'तपाईं दार्जिलिङको मान्छे, नेपाली युवकसँग कसरी प्रेम विवाह भयो?'
'लामो कथा छ,' रत्ना दार्जिलिङबाट काठमाडौंसम्म तन्किएको जीवनकथा सुनाउन थालिन्।
रत्ना लामिछाने (राई) ८५ वर्ष पुगिन्। उनको जन्म १९९० साउन २५ गते भयो। दार्जिलिङमा। उतै हुर्किन्। पढिन्।
२००७ सालतिरको कुरा हो। काठमाडौंमा प्रवासी नेपाली विद्यार्थी सम्मेलन हुने भयो। रत्ना १० कक्षा पढ्दै थिइन्। स्कुलका कार्यक्रम र पत्रपत्रिकामा सक्रिय थिइन्। उनलाई पनि सम्मेलनमा सामेल गरियो।
राजा त्रिभुवनले सम्मेलनका सहभागीलाई लिन पटनासम्म डकोटा जहाज पठाइदिएका थिए।
रत्ना त्यही जहाजमा काठमाडौं आइन्। अखिल नेपाल विद्यार्थी संगठनले आयोजना गरेको सम्मेलनमा सहभागी भइन्। त्यो पहिलो भ्रमणमै उनलाई काठमाडौं एकदमै मनपर्यो। उनका दिदी-भिनाजु यतै थिए। काका नारदमुनि थुलुङ स्वास्थ्यमन्त्री थिए। उनी काकाको घरमा बस्न थालिन्।
त्यही क्रममा यस्तो मोड आयो, जसले रत्नालाई सधैंको निम्ति नेपालको बनायो।
उनको काकाकहाँ पत्रकारहरू आइरहन्थे। अन्तर्वार्ता लिन। एकदिन काकासँग बनारसमा सँगै बसेका साथी हरिचन्द्र श्रीवास्तव आए। उनी प्रेस ट्रस्ट अफ इन्डियामा काम गर्दा रहेछन्। त्यस दिन श्रीवास्तवसँग अर्का एक जना पनि थिए- निबन्धकार तथा लेखक शंकर लामिछाने।
'उहाँ (शंकर) सँग त्यो मेरो पहिलो भेट थियो,' रत्नाले भनिन्, 'काका ताहाचलमा बस्नुहुन्थ्यो। उहाँको परिवार त्यहीँ पल्लोपट्टि बस्नुहुँदो रहेछ। हामीकहाँ ब्याडमिन्टन कोर्ट थियो। उहाँ खेल्न आउनु हुँमन्थ्यो। म पनि अलिअलि खेल्थेँ। चिनजान बाक्लिँदै गयो।'
'पहिले छिमेकी, त्यसपछि चिनजान हुँदाहुँदै लभ पर्यो भन्नुपर्यो,' रत्नाले मुस्काउँदै जवाफ दिइन्।
रत्ना र शंकरले २००९ सालमा बिहे गरे।
रत्ना दार्जिलिङकी राई, शंकर काठमाडौंको बाहुन। बाहुनले 'बेजात' मानिनेसँग बिहे गरे 'जात काढ्ने' चलन अहिले त छ भने त्यो बेला कस्तो होला? आजभन्दा ६६ वर्ष अगाडिको समाजले अन्तर्जातीय सम्बन्धलाई कसरी लियो होला? जनजाति समाजको स्वतन्त्र परिवेशमा हुर्केबढेकी रत्नालाई त्यति बेलाको 'बाहुन परिवार' मा स्थापित हुन कति सहज/असहज भयो होला?
मेरा मनमा अनेकौं प्रश्न सल्बलाए।
रत्ना मेरा प्रश्नको फेर समातेर विगततिर फर्कंदै गइन्।
त्यो बेलाको 'बाहुन समाज' का अधिकांश महिला साताको कुनै दिन वा बार निराहार व्रत बस्थे। बिहान उठेर नुहाइधुवाई गरेपछि 'चरणामृत' (लोग्नेको दाहिने गोडाको बूढी औंला पखालेको पानी) खानैपर्थ्यो। मुखमा चरणामृत नपरेको दिन एक थोपा पानी हाल्दैनथे। निहुँ खोजेर चरणामृत नदिई श्रीमतीलाई भोकै राख्ने श्रीमान समाजमा भेटिन्थे।
रत्ना यी सबै रीतिथितिबाट अञ्जान थिइन्। तै उनको प्रेमलाई त्यस्ता अड्चनले छेकेनन्।
'हृदयले आफ्नो प्रेमीको माया पोल्टाभरि पोको पार्न पाउँदा गेगरले भरिएको बाटोमा पाइला चाल्न सहजै अग्रसर भएँ,' उनले भनिन्, 'तातो बालुवामा नाङ्गा पैतालाले टेक्न अन्यथा मानिनँ।'
'समाजले सजिलै लियो त तपाईंहरूको बिहेलाई?' म जिज्ञासु भएँ।
'सजिलो त कहाँ हुनु। अति गाह्रो भयो। तै मेरो काका मन्त्री भएको मन्त्रालयमै मेरा काकाससुरा सेक्सन अफिसर हुनुहुन्थ्यो। त्यो चिनजानले बिहे चाहिँ राम्ररी नै भयो,' उनले जवाफ दिइन्।
'घरमा जातपातको कुरा उठेन?'
'म त्यतिबेला १७/१८ वर्षकी थिएँ। धेरै कुरा याद पनि छैन अहिले। तर मलाई नराम्रो लागेको क्षण याद छ। म जेठी बुहारी थिएँ। माइलो देवरले बिहे गरेपछि देउरानीलाई भान्छामा माथि राखेर मलाई तल राखियो। साह्रै चित्त दुखेको थियो। त्यही बेला मलाई मेरो संस्कार बेग्लै रहेछ भन्ने अनुभूति भयो।'
नमिठा सम्झनाले रत्ना अलि भावुक भइन्।
घरमा भात पकाउन 'भान्छे बाहुन' थिए। उनले भान्छा उक्लिनु पर्थेन। जब घरमा आफ्नै जातकी बुहारी भित्रिइन्, तब भने उनलाई भान्छा नउकालेको महशुस भयो।
अर्को नमज्जा महिनावारी बेला हुन्थ्यो।
काठमाडौंको बाहुन परिवारमा रजस्वाला हुँदाको छुवाछुत कडा थियो। कोठाको कुनामा अलग्गै ओछ्यान लगाउनुपर्थ्यो। रजस्वाला हुँदा पढ्न हुँदैन भन्थे। उनी लुकेर पढ्थिन्। कट्टर नियमले रत्नालाई साह्रै उकुसमुकुस भयो। उनी जन्मे-हुर्केको राई समाजमा त्यस्तो चलन छैन। पछि मन बुझाउन आफैंले तर्क निकालिन्- 'ठीकै छ, चार दिन भए पनि आरामले बस्न पाइने भयो। गाग्रीमा पानी उचाल्नु परेन।'
श्रीमानसँग उनको सहमति पनि भयो- अरूको अगाडि एकअर्कालाई नछुने तर एक्लैमा नबार्ने।
रत्ना आफूलाई चित्त नबुझेको कुरामा श्रीमानसँग गुनासो गर्थिन्, 'देउरानीलाई भान्सामा माथि राखे, मलाई तल।'
शंकर सम्झाउँथे, 'हेर रत्ना, हामीले समाज एकैचोटि परिवर्तन गर्न सक्दैनौं। संस्कार झट्ट बदलिन सक्दैन। तिम्रो लागि म झगडा गर्न पनि सक्दिनँ। त्यसो गर्दा घरमा अशान्ति हुन्छ। त्यसैले कि तिमी उनीभन्दा अगाडि खान जानु कि पछाडि। मेरो कमाइ राम्रो होस् या तिमीले जागिर खान थालेपछि घरबाट छुट्टिएर बसौंला।'
'उहाँ लेखक भएकाले प्रगतिशील विचार थियो! उहाँको विचार र सहयोगले मलाई सहज भयो। अरु सबैलाई यस्तो सहज हुन्छ र?'
उहाँ कसरी त्यस्तो हुनु भयो होला?
'उहाँ बनारस पढ्नुभएको, त्यसैले होला!'
अरु पनि पढेका छन् त बनारसमा? सबै त्यस्ता त नहोलान्?
'हो, बनारस पढेर मात्रै हुने होइन। उहाँ धेरै खाले किताब पढ्नुहुन्थ्यो। उहाँको विचार उदार थियो।'
अनि तपाईं?
'मलाई त पछि पढ्न मन लागेन। २०१०/११ सालतिर एसएलसी परीक्षा थियो। आफ्नो बच्चा जन्मिने बेला भएको। यति ठूलो पेट लिएर जाँच दिन जान्नँ, लाज लाग्छ भनेँ। उहाँले सम्झाउँदै 'हैन रत्ना, हाम्रो घरमा पढेको पहिलो महिला तिमी नै हौ, पढाइ पूरा गर्नुपर्छ' भन्नुभयो। हुन त, उहाँकी आमा पनि पढेलेखेको नै हुनुहुन्थ्यो। सायद मलाई हौस्याउन भन्नुभएको होला।'
ती मीठा पल ताजा बनाउँदै रत्नाले थपिन्, 'पढेकै छैन, पास हुन्नँ भन्दा पनि उहाँले 'जस्तो हुन्छ त्यस्तै देऊ, यो वर्ष भएन भने अर्को वर्ष दिने' भनेर सम्झाउनुभयो। जाँच दिन आफैंले जीपमा दरबार हाईस्कुलसम्म पुर्याउन र लिन जानुभयो।'
शंकर लामिछाने पछि भारतीय पुस्तकालयमा काम गर्न थाले। बेलाबेला पार्टीहरुमा रत्नालाई सँगै लिएर जान्थे। रजस्वला हुँदा सँगै हिँड्न हुन्न भनिन्थ्यो। शंकर भने 'मैले त श्रीमती लिएर जानै पर्छ, नत्र मलाई नराम्रो हुन्छ' भन्दै अड्डी कस्थे।
महिलामाथि घरभित्र कस्तो व्यवहार हुन्थ्यो?
'जतिसुकै भोक लागोस्, खाना खान कुर्नै पर्थ्यो। घरको सबै मान्छेले नखाई बुहारीहरूले खान पाउँदैनथे। कमाउनेका लागि मसिनो चामलको भात पाक्थ्यो। नकमाउनेका लागि तौली चामलको। हामी बुहारी र घरका नोकरचाकरको भात उही चामलको हुन्थ्यो। बच्चालाई चाहिँ मार्सी चामलको भात हुन्थ्यो।'
तौली भनेको?
'तौली चामल सेलाएपछि साह्रै अररो हुन्छ। हामीले खाने बेला सधैं त्यस्तै पर्थ्यो। सबैले खाइनसकी खान नपाउने। काकाससुरा तास खेल्न जानु हुन्थ्यो। राति आठ-नौ बजे आउनु हुन्थ्यो। त्यो बेला ८-९ बजे भनेको अहिलेजस्तो होइन। रातै मानिन्थ्यो। हामीले दिउँसो खाजा पनि खाएका हुन्नथ्यौं। खाना दाउरामा पकाइन्थ्यो। जाडो महिनामा फेरि झट्ट तताएर खान नपाइने। अररो भात खान पर्दा दिक्क लाग्थ्यो। अनि मेरा श्रीमानले छाडेको पुरा पनि मैले खाने बेलासम्म झिँगासिँगा बसिसकेको हुन्थ्यो। कसरी खाने! त्यही भएर बिहे नभएका नन्दहरुलाई पहिले नानीहरु खानुस्, म पछि खान्छु भन्थेँ।'
मसिनो खाने को त?
'कमाइ गर्नेहरू- काकाससुरा, मेरा श्रीमान, देवरहरू।'
उनका अनुसार श्रीमानले खाइसकेपछि थालमा अलिकति भात छाड्ने चलन थियो। थालमा भात रहेन भने थपेर भए पनि एक गाँस छाड्ने गरिन्थ्यो। त्यसैलाई 'पुरा' भनिन्थ्यो।
'तपाईंलाई थाहा छ होला नि, माया गर्ने श्रीमानले पुरा छाडिदिन्थे,' उनले भनिन्, 'श्रीमतीले पनि मिठो खाओस् भनेर पुरा छाड्ने हो। '
मायाले नै छाडेको होला त?
'मलाई त्यस्तै लाग्छ। माया नगर्नेले त खपाखप खाँदा हुन् नि। मेरा देवरले पनि छोड्नुहुन्थ्यो। श्रीमतीले त्यो खानैपर्छ भन्ने पनि थिएन।'
दार्जिलिङमा छँदा रत्ना उसिना चामलको भात खान्थिन्। कमाइ गर्ने र नगर्नेबीच चामलको भेद थिएन। यता त्यो भेद भोग्दा पनि उनलाई दिक्क भने कहिल्यै लागेन। कस्तो ठाउँमा आएर बिहे गरेछु जस्तो कहिल्यै भएन।
किन? प्रेम विवाह भएर?
'होला कि।'
उनलाई सबभन्दा खुसी जेठो छोरा दीप जन्मिँदा भयो। भन्दै गइन्, 'व्यथा लागेपछि घरमा सुँडेनी बोलाइयो। एकापट्टि फुपू सासूले तेल लगाइदिने, उतापट्टि हम्की दिने गर्दै थिए। सुँडेनी आएर तेल लगाई विस्तारै बच्चा तानेर झिकिन्। छोरा जन्मियो। तागतिलो खुवाउनुपर्छ भन्दै अन्डा, काँडा पानी बनाउन थाले। त्यो त पहिल्यै खानुपर्थ्यो। पाइएन। तर पनि घरमा धेरै स्याहार पाएँ। अस्पतालमा कसले गर्छ त्यस्तो? अस्पताल हाइजेनिक होला ! तर त्यसरी स्याहार पुर्याउँदैनन्। यस्तो बेला घर परिवारको माया र साथ चाहिन्छ।'
चार वर्ष संयुक्त परिवारमा बसेपछि उनीहरू अलग्गै बस्न थाले। छोरी जन्मिइन्। रत्नालाई पोषण नपुगेर शंकरले क्याल्सियम किनेर ल्याइदिए।
'उहाँको प्रगाढ प्रेम पाएर म खुसी थिएँ,' रत्नाले भनिन्।
यो अवस्था सधैं रहेन।
एकदिन रत्ना र शंकरको जोडी छुट्टियो।
शंकर लामिछानेको जीवनमा अर्की महिलाको प्रवेश भयो। रत्ना एक छोरा र एक छोरी लिएर अलग्गै बस्न थालिन्।
माया, प्रेम, स्नेह र सद्भावका साथ चलिरहेको जीवनमा कसरी त्यस्तो मोड आयो?
रत्नाले जीवनका ती तीता यादलाई यसरी व्याख्या गरिन्, 'हरेकको जीवनमा मोड आउँछ। मेरो पनि गल्ती थियो होला। उहाँको पनि थियो होला। म भन्न सक्दिनँ अहिले। जहाँसम्म हामी थियौं, खुसी थियौं। उहाँ एकदमै राम्रो मान्छे हो। म ४० वर्ष पनि नपुग्दै श्रीमानसँग छुट्टिएर बस्नु पर्यो। त्यसपछिका कति कुरामा उहाँकै सहयोगले मलाई संघर्ष गर्न आँट आयो। एक्लो संघर्ष भए पनि उहाँको पहिलेको साथले मद्दत पुग्यो।'
श्रीमानसँग छुट्टिएपछि रत्ना कामको खोजीमा लागिन्।
एकदिन गोरखापत्रमा एउटा विज्ञापन देखिन्। बालग्राम नामक संस्थाको। बालग्रामको कार्यालय बेलायत र स्विट्जरल्यान्डमा थियो। त्यसले दोस्रो विश्वयुद्धमा अनाथ भएका युरोपका बालबालिका ल्याएर राख्थ्यो। ती बच्चा हुर्केपछि ठाउँ खाली भयो। त्यसपछि उनीहरूले बाहिरी देशका, विशेषगरी गरिब मुलुकका बच्चालाई शिक्षा दिने, क्षमता विकास गर्ने र फेरि आफ्नै देश पठाउने काम गर्न थाल्यो। नेपालमा बाल मन्दिरले त्यसको अग्रसरता लिएको थियो। त्यसैमा जागिरको विज्ञापन थियो।
रत्नाले अन्तर्वार्ता दिइन्। नाम निस्कियो। यसमा पनि उनी श्रीमानलाई नै जस दिन्छिन्।
पढ्न मन नगरेको बेला पनि कर लगाउने आफ्ना प्रेमी श्रीमानको सहयोग एक्लिएको जीवन जिउने सहारा बनेको उनी बताउँछिन्।
उनले ६ वर्ष त्यहीँ काम गरिन्।
म उनको मनका भाव पढिरहेकी थिएँ। मेरा कानमा ध्रुव केसीले गाएको गोपाल योञ्जनको पंक्ति गुञ्जिन थाले:
'... मायाको गुँड मुटुको गहिराइभित्र हुन्छ
त्यो लिन गाह्रो हुन्छ, दिन पनि गाह्रो हुन्छ
सोचेर माया लेऊ सम्झेर माया देऊ
एकपल्ट साटेपछि फर्काउन गाह्रो हुन्छ
माया सधैँ नै चोखो, सत्य र अमर हुन्छ
बरु कोही मायालु नै जुठो र झूटो हुन्छ
मायालुहरू मरेर मर्दैन मायाहरू
लासमाथि पनि माया बाँचिरहेकै हुन्छ....'
मेरो मनले अनुभूत गर्यो- रत्नाले जीवनको २० वर्ष मात्रै आफ्ना मायालुसँग बिताए पनि उनको हृदयमा शंकरको मायाले 'गुँड' बनाएको छ। त्यो गुँड कहिल्यै भत्कने छैन। भत्काइने छैन।
'पछि मैले दुःख गर्नुपरे पनि मेरो आधा व्यक्तित्व बनाउनमा उहाँकै हात छ,' उनले भनिन्।
उहाँ छुट्टिएर जाँदा दुःख लागेन?
'कसलाई दुःख लाग्दैन र!'
अनि के थाहै नपाई?
'थाहा पाएर नै हो। उहाँले मलाई भन्नै सक्नुभएन। हो? भनेर सोध्दा, मलाई समय देऊ भन्नुभयो, तर समय सायद लिनुभएन।'
'एक्स्ट्राम्यारिटल रिलेसन?'
'हो।'
यस्तो हुनुमा खास के कारण हुन्छ होला?
'धेरै हुन सक्छ। श्रीमती, श्रीमान दुवैको गल्ती र दोष हुन सक्छ। दुई जनाबीच असमझदारी भइरहेको हुनसक्छ। यी सबै सहज बनाउन नसक्दा समस्या आउँछ। फेरि अर्काको मात्रै गल्ती देख्ने बानी हामीमा छ। विकसित देशमा यस्ता समस्यानिम्ति परामर्श सेवा उपलब्ध हुन्छ। हामीलाई भने कसैले केही सही कुरा गर्यो भने मन पर्दैन। अनि आफ्ना गल्ती देख्दैनौं। दोहोर्याइरहन्छौं। अरुले भनेको पनि सुन्दैनौं। यस्तो बानीले एकअर्काप्रति मन भाग्दै जान्छ होला।'
रत्नाका अनुसार छुट्टै बस्न थालेपछि पनि शंकर घरमा आइरहन्थे। बच्चाहरुलाई भेट्थे। रत्नाले उनलाई घरमा स्वागत गरिन् तर सँगै बसिनन्।
'त्यो हुनै नसक्ने कुरा हो। एक श्रीमानका दुइटी श्रीमती सँगै बस्ने कुरा मिल्दैन। ऊ पनि दु:खी हुन्छिन्, म पनि। मैले मलाई मेरो तरिकाले जीवन चलाउन दिनू, तपाईंहरू आफ्नो तरिकाले चलाउनू। सक्ने भए आर्थिक सहयोग गर्नू, नसके म आफैं गर्छु भनेँ।'
तपाईंको र शंकरकी अर्की श्रीमतीसँग कस्तो सम्बन्ध थियो?
'राम्रो पनि भन्दिनँ, नराम्रो पनि भन्दिनँ। किनकि, गाह्रो हुन्छ त्यो! उसलाई दोष पनि दिन्नँ। दोष कसैको होइन।'
'अन्त्यमा, केही भन्न मन लागेको छ कि?' मैले प्रश्न राखेँ।
'म ८५ वर्ष पुगिसकेँ। बितेका कुरामा केही पछुतो छैन। विगतले मलाई धेरै कुरा सिकायो। सिक्न अलिकति दुःख भोग्नै पर्छ। अहिले मलाई तिम्रो के इच्छा छ भनेर सोध्यो भने भन्छु म मर्न तयार छु। मैले सबै लेखी पनि सकेको छु। म अरुको निम्ति भार भएर बस्न नपरोस्। त्यो पनि हाम्रो हातमा त छैन। वर्तमान सदुपयोग गर्न सक्नुपर्छ। खुसी केबाट प्राप्त हुन्छ त्यो बुझ्नु पर्यो। पैसा, गहना र लुगाले पक्कै दिँदैन। अरुलाई दिन सकियो भने बल्ल खुसी प्राप्त हुन्छ। मलाई अरुलाई दिन मन पर्छ। मेरो धर्म हो जस्तो लाग्छ,' उनले भनिन्।
'हाम्रो संस्कारअनुसार पशुपति जान्छु। गणेशलाई पनि ढोग्छु। तर विश्वास गर्दिनँ। म व्रत पनि बस्छु। यसको कारण एक दिन खाएन भने स्वास्थ्य राम्रो हुन्छ। लाखबत्ती बाल्दैमा धर्म हुँदैन। म मर्दा कसैले पनि काजकिरिया गर्नु पर्दैन। मलाई जे गर्नु छ जिउँदै गर्न पर्यो। माया पनि जिउँदो हुँदा गर्न पर्यो। एक गिलास पानी पनि माया गरेर दिन पर्यो। मरेपछि गर्ने कुरामा म विश्वास गर्दिनँ। पैसा बरु राम्रो कर्ममा देऊ भन्ने हो। यसैगरी मेरो जीवन चलेको छ।'
उनी आफ्ना श्रीमान शंकर लामिछानेको श्राद्ध पण्डित बोलाएर गर्दिनन्। वृद्धाश्रम गएर उनीहरुलाई खुवाउँछिन्।
भन्छिन्, 'मेरो मन यसैमा रमाउँछ।'
रत्नाकी छोरी अमेरिकामा छिन्, छोरा नेपालमा। रत्ना भाटभटेनीमा एक्लै बस्छिन्। कहिलेकाहीँ छोरी र नातिनातिना भेट्न अमेरिका जान्छिन्।