अमेरिकामा मेरा एक नातेदार बस्नु हुन्छ। आमाको माइतीपट्टिका नातेदार, मेरो मामा। म सानो छँदा मामाले मलाई जाडोबाट जोगाउन न्यानो-न्यानो ज्याकेट, हातमा लगाउने बाक्लो पन्जा, मोजा अनि धागोले बुनेको टोपी पठाइदिनु हुन्थ्यो। चाउचाउ र बिस्कुटको त ठूलो प्याकेट नै ल्याइदिनु हुन्थ्यो।
हाम्रो गाउँमा पुस-माघको अन्त्यतिर हिउँ खस्न थाल्छ। यो दुई महिनामा अत्यधिक चिसो हुने भएकाले निमोनियाका कारण कैयौँ बालबालिका अकालमा बित्ने गर्थे। अहिलेको जस्तो न्यानो कपडा त्यतिखेर सुलभ थिएनन्। अहिलेसम्म म जीवित रहनुमा मामाको निकै ठूलो देन छ ।
केही वर्षअगाडी तिनै मामा नेपालको नागरिकता त्यागेर शरणार्थीका रूपमा अमेरिका जाँदै हुनुहुन्छ भन्ने खबर खासखुस चलेको थियो। ‘भो, त्यसो नगर्नुहोस् मामा, राम्रो हुँदैन,’ मैले भनेको थिएँ, ‘नागरिकता त्याग्दा बाउ-बाजेको अपमान गरेजस्तो हुन्छ। भूगोलको माया निमुखा भूमिहीनलाई त हुन्छ भने तपाईसँग त सबथोक छ नि मामा।’
त्यसोभन्दा उहाँले मलाई ‘महेन्द्रको राष्ट्रवाद नबोल्नू भान्जाबाबु’ भन्नुभएको थियो। राजासंस्था ठिक होइन भन्ने छाप परिरहेको बेला मलाई गतिलो झट्का लाग्यो। मामा अमेरिका पुगेपछि मैले उहाँको कुनै आइनोकाइनो गर्न छाडिदिए। कहिलेकाहीँ नेपाल आउन मन लागेमा भिसा लगाएर आउनु हुन्छ भन्ने सुनेको थिएँ। भिसाको म्यादभन्दा बढी बस्नु परेको खण्डमा दिनको हिसाब गरेर जरिवाना रकम तिर्नु हुन्छ भन्ने पनि सुनेको थिएँ।
यी सुनाइ मेरा निम्ति सुखद् थिएनन्। बरु मलाई सानो छँदा निमोनिया भएर मर्न दिएको भए केही हुन्थेन तर आफ्नै देशमा भिसा लगाएर आउने मामालाई सम्झेपछि धेरै रुन मन लाग्यो। सयौँ जनालाई सोधेपछि उहाँले मेरो मोबाइल नमबर पत्ता लगाई फोन गर्नुभएको रहेछ। उहाँको मधुरो आवाज सुनेपछि मैले आफ्नो मोबाइलको सिमकार्ड नै झिकेर भाँचिदिए। भाँचिएको मन कतै जोडिन्न तर एनसेलको सिमकार्ड जाबो त जति पनि पाइन्छ नि भन्ने लाग्यो।
कसैले कुनै दिन नांगो शरीर छोप्ने लुगा दियो भन्दैमा, भोको पेटलाई एकछाक खान दियो भन्दैमा त्यो दानवीरको जीवनभर गुणगान गरिरहनु पर्छ भन्ने मलाई लाग्दैन। एउटा कालखण्डको प्राप्ति अर्को कालखण्डमा सम्झँदा केही गुमेजस्तो त हुन्छ। मनमा माया लाग्ने कुरा र मुखमा माया लाग्ने कुरा उस्तै होइनन्। मामा र म बीचको माया मनको थियो, कारणवश मन मात्र नमिलेको थियो।
देश छाडेर जानेहरूको दु:ख मलाई थाहा हुन्छ। भूगोल र राष्ट्रियतामा हामीबीच बिछोड थियो, अविरल सम्झनाहरू त बिछोडिन्न नि हगि। नेपालको नागरिकता त्यागे पनि नेपालको हावापानीले सुसज्जित ती टाउको, फोक्सो, पैताला त्याग्न कहाँ सकिन्छ र? अस्ति दिनभरि सामाजिक सन्जाल फेसबुकमा मामालाई खोजेँ। पुरानो नाम जब्बरबहादुर होला कि कुनै नयाँ नाम होला भनेर न्यास्रो लागेको बेला, कस्तो ठ्याक्कै फोटो फेला पर्यो।
उहाँको उमेर त ढल्किसकेछ, बुढो देखिन थाल्नु भएछ। निधारसम्म झरेका केश सेता देखिन्थे। गाला पहिलेका जस्ता चिल्ला थिएनन्। निधारको कालोमैलो सकोगरी हटेछ। मामा त कस्तो गोराजस्तो देखिनु भएको। भावुकताले सीमा नाघेर म मौनधारण गरेजस्तो भएँ, दु:खी मन रुवाबासीमा परिणत भयो। उहाँका तस्बिरहरू देखेपछि मलाई फेरि बाल्यकालमा उपहारस्वरूप मिलेका तिनै न्यानो लुगाको तृष्णा जागेर आयो। शरीर जाडोले लकलक काँपेजस्तो भान पनि भयो।
चिनारी हाम्रो धेरै पुरानो भएझैँ लाग्दछ भन्ने गीतजस्तै हाम्रो चिनारी पनि पुरानो भइसकेको थियो। मेरा आँखा उहाँको फेसबुक वालमा टल्किँदै थिए। म खोजिरहेको थिएँ, केही नयाँ चिज। फेसबुकले मानिसको गोपनियता खुलाइदिन्छ। फेसबुकको मुख्य बेफाइदा भनेको गोपनियता भंग हुनु पनि हो।
उहाँको फेसबुक वालमा कुनै हिमालको तस्बिर अपलोड थिएनन्। नेपालको कुनै गाँउको तस्बिरमाथि आई मिस यु नेपाल लेखिएका क्यापसन पनि थिएनन्, न लालीगुराँस फुलेका पहाडको तस्बिर थियो। उहाँको फेसबुक वालमा बाइबलका कोटेसनबाहेक केही थिएनन्। प्रभुले फलाना मितिमा फलना नदीको किनारमा पुगेपछि यस्तो भन्नुभयो र अचानक यस्तो-यस्तो चमत्कार भयो भन्ने मात्रै लेखिएका थिए।
नेपाललाई अत्यन्तै गरिब देशका रूपमा चित्रण गर्दै केही भोका-नांगा बालबालिकाको तस्बिर भने अपलोड गर्नु भएको रहेछ। कतै ती तस्बिरमा म त देखिन्न भनेर आँखा तन्काउन पुगेछु, किनभने म सानो छँदा मामासँग क्यामेरा थियो। मामासँग के थिएन र? सबथोक थियो। त्यही देशको माया थिएन। सबथोक हुनु र देशको माया नहुनुमा धेरै भिन्नता हुँदोरहेछ।
गाईको पिसाब पिउने बाहुनलाई नेपालबाट लखेट्नु पर्छ भन्ने धारणा पनि व्यक्त गर्नु भएको रहेछ। गाईको मासु खान नपाएको एक महिना भयो भनेर आफ्नो खान्कीप्रति बडो चिन्ता प्रकट गर्नुभएको रहेछ। बाहुनहरू बागमती नदीमा नुहाएपछि चोक्खिन्छन्, मचाहिँ चिसो बियरले नुहाउने गर्छु भनेर एकभाँतेको खित्का छाडेर हाँस्नु भएको रहेछ। उहाँसँगै थुप्रै नेपाली मुलका अनुहार हाँसिरहेका थिए।
हामी मंगोलहरू मिलेर नेपाललाई अहिन्दुको भूमि बनाउनु पर्छ भनेर अनेक तस्बिर पोस्ट गर्नु भएको रहेछ। एक जगामा हामीलाई हाम्रो पहिचान दे भन्ने पनि थियो, म मुसुमुसु हाँसे। कठै ! पहिचान गुमी गएछ भन्ने भयो। जब कि उहाँले मन्दिरमा परेवा उडाएको हिजोजस्तै लाग्छ। बाजे साह्रै बिरामी हुँदा घरमा सत्यनारायणको पूजा लगाउने पनि उहाँ नै हुनुहुनथ्यो।
यी सबै नियालेपछि पश्चिमा वायु त यस्तो खतरनाक पो हुने रहेछ भनिकन निकै डर लाग्यो। मैले मामालाई फेसबुकमा देखे पनि नमस्कार नभनी आखिरीमा ‘ब्लक’ गरे। एकबारको जुनीमा चिनारी हाम्रो धेरै पुरानो नै रहेछ, मैले चिन्न सकिनँ। कतिखेर भेटिएको अनि कतिखेर छुटिएको भन्ने थाहा पनि भएन।
खासमा मेरो मुख्य असन्तुष्टि बाइबलको कोटेसनमा थिएनन्। यी कोटेसन त मलाई कुनै विश्वबिख्यात साहित्यकारको उपजजस्तो लाग्छ। हिन्दु धर्मप्रति उहाँले गरेको दुष्प्रभावसँग पनि मलाई खासै मतलब थिएन। कहलेकाहीँ शिवको शरणमा परे पनि म नास्तिक हुँ, मार्क्सवादी हुँ। उहाँले नेपाली नागरिकता त्यागेर हिँडेको चोट बाजेको देहवासन भइसकेको मुटुमा अझैसम्म होलाजस्तो लाग्छ ।
यो असमझदारीपन म र मामा बीचमा मात्र छैन। हरेक नेपालीको घरभित्र यस्तै असमझदारीहरू छन्। गरिबी, अशिक्षा र अराजनीतिक राज्य व्यवस्थाका कारण मानिस आफ्नो धर्म बेचेर अर्काको नागरिकता खरिद गरेका छन्। तिनले नागरिकता त्यागेर पहिचान मागिरहेका छन्। कुनै पनि असल नागरिकका लागि नागरिकताभन्दा ठूलो पहिचान अरु हुनै सक्दैन।
त्यसैले अब हामीले हाम्रो पहिचान माग्ने होइन, रक्षा गर्ने अवस्थामा पुगि सक्यौ। हामीले प्राचीन धर्म, संस्कृति गुमाउन थालिसक्यौ। अब हामी रक्षात्मक बन्नै पर्छ। देशलाई दिशाहीन बनाउन सबैले सानोतिनो काम गरेमा कुभलो हुँदैन। कहिल्यै खेतमा नपुग्नेहरू कृषि क्रान्तिको कुरा छोड्नुहोस्। पश्चिमाहरू हाम्रो टाउकोमाथि टेकेर हामीलाई फुटाउँदैछन् र त्यो टाउको रहरले आफ्नो पहिचान त्यागेका मिसनरी मामाहरूको हो।
निशानीले फेरि घरायसी कुरा जोडेर पाठकको सेन्टिमेन्ट क्याच गर्न खोज्यो भन्नुहोला। तर त्यसो भनिनु हुँदैन। व्यक्तिको निजी मामिलामा हसतक्षेप गर्नु राम्रो त होइन, तर मुलुकको मामला निजी हुँदैन। जात र धर्मको मामला त झन् बृहत्तर हुन्छ। साथमा नेपाली पासपोर्ट छैन, लुकेर काम गर्छन्। साथमा नेपाली नागरिकता छैन। का, का, कि, कि, कु, कू भाषा जानेको आधारमा नेपाली हुँ भन्छन्।
कामको सिलसिलामा म ‘मोरोक्को’ जाँदा त्यहाँ पनि पहिचान गुमेका जनजाति भेटेँ। ती सर्पको मासु बेचेर बस्दा रहेछन्। लुंगी थाइल्यान्डको लगाउँछन्, चुरा हङकङको लगाउँछन्, चप्पल चीनको लगाउँछन्, सुनको चुरा हङकङको लगाउँछन् अनि पहिचानचाहिँ कछाड, लफेता, खादा र घलेकको माग्छन्। बाहुनले पनि सुँगुरको मासु बेच्न थालेको तिनलाई थाहा छैन।
पहिचान माग्ने होइन। यो त दाबी गर्ने हो। दाबी गर्नका लागि पहिले संरक्षण गर्नुपर्छ। दाबी गर्नका लागि नयाँ पुस्ताको निर्माण गर्नुपर्छ। प्रचलित निरीह राज्य संयन्त्रले तमाम पहिचाहरूको संरक्षण पनि गर्न सक्दैन, दाबी पनि गर्न सक्दैन। सक्ने भए कालापानी दाबी गरिसक्थ्यो, नालापानी दाबी गरिसक्थ्यो। आफ्नो पहिचानको संरक्षण गर्न नसक्नेलाई दाबी गर्न अधिकार छैन। राज्यको खल्ती हुँदैन, कहाँबाट झिकेर दिने?
त्यसैले म जहिल्यै एउटा तर्क गर्छु- नेपालका जनजातिहरू बाटोमा थाल थापेर कोही बसेका छैनन्। धनी, गरिब त समुदाय र राष्ट्रको चिनारी हो, लाहुरे समुदायका जनजातिहरूसँग आर्थिक अभाव देखिँदैन। अहिले १० पढ्दै गरेको छोराछोरीलाई शिक्षामा लगानी गर्ने हो भने करिब १२ वर्षको अन्तरालपछि नेपाललाई आवश्यक डाक्टर, पाइलट र इन्जिनियरको खपत जनजातिका छोराछोरीबाट हुन सक्छ तर यहाँ त गाँजा तानेर हिपमा पतलुङ झुन्डिन नसक्ने चाल परेको देख्छु अनि कहाँबाट जगतैको भलो हुन्छ?
हिजोआज हमेशा मलाई एउटा सन्देश आउछ, ‘अब यी जनैधारी बाहुनलाई बनारसतिर खेद्नुपर्छ। तिमीले पनि ठ्याक्कै बाहुनले जस्तो कुरा गर्न थालेका रहेछौ। त्यही जनै लगाउन मात्र बाँकी छ। पहिचान भनेको के चिज हो, तिमीलाई केही पनि थाहा छैन। नेपाललाई बाहुनमुक्त देश बनाउनु पर्छ। तँ त मगरभित्रको बाहुन नै रहेछस् हगि? जनजाति मगरको नाममा कलंक होस् तँ, अनि गाईको पिसाब पनि पिउँछस्?’
म अनौपचारिक रूपमा भए पनि मार्क्सवाद पढेको मान्छे। एउटा भिजेलान्तेले कलंकको टीका लगाइदियो। प्रचण्डले जापानको राजदूतमा सिफारिस नगरेपछि आफैँ भिसा मगाएर भगौँडा भएको हुँ। खान त पर्यो नि होइन र? मार्क्सवाद भनेको हो पनि होइन पनि भनेजस्तो हुँदैन। सम्भावनालाई पहिल्याउन ठोस शक्ति हुन्छ र यो वस्तुको गुणमा पाइन्छ भन्ने हो। म केही नजानेको, केही नपढेको मान्छेजस्तो माकाँफुई हुँदै होइन। मजस्तो अलिकति बुझेको मानिसलाई त साम्प्रदयिकतामा होम्न खोज्ने अतिवादी, जातिवादीहरूले सामान्य नागरिकको धर्म, कर्ममाथि कति रजाइँ गर्दा होलान्?
छोटकरीमा मेरो आफ्नै गुणगान गाउँछु- राजनीतिक रूपमा भन्ने हो भने म उत्तर कोरियाको कम्युनिस्ट पार्टी र फिड्रेल क्यास्ट्रोको विचारबाट प्रभावित मानिस हुँ। अशोक राई र उपेन्द्र यादवबाट प्रभावित छैन। व्यावहारिक रूपमा चाहिँ राणा, राजा र पन्चायतीहरूले भन्दा कम्युनिस्टहरूले देश बिगारेजस्तो महसुस हुन्छ। मानवअधिकार र राजनीतिक स्वतन्त्रताको नाममा जस्तोसुकै माग राखेर माग पूरा हुन नसकेको खण्डचाहिँ बहुमतको कुरा अल्पमतले सुन्दै नसुन्ने कुरा नै उन्नतिको बाधक तत्त्व हो।
मेरो छालाको रङ, मेरो हात र पैतालाको चालका कारण म को हुँ मलाई राम्रोसँग थाहा छ। तर, पहिचानको राजनीति भनेको मल्लकालीन सोच हो। मल्लकालीन व्यवस्थामा फर्कने कि मुलुकलाई युग सुहाउँदो दिशातिर लैजाने भन्ने कुरामा लामो विवाद हुनुहुँदैन। यस्ता गम्भीर विषयमा फरक मत राख्ने जो कोही जनजातिको छोरालाई बाहुन भनिनु हुँदैन। सबै कुरामा सबै सहमत हुन सक्ने भए राजनीति भन्ने शब्द हुन्थेन। चुनाव एउटा अलोकतान्त्रिक पद्धतिजस्तै हुने थियो।
त्यसैले यो पहिचानको राजनीति मल्लकालीन राजनीति हो। अशोक राई जयस्थिति मल्ल जस्तै हुन्। समयमा आफ्नो छोरो विवाह भएर जाने ठाँउमा राजाहरूले खानेपानीको धारा र पुल बनाइदिन्थे रे, अब मिसनरी र शरणार्थीलाई नेपाल झिकाउने पुलचाहिँ पहिचानको लडाइँ बन्लाजस्तो छ। कसैको धर्ममा चोट पुराउने गरी गाईको मासु खान पाउनु पर्छ भनेर आन्दोलन गर्नेहरू धर्तीमा बसोबास गर्ने मानिस होइनन्। जमिनमुनिबाट जागेर आएछन्। त्यसैले पहिचानको लडाइँ भनेको एक किलो मासुमा पनि हो।
अनि यो पहिचानको लडाइँ भनेको घरमा आगो सल्काएर जाडो भगाउने उपायजस्तो लाग्छ मलाई। झट्ट हेर्दा यो एउटा प्रगतिशील साहित्यजस्तो पनि देखिन्छ। किनभने पहिचानको नाम बेचेर धनीहरू झन् धनी हुन पुगे। पहिचानको माग गरेर गरिबहरू झन् गरिब हुन पुगे। कम्युनिस्टहरूको घोषणापत्र र चुनावीसभामा देशलाई स्वर्ग बनाउँछन्, अनि सत्तामा लिप्त बनेपछि देशलाई नर्क बनाउँछन्। अहिले ती खुनीहरू स्वर्गमा छन् अनि निर्दोष जनजातिहरूचाहिँ नर्कमा छन्। स्वर्ग भनेको सत्ता हो।
यस्तै कुराको गम्भीर खुलासा गर्दा कतिपय अवसरवादी र कुरा नबुझने मानिस भन्छन्, ‘तिमी त मगरको नाममा कलंक नै रहेछौ।’ बेला-बेलामा कलंकको टीका लगाउन पर्दा मलाई बडो पीडा हुन्छ। अब मेरो जिब्रो थुतेर फाल्न त राणाशासन नै ब्युँतनु पर्ला। त्यो किन पनि ठिक हुन्छ भने मेरोभन्दा पहिले उनीहरूको जिब्रो थुतिनेछ। को हुन् उनीहरू? ति बिखण्डनकारीबाहेक अरुको होलान र? भाई फुटे गवाँर लुटे भन्छन्। गँवारैजस्ता भाइहरूको कुरा सुनेपछि बसिरहेको जगाबाट जुरुक्क उठेर भन्न मन लाग्छ- इन्कलाब जिन्दावाद!
रीसको झोँकमा कतिपय पहिचानवादी जनजाति मित्रहरू भन्छन्, ‘अब हामी बाहुनवादीहरूसँग युद्ध लड्छौँ त भन्छन्। युद्धको घोषणा गरेको ९ महिना नबित्दै वार्ताको वातावरण मिलाइदिन आग्रह गर्दै कनकमणी दीक्षितजीलाई फोन नगर्नू नि। अनि युद्धबाट कसलाई फाइदा हुँदेरहेछ भनेर त रुक्माङ्गत कटुवाल र प्रचण्डको केमेस्ट्रीबाट थाहा भइहाल्यो। टाउकोको मूल्य तोक्ने गिरिजाप्रसाद कोइरालाको टाउकोमाथि चढेर बलिराजा सिंहदरबार त पसेका थिए। टाउको छिरेपछि पुच्छर अड्कियो। बिना आधार, बिना जनसमर्थन युद्धको धम्की दिँदा टाउको र पुच्छर एकैचोटि अट्किएला नि, होस गरम है!
हामीले मुलुकलाई धार्मिक स्वतन्त्र राष्ट्र बनाइसकेका छौँ। धार्मिक स्वतन्त्रता हामी सबैलाई छ। पछिल्लो समयमा जनजाति समुदायबीच हामी अहिन्दु मंगोल हौँ भन्ने आवाजको ठूलो लहड छ। यो कुनै ठूलो कुरा होइन तर अन्य धर्म मान्न चाहनेहरूलाई चाहिँ बाहुनवादी वा अन्य आरोप लगाउँदै तथानाम गाली गर्नु सही छैन। हुन त असभ्य बोल्न कुनै पनि नेपालीलाई तालिम लिनु आवशयक छैन। हामीभित्र हुने सभ्यताको विकाससँगै हाम्रा पहिचान बाँच्छन् भन्ने सबैलाई थाहा हुन पर्यो।
म बाहुनवादी होइन, दिमागको आयतन मात्र अलिकति फरक हो। मित्रहरू हामी मंगोल जाति हौँ भन्छन्, राज्यले ठग्यो भन्न। राज्यले ठगेकै छ, थाहा छ। जात र जातिमा फरक छ त्यो पनि थाहा छ। पहिचान र अधिकारमा पनि फरक छ, त्यो पनि थाहा छ। पहिचानसहितको संघीय प्रान्त हाम्रो घर हुन सक्छ, नेपालचाहिँ हाम्रो देश हुन सक्छ, त्यो पनि थाहा छ। अक्सर धेरैलाई थाहा नभएको कुराचाहिँ यो डिजिटल युग यी चिज सम्भव नै छैनन्। सपनाको रूपमा चाहिँ सम्भव हुन सक्छ। जातीय र धार्मिक सम्प्रदायिकता नेपाली नागरिक चाहँदैनन्।
नेपालमा जातीय विभेद त छ तर अब यो हट्छ। अब यो विभेदले विकराल रूप लिन पाउँदैन। समानुपातिक प्रतिनिधित्व भनेको यही हो। कुनै पनि सरकारी संगठनको संरचनामा दलित, महिला, जनजाति, अल्पसंख्यक आदिको प्रतिनिधित्वको अभ्यास भइसकेको पनि छ। यो बाहुनवादीको कुराचाहिँ राज्यसँग मात्र जोडिएको छ। अन्यथा केपी ओलीको राजनीति झापाकेन्द्रित छ। झापाका अधिकांश बाहुन हुन् वा जनजाति अरब, युरोपमा जुठा भाँडा माझेकै छन्। कुनचाहिँ बाहुनको छोरा चौकीदारी गर्दैन?
त्यसैले बाहुनवाद र कुनै जनजातिवाद प्रमुख होइन। सति प्रथाको कुनै उपादेयता थिएन, यो कसैले संरक्षण गर्न चाहेर पनि अब संरक्षण हुन सक्दैन। सति प्रथा सकियो। छुवाछुत प्रथा हामीले ठिक छैन भनेर बुझेका छौँ, नेपालको युवा समुदायबीच छुवाछुतको भावना बाँकी छैन पनि। कमलरी प्रथा पनि त्यस्तै हो, हट्दैछ। यदि यो बाहुनवाद नेपाली समुदायको प्रमुख समस्या हो भने यो पनि हट्छ-हट्छ तर हटाउने उपाय भनेको जनैधारी टपरे बाहुनलाई बनारस लखेटम् भनेर हुँदैन फेरि आफू पनि तिब्बत पुगिएला नि।
हेर्नुस् मलेसियामा तामिल समुदाय मलेसियन नागरिक बनेर बसेका छन्। अब तिनले मलेसियाको कुनै भूभागलाई तामलनाडु बनाउँछु भनेर हुँदैन। तिनलाई पहिचानको माया भए कि भारतको तामिलनाडु फर्किन पर्यो होइन भने चुपचाप दाल रोटी खाएर मलेसिया बस्न पर्यो, ती आजको मितिसम्म बसेका छन्। भुटानी समुदायहरूले झापा, दमक, इलामलाई भुटान राज्य माग्न मिल्दैन। बौद्ध, सोलु र नाम्चे तिब्बत राज्य बन्न सक्दैन। न बर्माको कुनै भुभाग गोर्खाल्यान्ड बन्न सम्भव छ, न गोर्खाल्यान्ड भारतबाट फुत्केर स्वतन्त्र बन्न सक्छ।
आकाशैमा बादलु छैन, पानि पर्यो करेली झालैमा
सामन्तको नाइके छैन, कल्ले पार्यो माकुरी जालैमा।
यो माथि उल्लेखित गीत गायक जीवन शर्माले गाएको जनवादी गीत थियो। जीवन शर्माको यो गीतमा आम नेपाली जनताको सिंगो जीवन भेटिन्छ। जनताले चुनेर पठाएका प्रतिनिधि पात्रहरू माकुराको जालमा परेर उम्कन सकेका छैनन्। जनता भनेकै जनजाति हुन्। जनता भनेकै मतदाता हुन्। भन्न त सार्वभौम मुलुक भनिन्छ तर आफ्नो निर्णय आफैँ गर्न नसक्ने पराधीन राजनीतिक दलका नेताहरूको निराशाजनक मुहार आकाशको कालो बादलजस्तै धुमिल देखिन्छ। त्यसैले पहिचान माग्ने होइन, दाबी गर्ने हो।
अहिले पहिचान र संघीयताको मुद्दामा देश ‘डेडलक’मा छ। संविधान बन्न सक्ने सम्भावना तत्काल नदेखिए पनि केही विदेशी शक्तिहरूको सुझाव अनुरूप अब विवादित मुद्दा प्रक्रियाबाट अगाडि बढ्न सक्ने सभावना देखिन्छ। प्रक्रिया मान्नुपर्छ, फरक मतलाई दर्ज गरेर आफूले जनतालाई कुरा बुझाउनतिर लाग्नु पर्छ। राज्य सञ्चालनमा कुनै पनि किसिमको बाधा पुर्याउन हुँदैन। त्यो राज्य राजनीतिको हो। राजनीतिबिनाको राज्य परिकल्पना गर्न सकिने भए त डा. गोविन्द केसीलाई प्रधानमन्त्री बनाउन मिल्थ्यो, हरिवंश र मदनकृष्णहरू पनि मन्त्री बन्थे ।
नेता र हामीहरू बीचमा दुरी यत्ति हो कि नेताहरूले हामीलाई हाम्रो देश असफल हुनुमा वा हाम्रो दुर्गतिको कारण पञ्चायती व्यवस्था हो भने अनि हामीले आँखा चिम्लेर पत्यायौँ। पञ्चायती व्यवस्थालाई जरैदेखि ढाल्यौं। हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई ढोकाबाट बाहिर निकाले। यिनीहरूले हामीलाई हाम्रो सम्पूर्ण दुर्भाग्यको कारण राजतन्त्र हो भनेकै थिए। हामीले फेरि पत्यायौं र राजतन्त्रविरुद्ध लड्यौं। हेर्दाहेर्दै यिनीहरू कहिले राजाको बाहुलीमा नाम चढाउन गए कहिले पाउमा दाम चढाउन गए।
ती जानेहरू र आउनेहरूमा कुनै जात र धर्मविशेषका मानिस छैनन्। कुनै उत्पीडित समुदाय छैन। रोल्पा, रुकुम, प्युठान र सल्यानका मगरहरूले बगाएको रगतको कुनै मापन छैन। सुदूर कर्णालीका दलितहरूले तमोर नदीको किनारमा आहुति दिएका जीवनको कुनै मूल्य छैन। बजारमा लोकमानको मूल्य सूची छ।
ती अवसरवादी, राष्ट्रघाती, पलायनवादीका स-साना झुण्ड थिए। तिनीहरूले संविधानसभा नयाँ नेपाल बनाउने कडी हो भने। देशमा चमत्कार गर्ने जादुको छडी हो भने। त्यो पनि हामीले मान्यौ र भोट हालेर यिनीहरूलाई छान्यौं। हेदौहेर्दै यिनीहरूले संविधानसभालाई डान्स रेस्टुरेन्टमा ढाले। मात्तिएर नांगानांगै नाच्न थाले। हिजोआज माननीय सभासदहरू ‘हिपअप’ गीत सुन्न थालेका छन्। केही दिनअगाडि एक युवती सभासदले आफ्नो फेसबुकमा रक-स्टार अभय सुब्बाको ‘मलाई मतलब छैन’ भन्ने बोलको गीत सेयर गरेको थिइन्। अनि कम्ति उदेक लाग्दैन होला त।
सभाहलमा सुत्ने सभासदहरू आजकल घर मै सुतिरहेका छन्। कोही बाटो बाटोघाटो, पुलपुलेसाको समुद्घाटनमा व्यस्त छन्। कोही स्कुल, पुस्तकालय र एनजिओको वार्षिक उत्सव मनाउन व्यस्त छन्। त्यो दु:खी संविधान-सभा भवन भने भुतघरजस्तो प्राय: सुनसान देखिन्छ।
सुनसान सभाहलसँग कुनै गुनासो छैन। गुनासो सजीव सभासदहरूसँग छ। भोलि बिहान उठेर चिच्चाउँदै तिमीले बाहुनबाद मुर्दावाद भन, अनि म इन्कलाब जिन्दावाद भन्छु। बाहुनवादी मगरको पहिचान भनेको यही हो।
यो मामा हराएको सहर हो प्रिया!