कोटेश्वरको सवारी चाप कम गर्न सडक विभागले ‘डेडिकेटेड सर्भिस लेन’ थप्ने तयारी गरेको छ।
तीनकुनेदेखि कोटेश्वर हुँदै जडिबुटीसम्म र भक्तपुरदेखि कोटेश्वर हुँदै बालकुमारी जाने सडकको बायाँतर्फ एक–एक लेन थप्न अध्ययन सुरू गरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताएका छन्। (हेर्नुहोस्: कोटेश्वरको जाम कम गर्न 'डेडिकेटेड लेन' थपिने, कम होला त जाम?)
के ‘डेडिकेटेड लेन’ थप्दैमा कोटेश्वरको सवारी चाप कम होला?
संसारका विकसित देशहरूले बढ्दो सवारी चापबाट त्राण पाउन थुप्रै प्रयोग गर्दै आएका छन्। गाडी संख्याको अनुपातमा सडक फराकिलो पार्दै जानु एक हो।
लामो समयको अभ्यासले के देखायो भने, सडक जतिसुकै फराकिलो पारे पनि सवारी चाप घट्ने भनेको केही समय मात्र हो। एकाध महिनापछि फराकिलो सडक फेरि साँघुरो लाग्छ।
त्यही भएर अमेरिका, क्यानडासहित थुप्रै युरोपेली देशले सवारी चापका नाममा सडक फराक पार्न बन्द गरिसकेका छन्। कतिपय अमेरिकी राज्य त नयाँ सडक निर्माण नगर्ने अवस्थामा पुगेका छन्। उनीहरूले के बुझे भने, सडक फराकिलो पार्दैमा गाडी कम हुँदैन। जबसम्म गाडी घट्दैन, सडक जति फराक पारे पनि पुग्दैन।
त्यसो भए विकल्प के?
न्यूयोर्क टाइम्सले अनलाइन संस्करणमा एक साताअघि र प्रिन्ट संस्करणमा बुधबार सार्वजनिक यातायातसम्बन्धी एउटा स्टोरी प्रकाशित गरेको छ।
अमेरिकाको म्यासाचुसेट्स राज्यमा बस्ने डियोनिसिया रामोस हरेक दिन दुईचोटि सार्वजनिक बस प्रयोग गर्छिन्। बस चढ्नेबित्तिकै उनी ढोकामै उभिएर भाडा तिर्छिन्।
केही महिनाअघि भने अचम्मै भयो। उनले जसै पैसा तिर्न हात अघि बढाइन्, चालकले उनलाई रोके।
‘तपाईंले भाडा तिर्नुपर्दैन,’ चालकले भने, ‘सार्वजनिक बसको भाडा दुई वर्ष निःशुल्क गरिएको छ।’
उनी छक्क परिन्। कुनै पनि सेवा यसरी निःशुल्क पाइएला भन्ने ५५ वर्षीया रामोसले कल्पनासम्म गरेकी थिइनन्।
म्यासाचुसेट्सले निजी कारको सट्टा सार्वजनिक बस चढ्न प्रेरित गर्ने उद्देश्यले निःशुल्क सेवा सुरू गरेको हो। अनुसन्धानका रूपमा यहाँ दुई वर्ष सार्वजनिक यातायात निःशुल्क गरिएको छ।
‘यो एकदमै सही कदम हो, सार्वजनिक यातायात निःशुल्क हुनुपर्छ,’ रामोसले भनिन्, ‘यो मान्छेको आधारभूत आवश्यकता हो।’
पछिल्लो समय अमेरिकी तथा युरोपेली सहरहरूले सवारी चाप र प्रदूषण कम गर्न सार्वजनिक यातायात निःशुल्क गर्न थालेका छन्। यसले महँगो पेट्रोल बालेर निजी गाडी हाँक्नुको सट्टा सार्वजनिक यातायात प्रयोग गर्ने क्रम बढेको छ। सवारी चाप र ट्राफिक जाम पनि कम हुँदै गएका छन्।
निःशुल्क सेवाको लागत सम्बन्धित राज्यको स्थानीय सरकारले नै बेहोर्दै आएको छ। कतिपय ठाउँमा निजी कर्पोरेट क्षेत्रले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरेको छ।
म्यासाचुसेट्सको दोस्रो ठूलो सहर उस्टर सिटी काउन्सिलले निःशुल्क सार्वजनिक यातायातमा वार्षिक २० लाखदेखि ३० लाख डलर खर्च गर्छ।
अन्य अमेरिकी राज्यहरू कान्सस, ओलम्पिया, वासिङ्टन लगायतले पनि यसै वर्षबाट सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेका छन्।
न्यूयोर्क टाइम्सका अनुसार, संसारभरिका करिब सयवटा सहरमा सार्वजनिक यातायात निःशुल्क छ। यसमा अधिकांश युरोपेली सहर छन्। खासगरी फ्रान्स र पोल्यान्डमा यस्तो सेवा सबभन्दा बढी छ।
डेनभर र अस्टिनसहित केही अमेरिकी राज्यहरूमा भने निःशुल्क सेवाका बाबजुद कारहरू खासै कम भएको पाइएन। नेसनल एकेडेमिज प्रेसले सन् २०१२ मा गरेको सर्वेक्षणअनुसार, निःशुल्क सार्वजनिक यातायात चढ्नेहरू धेरैजसो गरिब जनता थिए, जोसँग कार थिएन।
लक्षित उद्देश्य हासिल नभए पनि सामाजिक तथा जातीय असमानता हटाउन भने यो उपयोगी सावित भयो।
निःशुल्क सेवा लागू भएका सुरूआती महिनाहरूमै सार्वजनिक बसको प्रयोग २० देखि ६० प्रतिशत बढेको सर्वेक्षणले देखाएको छ। तिनमा अश्वेत नागरिक र गरिब समुदायका सदस्यहरू बढी थिए।
अहिले यही अवधारणा म्यासाचुसेट्सको उस्टर सिटी काउन्सिलले अंगालेको छ। त्यहाँ सर्वसाधारणलाई निजी कारको सट्टा सार्वजनिक बस चढाउन धेरै गाह्रो भइरहेको थियो। सन् २०१६ यता सार्वजनिक बसको प्रयोग २३ प्रतिशत घटेको थियो। सहरभरि सार्वजनिक बसको सुविधा भए पनि धेरै गाडी आधा रित्तै दौडन्थे।
‘आफैं खर्च गरेर खान सक्नेहरू पनि निःशुल्क डिनर पाएपछि खुसी हुँदै खान्छन्,’ उस्टरका स्कुल शिक्षक हाउर्ड फेनले भने, ‘निःशुल्क आउजाउ गर्न पाएपछि मान्छेहरू कारको सट्टा बस चढ्न थाल्नेछन्।’
युरोपेली मुलुकहरूमा निःशुल्क सार्वजनिक यातायात सफल मानिन्छ। त्यहाँ सकारात्मक नतिजा दिन थालेपछि अमेरिकी राज्यहरू यसको अभ्यास गर्न प्रोत्साहित भएका हुन्।
उदाहरणका लागि, फ्रान्सको डुनक्रिक सहरले दुई लाखभन्दा बढी जनसंख्यालाई निःशुल्क सार्वजनिक यातायात सेवा दिँदै आएको गार्डियनले लेखेको छ।
एस्टोनियाको राजधानी तालीन सार्वजनिक यातायात निःशुल्क गर्ने पहिलो युरोपेली सहर हो। यहाँ बस, ट्रामदेखि ट्रलीमा समेत सर्वसाधारणले निःशुल्क सेवा पाउँछन्। यो सेवा लिन स्थानीयले एकचोटि दुई युरो तिरेर ‘ग्रिन कार्ड’ किन्नुपर्छ। त्यही कार्ड देखाएर असीमित यात्रा गर्न पाइन्छ। यो कार्यक्रम सन् २०१३ बाट सुरू भएको हो।
यसले कार प्रयोग घटेको र सार्वजनिक बस चढ्नेहरू बढेकाले ट्राफिक जामको समस्या छैन। दुई युरोको ‘ग्रिन कार्ड’ बिक्रीबाट पनि सहरलाई ठूलो आम्दानी भइरहेको छ।
अहिलेसम्म फ्रान्समा मात्र दुई दर्जनभन्दा बढी सहरले निःशुल्क सेवा दिन थालिसकेका छन्।
जर्मनका कतिपय सहरले व्यापक रूपले भाडा कटौती गर्ने नीति लिएका छन्। यसले पनि सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गरेको छ।
डेनमार्क, नर्वे लगायत मुलुकले त सहरका भित्री क्षेत्रमा कार प्रवेशलाई पूर्ण निषेध गरिसकेको छ। त्यहाँ पनि सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहित गरिन्छ।
जाम हटाउन भन्दै सडक फराक पार्न कस्सिएको सडक विभागका कर्मचारीदेखि ट्राफिक प्रहरी, सरकार र नीति–निर्माताहरूले अमेरिका–युरोपमा भइरहेका अभ्यासबाट केही सिक्ने कि!
कोटेश्वरमा 'डेडिकेटेड लेन' थपेर केही महिना त समस्या समाधान होला, त्यसपछि के?
अमेरिकी तथा युरोपेली सहरहरूले जसरी सार्वजनिक यातायात चढ्न प्रोत्साहित गरेर निजी कार कटौती गर्ने दीर्घकालीन उपाय अंगालेका छन्, हामीले पनि यसैमा अध्ययन गर्नु पो सही हो कि!