नेपाली सेनाले काठमाडौं, महांकालस्थित त्रिचन्द्र सैनिक अस्पताल भत्काएर बनाएको नयाँ भवनको नक्सा पास गरेको छ।
सेनाले गत हप्ता ५८ लाख रुपैयाँ महानगरमा बुझाएर भवनको नक्सा पास गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सेतोपाटीलाई जानकारी दिए।
‘गत हप्ता ५८ लाख तिरेर उहाँहरूले नक्सा पास गर्नुभएको छ,’ प्रवक्ता डंगोलले भने, ‘सरकारी संरचनालाई छुट दिन सक्ने प्रावधान थियो। तर हामीले उहाँहरूलाई केही छुट दिएर बाँकी लिएका हौं।’
नक्सा पास भएसँगै महानगरले सेनालाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको छ।
यो भवन सेनाले बनाएको पहिलो नक्सापासयुक्त भवन भएको छ। भवन निर्माण अन्तिम चरणमा पुगिसकेपछि सेनाले नक्सा पासका निम्ति महानगरपालिकासँग गत वैशाखबाट छलफल सुरू गरेको थियो।
९० वर्ष लामो इतिहास बोकेको यो अस्पताल प्रथम विश्वयुद्धपछि बेलायत सरकारको सहयोगमा बनेको हो।
घाइते सैनिकको उपचारनिम्ति बनाइएको यो अस्पताल त्यतिबेला दक्षिण एसियाकै उत्कृष्ट सैनिक अस्पतालमध्ये मानिन्छ।
यो भवन निर्माण सुरूदेखि विवादमा थियो। पुरानो भवन भएकाले कतिले भत्काउन नहुने तर्क गरेका थिए। १०० वर्षभन्दा पुरानो भए मात्र भत्काउन वा पुनर्निर्माण गर्न पुरातत्व विभागको अनुमति लिनुपर्ने नियम छ। तर सेनाले भने यो भवन सिफारिस नलिकनै भत्काएको हो।
नयाँ भवनमा पनि पूरै अस्पताल नबनाई व्यापारिक प्रयोजननिम्ति भाडामा दिने भएपछि थप विवाद उठेको थियो।
यो पनि,
त्रिचन्द्र सैनिक अस्पतालको नयाँ भवन वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिँदै सेना