाज सुनिन थाले। संसारका सबैजसो प्रमुख संचार माध्यमले मलाई त्यो तस्विर प्रयोगको अनुमति माग्न थाले। मैले स्वीकृति दिएँ।
केही छिनमै भारतका टाइम्स अफ इन्डियादेखि बिबिसी, सिएनएन, अमेरिकी समाचार एजेन्सी एपी लगायतले त्यो तस्विरलाई सार्वजनिक गरे। त्यतिमात्र होइन संसारभरिबाट मैले देखेको विवरण सुन्न टेलिभिजन र रेडियोहरूले समय माग्न थाले।
मैले ती सबैलाई जवाफ दिन नपाउँदै इन्टरनेट काटियो। मोबाइल फोनले पनि काम गर्न छाड्यो। बिजुली पहिल्यै बन्द भइसकेको थियो। बस एउटा अन्धकारको स्थिति भयो। मैले सेतोपाटीका लागि भनेर लेखेको सामग्री जस्ताको तस्तै रह्यो। तत्कालै बाहिर हिड्न पनि यति भयावह थियो। के गर्ने र कसो गर्ने अवस्था भयो। अर्कोतिर छिनछिनमा आउने भूकम्पको धक्काले सातो लिइरह्यो।
तुरुन्तै हिड्न पनि सकिएन। कारण हामी दुई बाबुछोरी मात्र घरमा थियौं। तैपनि छोरीलाई फकाउँदै यताउता घुम्न थालेँ। कपनकै तेन्जिङ चोकमा सबैभन्दा ठूलो पाँच तले घर भत्किएर धेरैजना हताहत भएको सुनेँ। अगाडि बढ्दै गएँ।
मिलनचोक नजिकै पुग्दा सधैँ खुला हुने औषधि पसल बन्द थियो। त्यहाँ एउटा हँसिलो अनुहारले मलाई सधैँ अभिवादन गथ्र्यो। हामी सहपाठी हौं भोजपुरको विद्योदय माध्यामिक स्कुलका।
०००
केही वर्षअघि भोजपुर स्कुलमा सँगै पढेका साथी चन्द्रबहादुर श्रेष्ठसँग कपनमा भेट भयो। स्कुलमा पढ्दै गर्दा हामी भर्खर जुँगाको रेखी बसेका थियौं। चन्द्रबहादुर जुँगामुठ्ठे भएछन्। धेरै वर्षपछि देखेको हुनाले चिन्न पनि मुस्किल भयो। बल्ल हामी सहपाठी रहेको सम्झना भयो।
शनिबारको भुकम्पमा भत्किएको घर तिनै चन्द्रबहादुरको थियो। स्थानीय मानिसले उनलाई ‘डाक्टर’ भनेर चिन्थे। चन्द्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य प्राविधिक थिएँ। उनकी पत्नी विजया चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा सिनियर नर्स थिइँन्।
उनीहरूका तीन सन्तान छन्। दुई छोरी र एक छोरा। स्थानीय सबैले चिनेजानेका। बशुन्धाराबाट उनीहरू कपनमा बस्न आएका ६ वर्षजति भइसकेको थियो।
दुर्भाग्य, चन्द्र पसलबाट खाना खान भनेर नजिकैको घरमा गएका थिए। घर र पसलको दूरी धेरै टाढा नभएका कारण उनले पसल पनि बन्द गरेका थिएनन्। शनिबारको दिन भएकाले पतिपत्नी दुबै घरमा थिए र त्यो बेला सँगै दिउँसोको खाना खादै थिए।
यो २३ कोठे भवनमा भाडामा बस्नेहरू पनि धेरै थिए। बेलुकासम्म त्यसमा परेकाहरूका मृत शरीर निकालिए। त्यसमा एउटासधैँ मुस्कुराइरहने मानिसको लास पनि थियो। उनी मेरा मित्र चन्द्रबहादुर थिए।
भोलिपल्ट बिहान फेरि म चन्द्रको घरछेउमा पुगेँ। त्यहाँ डोजरले थुपारेका ईटा, बालुवा, गिटीको थुप्रोमा उनको तस्विरसहितको परिचयपत्रको फोटोकपी देखेपछि फेरि उनका सम्झनाहरू गाढा भए। त्यही थुप्रोमा उनका छोरीहरूका स्कुलका कपिहरू पनि छरपस्ट थिए। मेरो मन विव्हल भयो।
उनले यो घर बेचिसकेका थिए। नयाँ घरधनीलाई घर नबुझाउँदै नियतिले उनलाई यो संसारबाट टाढा पुर्याइसकेको थियो।
चन्द्रको भत्किएको घर डोजरले पन्छाइरहेका बेला भोजपुर देउराली घर भएका उनका साथी दुर्गाप्रसाद श्रेष्ठ चुक्चुकाइरहे थिए। उनीहरू सँगै प्रत्येक बिहान ब्याडमिन्टन खेल्ने।
‘साह्रै सक्रिय मानिस हुनुहुन्थ्यो,’ उनले आफ्ना सम्झनाहरूको बिस्कुन सुकाउँदै भने, ‘कस्तो नचिताएको घटना भयो।’
चन्द्रको घरको भग्नावशेष डोजरले निकालिरहेका बेला त्यही घरको तल्लो तलामा डेरामा बस्ने हेमबहादुर धिमाल भने दराज निस्केला कि भनेर प्रतिक्षा गरिरहेका थिए। त्यो विनाशलीलामा उनका दुई छोराछोरी र पत्नी भने जोगिएका थिए।
जीवन जोगिएकोमा उनी धन्य मानिरहेका थिए।
०००
चन्द्रजस्तै मुस्कुराउने करिब ५ हजार आफन्तलाई नेपालीले गुमाइसकेका छन् यो महाविपत्तिबाट। भूकम्पको राति सबै छरछिमेकी घर अगाडिको खाली ठाउँमा पाल टाँगेर सुते। यो विपत्तीले सबैजनालई बराबर बनाइसकेको थियो। समान बनाएको थियो।
छिनछिनमा आउने झड्काले सबैलाई एकसमान आतंकित तुल्याइरह्यो। रातभरि कोही पनि सुतेनन्। कहाँ के भइरहेको छ तिनीहरू रेडियो सुनिरहेका थिए। हामी संचार क्रान्तिको कुरा गरिरहेका छौं। तर, विपत्तिका बेला चाहिने संचार यही बेलामा अवरुद्ध थियो। अनलाइनहरू चलेका थिएनन्। इन्टरनेट सेवा अवरुद्ध भएपछि देशभित्रबाट अनलाइनको समाचार हेर्ने अत्यन्त कम थिए।
रातभरि चहुरमा सुतेकाहरू बिहानका अखबार देखेर आश्चर्यमा परेका थिए। सबैजना आ–आफ्ना घरमै बसेका हुनाले धेरै टाढाको जानकारी थिएन। धरहराजस्तो काठमाडौंको धरोहर भत्किएको चित्र तस्विरमा देखेर उनीहरू आश्चर्यमा परेका थिए।
चन्द्रको घरको त्यो विभत्स स्थिति देखिसकेपछि म सहरको अवस्था कस्तो भयो होला भनेर निस्किन तयार थिए। फेरि आएको अर्को शक्तिशाली धक्काले एकछिन विचलित तुल्यायो। त्यसपछि जयवागेश्वरी हुँदै पशुपति आर्यघाटमा पुग्दा विरह लाग्दो अवस्था सर्वसाधारणले हेरिरहेका थिए। लास जलाउने ठाउँ नपुगेर धेरै लासहरू यतिकै रखेका थिए। यसबाहेक पनि नदीको छेउछाउमा जताततै चिता बनाएर जलाएको देखिन्थ्यो।
त्यसपछि विमानस्थल जाने बाटो सिनामंगलमा धाँजा फाटेको थियो। त्यस्तै तस्विरहरूमा आइसकेको लोकन्थलीको फाटेको सडक हेर्दै भक्तपुर पुगेँ। भक्तपुरमा अलि पुरानाजस्ता सबै घर भत्किएका थिए। पुराना धरोहरहरूको अवस्था बेहाल थियो। त्यहाँको घाटमा पनि भ्याइ नभ्याइ लास जलाइँदै थियो।
भूकम्पले यसपटक धेरैलाई शिक्षा दिएको छ। धेरै मानिसहरूले अग्ला घर बनाउनु हुने रहेनछ भन्ने ज्ञान पाएका छन्। त्यसैगरी घरहरू जोडेर बनाउनु पर्ने रहेछ भन्ने पनि उनीहरूले महसुस गरेका छन्।
आजभन्दा ८२ वर्षअघि हाम्रो मुलुकले १९९० सालमा महाभूकम्पको त्रासदी भोगेको थियो। त्यो अनुभव ब्रह्म शमशेरको किताबमा केही मानिसले पढ्ने बाहेक ठूलो विवरण केही थिएन। यसले धेरैको जानकारीमा भूकम्पको त्रासदी, यसलाई सामना गर्ने व्यवहारिक ज्ञान र सरकारले यो बेलामा निर्वाह गर्नुपर्ने जिम्मेवारी महसुस गरेको अनुभव हुन्छ।
यसपटकको भूकम्पले काठमाडौंमा खुला ठाउँको आवश्यकतालाई अझ टडकारो बनाएको छ। त्यसैगरी घरहरूको मापदण्ड पूरा गराउने जिम्मेवारी बोकेका निकायलाई अरु जिम्मेवारी लिनु पर्ने रहेछ भन्ने पनि यसले देखाएको छ।
०००
केही महिनाअघि मैले जापान जाँदा भूकम्पजस्ता दैवी विपत्ति आउँदा त्यहाँको सरकार, सम्बन्धित एजेन्सी र नागरिकले के गर्दा रहेछन् भन्ने जानकारी लिन पाएको थिएँ। उनीहरूलाई स्कुलदेखि नै यस्ता प्राकृतिक विपत्तिका बारेमा सिकाइने रहेछ।
सबैभन्दा रमाइलो लागेको जानकारी के हो भने आफूले सवारी लिएर हिडेका बेला भूकम्प आइहाल्यो भने त्यसलाई सडक किनारामा राम्ररी पार्किङ गरी साँचोसहित कारको ढोका खुल्न सकिने गरी छाडिदिन सिकाइदो रहेछ। यसरी आफ्नो कार त्यहाँ छाडिदिँदा आवश्यकता पर्ने सम्बन्धित एजेन्सीका मानिहरूले त्यसलाई प्रयोग गर्न पाउने छन्।
हामीले पनि त्यसरी छाड्न हुन्थ्यो। तर, हामीकहाँ यस्ता विपत्तिकै बेलामा पनि अपराध कर्मको दाउ मानिसमा हुने गर्छ। भुइँचालोले गर्दा घर छाडेर खुला ठाउँमा बस्न हिडेका सर्वसाधारणका घरमा चोरी भएका समाचार हामीले पाएका छौं।
भुइँचालो गएपछि किसिम किसिमका अफवाह फैलाउने काम पनि भएँ। ‘लौ फेरि यतिबेला भुँइचालो जाने भयो रे’ का हल्लाले पनि धेरैलाई अनावश्यक पीडा दिएको देखियो। भूकम्पबाट ज्यादै प्रभावित र बिज्ञानमा धेरै प्रगति गरेको मुलुक जापान आफैंले भूकम्पको पूर्वानुमान गर्ने थियो यदि त्यस्तो सम्भव हुन्थ्यो भने।
जापानले भूकम्प आउनुअघि र पछिका आवश्यक सावधानीबारे राम्रो तयारी गरेको छ। भूकम्पको पहिलो धक्का जानासाथ जापानी एजेन्सीहरूले मोबाइलमार्फत् सबैलाई जानकारीका रुपमा ‘अलर्ट’ पठाउँछन्। पहिलो धक्काको १० देखि २० सेकेन्डमा अर्को धक्का आउँछ भन्ने अनुमान गरेका हुनाले यो अलर्ट आउनासाथ उनीहरू समयमा आफूलाई सुरक्षित ठाउँमा पुर्याउँछन्।
०००
दोस्रो राति पनि सर्वसाधारणले साह्रै दुःखसँग रात काटे। राति पानी परिरह्यो। उनीहरू खुला ठाउँमा बस्नु पर्छ भन्दै रुझ्दै र भिज्दै त्यहाँ रहेका थिए। तेस्रो दिन बिहान भने मानिसहरूमा आतेस अलि कम भएकोजस्तो देखियो। उनीहरू बिस्तारै भत्किएका पर्खालबाट ईटाहरू समेल्न लागेका देखिएँ।
सर्वसाधारणको यो उत्साहले ममा पनि थप उत्साह पलायो। बिहान अलि धुम्मिएको थियो। आकास बिस्तारै खुल्न थाल्यो। भुइँचालो आउने दिन बिहानको रुनै मन लाग्ने मौसममा सुधार भएको थियो। लाग्यो, अब भूकम्पको त्राहीमाम पनि कम भएको छ।
सहर घुमिरहे पनि इन्टरनेटले खासै काम नगरेका कारण आफूलाई मेन्सन गरेर पठाइएका ट्विटर पनि पढ्न पाएको थिइँन्। झल्याक झुलुक नेपाल टेलिकमको थ्रिजीले काम गर्न थालेको थियो। तर, चाहिएको बेलामा एडिएसएलले पनि काम गरेन।
अफिस आएर फेरि ट्विट पढ्दै जाँदा एक विदेशीले लेखेछन्-यो मानिसले भूकम्पका ट्विटहरू गरिरहेको थियो। १० घण्टा भयो यो मानिसको कुनै अत्तोपत्तो छैन। आरआइपी अर्थात् रेस्ट इन पिस?
उसले त्यो प्रश्न गरेकोमा मलाई रिस उठेन। आरआइपी मेरो भन्दा पनि हाम्रो मुलुकको संचार संयन्त्रलाई जान्छ। जुन बेला धेरै आवश्यक हुन्छ, त्यही बेला हाम्रो संचार संयन्त्रले काम गर्दैनन्।
मैले उसलाई भनेँ– म ट्विटरमा ब्याक भइसकेँ। रिप हाम्रो मृत संचार पद्दतिलाई। उसले हाँसेर जवाफ पठायो।
अफिस आउँने बेलामा सोमबार साततलेको बाटो बन्द थियो। घुमेर फेरि गोपीकृष्ण नजिकै आइपुगेँ। फेरि त्यहीं ठाउँमा पुगेपछि डरजस्तो लाग्यो। तीन दिनअघिको त्यो कहालीलाग्दो समय फेरि मानसपटलमा घुम्न थाल्यो।
यति धेरै जनधनको क्षति भएका बेला पनि बाँचियो भन्ने लाग्यो। हामी जो बाँचेका छौं, हाम्रा निम्ति त यो नाफाको जिन्दगी हो।