पछिल्लो समय उपत्यकामा सवारीको चाप बढ्दै जाँदा जाममा बस्नुपर्ने समय पनि बढ्दै गएको छ।
उपत्यकामा कार्यालय समयमा प्राय मुख्य चोकमा केही समय जाम भएकै हुन्छ। यस्तै काठमाडौंमा सबैभन्दा बढी जाम हुने ठाउँ कोटेश्वर चोक पनि हो।
भक्तपुरबाट काठमाडौं भित्रिने एउटामात्रै नाका भएकाले पनि कोटेश्वरमा प्राय जाम भइरहन्छ। कार्यालय समयमा अझै लामो लाइनमा बस्नु पर्नेहुन्छ। जाम कम गर्ने विकल्प खोजिरहेको सडक विभागले डेडिकेटेड सर्भिस लेन थप्ने तयारी थालेको छ।
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीका अनुसार तिनकुनेदेखि कोटेश्वर हुँदै जडिबुटीसम्म सडकको बाँयातर्फ र भक्तपुरदेखि कोटेश्वर हुँदै बालकुमारी जाने सडकको बाँयातर्फ एक-एक लेन डेडिकेटेड सर्भिस लेन थप्न अध्ययन अघि बढाएको बताए।
पछिल्लो समय भक्तपुर क्षेत्रमा तीव्र वस्ती विकास भएकाले त्यस क्षेत्रमा जाम बढ्दै गएको छ। पूर्वी नेपाल जाने विपी राजमार्ग खुलेकाले पनि पछिल्लो समय उक्त सडक खण्डमा सवारीको चाप बढेको हो।
‘यसअघि त्यो क्षेत्रमा यसरी बस्ती बढ्ला भन्ने लागेको थिएन, तर पछिल्लो समय तीब्र रुपले बढेको छ, सडक विस्तार गरेर अर्को दुई लेन थप्दा केही कमी हुन्छ भन्ने अनुमान रहेकाले अध्ययन अघि बढाएका छौं,’ उनले भने, ‘यो पहिले नै गर्नुपर्ने थियो, ढिलै भएपनि काम सुरु भएको छ।’
एकातिर एयरपोर्ट भएकाले घुमाएर अर्का सडक बनाउँदा झनै लामो हुने भएपछि जामको समस्या छिटो समाधान गर्न डेडिकेटेड लेन बनाउने योजना अघि बढाएको सरकारी पक्षको भनाइ छ।
सडकको एयरपोर्टतर्फ एक लेन र अर्को तर्फ ३ लेन बनाउन मिल्ने गरि जग्गा अधिकरण गर्ने डिभिजन कार्यलयको योजना छ। अहिले दुबै तर्फ एक एक लेन बनाएपनि भविष्यमा दक्षिणी भागमा अर्को दुई लेन थप्न मिल्ने गरी जग्गा लिने योजना बनाएको नेपालीले बताए।
‘उत्तरतिर एयरपोर्ट परेकाले धेरै जग्गा लिन नमिल्ने भयो त्यसैले हामी अर्को भागमा धेरै जग्गा लिन खोजेका छौ,’ नेपालीले भने ।
त्यसो त कोटेश्वरको क्षेत्रमा जाम कम गर्नको लागि नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमानै अन्डरपास बनाउने योजना अघि सारेको छ।
अन्डर पास बनाउन बजेट र समय पनि धेरै लाग्ने भएकाले डिभिजन कार्यालयले यो विकल्प अघि सारेको नेपालीको भनाइ छ।
उनले थपे, ‘अन्डरपास बनाउने योजना छँदै छ, अहिले तत्कालै समस्या समाधान गर्न चालु आर्थिक वर्षमा नै काम सक्ने गरि लेन थप्न खोजिएको हो।’
सडक विस्तार गरेर पनि सडकको जाम नहटे लगानी खेर जाने हुनाले सडक डिभिजन कार्यलयले ट्राफिक इन्जिनियरिङमा गहिरो अध्याय गरेर मात्रै काम सुरु गर्ने प्रस्ट पारेको छ।
‘अहिले ट्राफिक इन्जिनियरिङ अध्यायन गर्ने काम भइरहेको छ,’ उनले भने।
लेन थप्दा साँच्चिकै जाम घट्ने अध्ययनको निस्कर्ष आएपछि सडक कस्तो बन्ने भन्ने विस्तृत योजना बनाइने छ।
योजना अनुसार लेन थपिए तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारी साधान क्युमा बस्नु पर्नेछैन। भक्तपुरबाट तीनकुने र तीनकुनेबाट बालकुमारी जाने सवारी क्रस हुनको लागि मात्रै क्युमा बस्नु पर्नेछ।
नेपालीले तीन पक्षसँग जग्गा लिने प्रकृया अघि बढाएको जानकारी दिए। सरकारले निजी जग्गा अधिकरण गरिसकेको छ। तर, विस्तारित सडकमा पर्ने धेरै जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणको छ।
प्राधिकरणको स्वामित्वमा रहेको जग्गा सडक विस्तार गर्न दिने ‘हाइ लेभलको’ सहमति भएको बुझिएको छ।
सडक विस्तारको लागि चाहिने जग्गाको नाप प्राधिकरणमा पठाइएको छ। त्यसको आधिकारिक निर्णय भने प्राधिकरणले गर्ने छ। विस्तार गर्न लागिएको सडकमा दुबैतर्फ गरेर प्राधिकरणको साढे ७ रोपनी जग्गा चाहिने डिभिजन कार्यालयले जानकारी दिएको छ।
त्यस्तै रोडको छेउमा रहेको महानगरपालिकाले बनाएको पसल राख्ने ठाउँ र सार्वजनिक शौचालय स्थानान्तरण गर्नुपर्ने छ।
उनले थपिएको नयाँ लेन मनोहरा खोला करिडोरसँग पनि जोड्न मिल्ने गरि तयारी गरेको बताए।
उनले भने, ‘जाम कम गर्नु अहिलेको पहिलो प्राथमिकता हो, यो सबै सडक बनाउन समय लाग्ने भएकाले पहिलो चरणमा कोटेश्वर चोकको आसपासमा डेढ किलोमिटर मात्रै नयाँ डेडिकेटेड लेन थपिने छ।’
तर, त्यो पछि अन्डरपास नै बन्ने उनले दाबी गरे। अहिले सामान्य खर्चले जाम कम हुने गरि काम गर्ने र पछि सरकराको प्राथमिकतामा पनि अन्डरपास बनाउने भएकाले अन्डरपासनै बन्ने उनले बताए।
‘अहिले गाडी चल्नको लागि आधारभुल कुराहरु मात्रै भएको सडक हुनेछ, सडकको किनारमा मानिस हिँड्ने फूटपाथ हुनेछ,’ उनले भने।
अहिले कन्सेप्चुल स्टडीको चरणमा रहेको बताउने सडक डिभिजन कार्यालय जाम कम नहुने भएमा भने सर्भिस लेन नबन्ने प्रस्ट पारेको छ।
बाटो विस्तार हुँदा सवारी छिटो कुद्ने भएपनि नेटवर्क उस्तै हुँदा त्यसले जाम कम नगर्ने भन्दै डिभिजन कार्यालयका प्रमुख नेपालीले लक्ष्य पुरा नहुने ठाउँमा लगानी नगर्ने बताए।