एमाओवादी पार्टी फुट्नुभन्दा केही साता अगाडि पोखरामा एउटा गोप्य भेला सम्पन्न भएको थियो। उक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, 'हाम्रा केहि साथीहरु चोइटिएर जाने सम्भावना छ। तिनीहरु गईहालेछन् भने पनि तपाईहरु बिचलित नहुनु होला, किनभने हामी त झन सग्लो हुनेछौ। तिनिहरु पार्टीमा बसेर के नै गरेका छन्? "मलाई असहयोग गर्ने काम बाहेक सिन्को पनि भाचेका छैनन्l यसो गरे पनि खोंचे थाप्छन, उसो गरे पनि खोंचे, काम गर्नै नसकिने स्थिति भैसक्यो।'
सयौं कार्यकर्ताको उपस्थितिमाझ बैद्य समूह फुटेर गए हाईसन्चो हुने बताएका थिए प्रचण्डले। त्यतिखेर सेना समायोजनको विवाद निकै उत्सर्गमा पुगेको थियो। पार्टी फुट्नेनै भने पक्कापक्की भैसकेको थिएन। सबै नेताहरु मिलन बिन्दुको अन्तिम कसरतमा ब्यस्त देखिन्थे।
अर्का नेता बाबुराम भट्टराईले पनि मुख फोरेका थिए, 'यी लडाकुहरु सलाइका काँटी जस्ता हुन्, यिनलाई राम्रोसँग ब्यवस्थापन गर्न सकिएन भने गाउँ शहर जताजतै आगो बल्नसक्छ।'
प्रचण्ड र बाबुरामबीच एउटा समानता थियो। दुबै नेताहरु पार्टीमा 'हार्ड-लाइनर' किरण समूहका नेता कार्यकर्तालाई कट्टरपन्थी, अराजक र जडशुत्रवादी र भडुवावावादी ठान्थे।
चर्को अन्तरसंघर्षका बीच मोहन बैद्यले बक्तब्य निकाले। 'सेना समायोजनको नाममा कुनै पनि हालतमा आत्मसमर्पण गर्न सकिँदैन। हामीलाई धोका दिने काम हुँदैछ। हामी मान्दैनौ, फेरि जनतामा जान्छौ।'
तीनसमूहको यस्तो गुटगत जुहारी चलिरहेका बेला मैले नेता नेत्र बिक्रम चन्दलाई भेट्ने मौका पाएको थिएँ। उनले भनेका थिए,"सबै बुढाहरुको सपना सहरमा आराम सँग सुत्ने छ। कोही दमको दबाइ देखाउँछन, कोहि पुरानो ब्यथा जाग्यो भन्छन्।"
यसरी क्रान्तिप्रतिको गहिरो अन्तरद्वन्दका कारण पार्टी फुटेको थियो। पद, पैसा र प्रतिष्ठा सहायक कारण थिए। सबै नेता कार्यकर्तामा लोभ-लालच बुझ्नु गलत हुन्छl
शान्ति प्रक्रियामा आइसकेपछि पनि कार्यकर्तालाई साँचो नभन्नु, क्रान्तिको तयारीमै छौ भनेर ढाट्नु युद्द लडेका कार्यकर्ताप्रतिको चरम गद्दारी थियोl
अन्तरसंघर्ष चुलिँदै गएर पार्टी फुट्न केही दिनअघि किरण समूहको एक गोप्य भेलामा नेता हितमान शाक्यले भनेका थिए, “हामी गाउँ घरतिरै गिठ्ठा-भ्याकुर खाँदै थियौ, प्रचण्डले लौ सहरतिर जाम साथी हो भन्नु भयो। होला नि त भनेर सहर झरियो, तर अहिले हाम्रो बेहाल भयो।" ऊनले थपे, “ गाउँका सुन्दर केटीलाई काठमाडौं घुमाउन लैजान्छु भनेर सिधै दिल्ली-बम्बईको कोठीमा पुर्याएझैँ हाल भयो हाम्रो।'
यो चरम विवादका वावजुत सेना समायोजनको काम रोकिएन। २०६८ चैत २७ गते प्रमुख दल हरूबीच लडाकु शिविर र हतियार सरकारमातहत ल्याउने सहमति भयो। हठात नेपाली सेनालाई शिविर जिम्मा लगाएर माघ ७ गते माओवादी सेनाको अपमानजनक ढंगबाट बिघटन गरियो।
सेना समायोजनको आन्तरिक द्वन्दको ब्यवस्थापन गर्न नसक्दा पार्टी फुट्यो। किरणको नेतृत्वमा रहेको सुमूहले सेना संयायोजनलाई माओवादी सेनाको विलय तथा आत्मसमर्पण को रुपमा बुझेको थियो।
जनसेनामा जे गुज्रेको थियो त्यो बाहिर बसेकाले बुझ्न सकेनन वा चाहेनन्। हजारौ लडाकू अयोग्य भनिएर शिविर बाहिरिँदा दलका नेताहरु शान्ति प्रक्रिया सफल भयो भनिरहेका थिए। द्वन्दविदहरु द्वन्दको अन्त भनिरहेका थिए।
अहिले रक्तचन्दन चोरको हातमा पनि प्रहरीले अत्याधुनिक एके-४७ जस्ता अत्याधुनिक हतियार किन भेट्छ? बैंकको गार्डलाई गोली हानि पैसा लुट्नेमा किन पूर्वलडाकु संग्लग्न हुँदैछन्? के त्यो द्वन्दको सहि बैठान थियो?
यो सबै पृष्ठभूमिमा नेकपा माओवादीबाट बिप्लव अलग भएका छन्l मानिसहरु भन्दैछन्, बिप्लवले हतियार उठाउने भयो। फेरि काटमारको राजनीति सुरु गर्ने भयो। मलाई त्यस्तो लाग्दैन।
फेरि किन फुटेर गए बिप्लव ?
अघिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमा बिप्लवले आफ्नो फरक दस्तावेज पेश गरेका थिए। अस्वीकृत भएको उक्त दस्तावेजमा पालुङ्टार विस्तारित बैठकले पारित गरेको जनयुद्धको जगमा जनविद्रोह भन्ने कुरालाई मुख्य रुपमा उठाइएको थियो। यतिमात्र होइन पार्टीको बौद्ध भेलाले पार्टी पुर्नगठन भएको र जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा नै पारित गरेको कुरा बिप्लवले बैठकमा राखेका थिए।
रोल्पा सहमति हुँदै राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणासम्म आएको सहकार्य सत्तामा पुगेर भताभुङ्ग हुन पुगेको बिप्लवको बुझाई छ। उनले भनेका छन, 'देशमा क्रान्तिको अनिवार्य शर्त जनमुक्ति सेना हो। मोर्चाबन्दीका दृष्टिले वामपन्थी, देशभक्त, लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माणलाई जोड दिनुपर्दछ।'
त्यसका लागि बिप्लवले तत्कालकालागि कार्यनीति पार्टीमा प्रस्तुत गरेका छन्।
(क) राजनैतिक रुपले हाम्रो कार्यनीति दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध चौतर्फी घेराबन्दी गर्ने, भण्डाफोर गर्ने, विस्थापित, विघटन गर्ने र त्यसको स्थानमा आ-आफ्नो विशेषताअनुरुप जनसत्ता संगठित गर्दै जाने हुनुपर्दछ।
(ख) सङ्गठनात्मक रुपले पार्टीलाई भूमिगत ढाँचासहित स्थानान्तरण गर्दै भूमिगत कार्यशैलीमा लैजानुपर्दछ। बाहिर काम गर्ने गरी एउटा खुकुलो खालको मञ्च बनाएर जानुपर्दछ।
(ग) हिजोका जाली फटाहाको ठाउँ भ्रष्ट तत्वसँग मिलेर 'डन' प्रवृतिले लिँदै गएको छ। लुटने, ठग्ने, आतङ्कित पार्ने गरिरहेको छ। यसलाई नियन्त्रण गर्ने कारबाही सञ्चालन गर्नुपर्दछ।
पार्टी फुटेर या फुटको पक्षमा उभिएर पनि लक्षमा पुग्न सक्दछ भन्ने विचार बिप्लवको छl बिप्लवसँग अहिले थोरै संख्यामा मात्र मानिस जालान्। तर, ख्याल गर्नुपर्ने कुरा के हो भने, त्यो संख्या सँधै थोरै रहिरहन्छ भन्ने होइन। विद्रोहलाई कहिल्यै कम आक्नु हुन्न। खेलवाड गर्नु हुन्न। यसको निम्तिदलहरु र सरकार आजदेखिनै जिम्मेवार बन्नु जरुरी छ।
@dil_nisani