नेपाली सेनाले त्रिचन्द्र मिलिटरी अस्पताललाई भनेर बनाएको अत्याधुनिक भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन प्रक्रिया सुरू गरेको छ।
वीर अस्पताल छेउमा नौ दशक पुरानो इतिहास बोकेको मिलिटरी अस्पताल भत्काएर सेनाले नयाँ भवन बनाएको हो। उक्त भवनका कोठा भाडामा लिन सेनाले जेठ ९ गते सार्वजनिक टेन्डर आह्वान गरेको छ।
तीन लाख ३० हजार वर्गफिटको उक्त भवनका केही भाग मात्र अस्पताल प्रयोजनमा लगाएर २ लाख ८५ हजार वर्गफिट व्यापारिक प्रयोजनका लागि भाडामा दिन लागिएको हो।
भाडामा लिनेले वार्षिक न्यूनतम ४७ करोड रूपैयाँ तिर्नुपर्ने सर्त छ। दर्खास्त दिँदा १ करोड १७ लाख ५० हजार ३ सय रूपैयाँ बुझाउनुपर्ने गोरखापत्रमा प्रकाशित टेन्डर सूचनामा उल्लेख छ।
काठमाडौंको मुटुमा रहेको महांकालको यो भवनलाई भाडामा दिएर आएको रकमले देशका अन्य ठाउँमा अस्पताल सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ।
‘भाडाबाट आउने रकम सेनाका बहालवाला र भूपूका परिवारको उपचार र अध्ययनमा खर्च गरिनेछ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीसँग भने, ‘सेनाले आफ्नो सेवा विकेन्द्रीकरण गर्न पनि यो भवन भाडामा लगाउने निर्णय गरेको हो।’
सुरूमा यो भवन हेलिप्याडसहितको १४ तले बनाउने भनिए पनि भुइँचालोपछि यसलाई अन्डरग्राउण्ड र वेसमेन्टसहित नौ तलामा झारियो। भवन बनाउन अहिलेसम्म १ अर्ब ६० करोड खर्च भएको सेनाले जनाएको छ।
सैनिक स्रोतका अनुसार अस्पतालका लागि सामान किन्न थप ३ अर्बभन्दा बढी लाग्ने भएपछि सेना हच्किएको हो। त्यति लगानी गरेको अस्पताल चलाउन सकिन्छ वा सकिन्न भन्नेमा सेना अलमलियो। अन्ततः ९० वर्ष पुरानो त्रिचन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको अधिकांश भाग व्यापारिक प्रयोजनका लागि भाडामा दिने निर्णयमा सेना पुगेको हो।
यो अस्पताल प्रथम विश्वयुद्धपछि ब्रिटिस सरकारको सहयोगमा बनेको हो। घाइते सैनिकको उपचारका लागि अस्पताल बनाइएको थियो। त्यति बेला यो दक्षिण एसियाकै उत्कृष्ट मिलिटरी अस्पताल मानिन्थ्यो।
अस्पताल प्रयोजनका लागि बनाइएको भवन किन व्यापारिक प्रयोजनका लागि भाडामा दिन लागियो भन्ने प्रश्नमा सैनिक प्रवक्ता पाण्डेले भने, ‘अहिले छाउनीस्थित वीरेन्द्र अस्पताललाई ६ सय ३५ शैय्याको बनाइएको छ। त्यही स्तरको अस्पताल बनाउन हामीलाई कठिन हुन्छ। भूपू सैनिकको सम्मेलनले पनि काठमाडौंमा मात्रै अस्पताल नबनाउन सुझाव दिएको थियो।’
त्रिचन्द्र आर्मी अस्पतालमा अहिले दाँतको उपचार हुने गरेको छ भने भविष्यमा फिजियोथेरापी र साधारण ल्याब स्थापना गर्ने सेनाले जनाएको छ। यसअघि नेपाली सेनाले वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिन लागेको भए पनि पछि सम्झौता रद्द गरेको थियो।
सेनाले तोकिएको समयमा सम्झौता गर्न नआएको भन्दै एभरेष्ट ट्रेडर्ससँगको सम्झौता २०७४ फागुनमा रद्द गरेको थियो। ट्रेडर्सका सञ्चालक चन्द्र श्रेष्ठलाई सम्झौताका लागि समय दिए पनि सम्पर्कमा नआएको भन्दै ठेक्का टेन्डर रद्द गरिएको हो।
सुरूआतमा अस्पताल लागि भवन निर्माण सुरू गरेको सेनाको कल्याणकारी कोषले पछि भवन भाडामा दिने निर्णय गरेको भन्दै यसको आलोचना पनि भएको छ।
सम्बन्धित समाचारहरू :
त्रिचन्द्र सैनिक अस्पतालको नयाँ भवन वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिँदै सेना
त्रिचन्द्र सैनिक अस्पतालको नयाँ भवन बनेपछि ५८ लाख तिरेर नक्सा पास गर्यो सेनाले