नाम: कृष्णकुमारी घिमिरे
स्थायी वासस्थान: धुम्बाराही
उमेर: आगामी भदौमा ९५ वर्ष
कृष्णकुमारी घिमिरेसँग यो पंक्तिकारले पछिल्लोपटक भेट्दा, उनी धेरैपछि आफ्नो फैलिएको परिवारको एक महिला सदस्यसँग भेट्दै थिइन्। ती महिला करिब ४२ वर्षदेखि बेलायतमा बस्छिन्। उनको पहिलो सन्तान नै ४० वर्षकी भइसकिन्।
उनी कृष्णकुमारीकी जेठी छोरीकी भाञ्जी थिइन्।
उनको पहिलो प्रश्न थियो, 'नानीको कति जना छोराछोरी?'
'तीन जना छोरीहरू हजुर!'
'छोरा छैनन्?'
'छैनन्, नातिनी र नाति भइसके!'
सामान्य भलाकुसारीपछि ती महिला फर्किइन्।
जनातिसमेत भइसकेकी जिजू-हजुरआमा कृष्णकुमारीको मुखबाट सहानुभूतिका शब्द निस्किए, '... को छोरा नै रहेनछन्, मलाई था'थिएन!'
कृष्णकुमारीका ६ सन्तानमध्ये ४ छोरा, २ छोरी। नातिनातिना १३ जना। सबै आ-आफ्नो क्षेत्रमा सफल र स्थापित जीवन बिताइरहेका।
उनका दुई छोरी पनि शिक्षा र स्वास्थ्य क्षेत्रका हस्ती छन्। तै कृष्णकुमारीको 'छोरा मोह' हराएको छैन। न घटेकै छ।
उनकी ७ वर्षकी पनातिनी छिन्, कश्वी घिमिरे। उनीसँग हुरुक्कै हुन्छिन्। बाबुको हजुरआमालाई आफ्नी हजुरआमा वा कसैले कपाल कोरिदिन लागेको देखे दुगुर्दै पुग्छिन्। उनले भान्सामा पाइला राखे ढलेको लोटाधरि नउठाऊन् भन्ने चाहना राख्छिन्।
एकपटक ती बच्चीले भान्साबाट जुरुक्कै बोकेर कोठामा ल्याइन् रे! उनले हाँस्दै सुनाएकी, त्यति बेला ती सानी केटी मुश्किलले ६ वर्ष थिइन् रे!
कृष्णकुमारीको शारीरिक बनावट त्यति ठूलो छैन। एकमुठ्ठीकी देखिन्छिन्। उनलाई बोक्नसक्नु ठूलो कुरा होइन। ती सानी पनातिनीको प्रेमभाव अमूल्य वरदान हो। तै ती पनातिनीको एउटा 'भाइ' भइदिए हुन्थ्यो भन्ने उनको इच्छा कहिलेकाहीँ अनायसै निस्कन्छ।
छोराको महिमा कतिसम्म छ भने, मरेपछि लास सद्गत गर्न लैजाँदा चार छोराले चार हातखुट्टा समाऊन् र छोरापट्टिको जेठो नातिले टाउको उचालेर लगोस् भनेर बारम्बार सुनाएकी छन्।
परिवार एक्लिएको अहिलेको समाजमा जेष्ठ नागरिकहरू एक्ल्याइएका छन्। त्यस्तो परिवेशमा कृष्णकुमारीको सन्तानको तारिफ जति गरे पनि पुग्दैन।
उनी साहिँलो छोराको परिवारसँग बस्छिन्। साहिँलो छोराले आमाको स्याहार गरेको देख्दा 'आधुनिक श्रवणकुमार' भनिदिए फरक पर्दैन। आफ्नी आमाको हरेक आवश्यकता पूरा गर्ने त सामान्य भइहाल्यो; सुत्ने बेला गोडा माडेर तेल दलिदिनु ती छोराको दैनिकीमा पर्छ।
आमाको कान सुन्ने क्षमता घट्दै गएपछि साहिँला छोराले कानमा बदामको तेला हालिदिन थालेछन्। कृष्णकुमारी भेट भएका जतिलाई गर्वले सुनाउँछिन्, 'मोहन (साहिँला छोरा) ले गरेर कान सुन्न थालेकी छु। उसले सधैं, बिहान-बेलुकी कानमा तेल हालिदिन्छ। म फोनको घन्टी र मोटरको हरन सुन्न सक्ने भएकी छु।'
साहिँला छोराले कानमा लगाउन 'हेयरिङ एड' पनि ल्याइदिएका छन्। उनले अप्ठ्यारो भएर लगाउन मानिनन्।
जीवनमा ९५ वर्षको अनुभव सँगालेकी कृष्णकुमारीसँग पुराना इतिहास खोतल्ने जमर्को गर्दा एउटा रमाइलो वार्ता तयार भयो। यसले अरूलाई पनि पुराना सम्झना ताजा होला भनेर जस्ताको तस्तै राख्दैछु।
'आमालाई आफ्नो विवाह भएको याद छ?'
'छ नि, किन नहुनु ! १२ वर्षकी थिएँ। बाबा १८ वर्षको हुनुहुन्थ्यो।'
बाबा अर्थात् उनका पति कविरत्न कृष्णप्रसाद शर्मा घिमिरे, जसलाई उनका छोराछोरीले 'बाबा' भन्थे। उनले पनि त्यसैगरी सम्बोधन गरिन्।
विवाहको कुराले उनलाई शैशवकालमा पुर्याउँदै थियो। त्यो सम्झनाका दृश्यमा सक्दो ऊर्जा थप्दै सुनाइन्, 'मेरो बिहेमा जुद्धशमशेर महाराजको हुन्डरी (कानुन भन्न खोजेको होला!) चलेको थियो। धेरै तडकभडक गर्न पाइन्न थियो। गौनको धोती लगाएर, डम्बरकुमारीको खास्टोले घम्लङ्ग छोपेर पिठ्युँमा बोकेर दुलाहाको घर लगे। बिहेमा पाँच जोर लुगा र एउटा ट्यामट्याम बाजा मात्रै थियो।'
उनको जन्म विक्रम सम्बत १९८१ भदौमा भएको हो। काठमाडौं, गौशालामा। उनलाई बुबाले दिएका नाम कृष्णकुमारी र थर ढकाल। विवाहपछिको थर, घिमिरे। उनको पतिको वासस्थान त्यतिबेला काठमाडौंकै गैह्रीधारामा थियो। त्यहाँ अहिले पनि उनका माइला छोरा सपरिवार बस्छन्। घर भने त्यही होइन।
गैह्रीधारासँग कृष्णकुमारीका धेरै याद जोडिएका छन्। उनी साहिँलो छोरासँग गोपिकृष्ण हलनजिकै बस्छिन् तर गैह्रीधाराले उनको जीवनका झन्डै ५० वसन्तको साथ पाएको छ। उनीसँगको कुराकानीमा त्यही क्षेत्रका याद कसिलो गरी टाँसिएका छन्।
'पद्म शमशेरको दरबारमा लुगा किन्न टिकट दिन्थे। त्यो भयो भने लुगा सस्तोमा किन्न पाइन्थ्यो। हामी लाइन लागेर टिकट लिन जान्थ्यौं,' उनी भन्छिन्, 'हाम्रा पालामा तिमीहरूको जस्तो कहाँ हुन्थ्यो र! माइतीमा पर सर्यो (रजस्वाला) भने नराम्रो भन्थे। म पनि घरमै भएकी हुँ, १३ वर्षकी थिएँ, १२ दिन कोठामा थुनेर राखे। ससुरा नारायणहिटी दरबारमा पण्डित हुनुहुन्थ्यो। उहाँले दरबारको पूजा सिध्याएर नआई बिहानको खाना खान पाइन्नथ्यो। हामीले खाने बेला दिउँसोको दुई बज्थ्यो।'
'तपाईंहरूका पालामा स्वास्नीमान्छेको जिन्दगी सजिलोसँग चल्थ्यो होला हैन?'
'कहाँ सजिलो हुन्थ्यो र! हामीले पढ्न पाएनम्! कसैसित बोल्यो भने 'नकच्चरी' भन्थे! लुगा पनि वर्षको एकपटक मात्रै दिन्थे। तीन वर्षमा एउटा 'खेस' को पटुका दिन्थे। 'खापी' को धोती हुन्थ्यो। कमलपोखरीमा 'वशिष्ठ' भन्नेकहाँ छिप्न दिन्थ्यौं र लगाउँथ्यौं।'
उनले भनेअनुसार 'खापी' सेतो रङको हुन्थ्यो। त्यसलाई 'छिपेर' (रंगाएर) रंगीन धोती लगाइन्थ्यो।
उतिबेला बुहारीले पाउने बुहार्तनबारे कुरा गर्दा उनको अनुहारले अहिले पनि थकानको झझल्को दिएझैं लाग्छ।
'कहाँ र नानी, तिमीहरूको पालाजस्तो हो र! दिनको १५ चोटि त ससुराका लागि तमाखुको चिलिम भर्नुपर्थ्यो,' उनी भन्छिन्, 'तमाखु सल्काउन कम्ता गाह्रो हुन्थ्यो? फेरि नसल्काइ लग्दा ससुराज्यू रिसाउने डर बेग्लै!'
उहिले 'तम्बाकू' को चलन धेरै थियो। एकखालको बिरुवाको डाँठ मसिनो गरी काटेर केही चिल्लो/लेसिलो पदार्थमा मोलेर असनतिरका पसलमा बेचिन्थ्यो। त्यसको सानो मात्रा हुक्काको माथिल्लो भागमा राखिएको चिलिममा डढाइन्थ्यो। हुक्कामा जोडिएको नलीले धुवाँ तानेर तम्बाकूको स्वाद लिइन्थ्यो। त्यसका लागि पहिले त गोल सल्काउनपर्थ्यो। सायद, त्यसैले यो झन्झटिलो थियो।
'हाम्रो पालामा स्वास्नीमान्छेले कपालसमेत छाड्न हुन्नथ्यो,' उनी सम्झिन्छिन्, 'पशुपतिनाथ जाँदा एउटा स्वास्नीमान्छेले कपाल छाडेको देखेर ज्ञानेश्वरको चौतारियाको घरमा बसेको बाहुनले सबैलाई सुनाएर गर्नुसम्म गाली गरे नि!'
त्यो समयमा महिलाले कपाल छाडेर हिँड्दा वा काट्दा 'अलच्छिन' लाग्छ भन्ने चलन थियो। यो आजभन्दा ३५/३६ वर्ष अगाडिसम्म सुनिन्थ्यो। विवाहित महिलाले विधवा भएपछि मात्र कपाल काट्थे। त्यो पनि सकेदेखि काशी वा कुनै तीर्थ गएर चढाउँथे।
'कालो भाँडा स्वाँइ स्वाँइ मस्काउन पर्थ्यो। काम राम्ररी नगरे जेठानीहरूले पिट्थे! आफ्नो सासू, 'बाबा' ८ वर्षको हुँदा मरिसक्नु भएको थियो। सौतेनी सासू हुनुहुन्थ्यो,' उनी विगतका स्मृतिमा फर्किन्छिन्, 'सुत्केरी भएर न्वारन सिद्धिएपछि माइत गइन्थ्यो। आउँदा कोसेली बोकेर आउनुपर्थ्यो।'
उनले पहिलो सन्तान आफू १५ वर्षको हुँदा जन्माएकी थिइन्। पहिलो छोरा बाँच्न सफल भएनन्। अर्की एक छोरी पनि बाँचिनन्। उनले जन्माएका आठ सन्तानमध्ये ६ जना जीवित छन्। तीमध्ये २ छोरी र ४ छोरा तथा ती सन्तानबाट ३ जनातिसमेत भइसकेका छन्।
बितेका सन्तान आमाको कोखका घाउ हुन्। घाउमा खाटा लागेको देखिए पनि बेलाबखत त्यो खाटा उप्किन सक्छ भन्ने सिद्धान्त उनमा पनि लागू हुन्छ। २००४ सालमा बितेकी छोरी सम्झिँदा उनका गह अझै भरिन्छन्। रुन्चे स्वरमा आमाको माया पोख्छिन्, 'त्यो छोरी साह्रै राम्री थिई बा! नहुने रैछ, धपक्क बलेकीजस्ती राम्री थिई!'
उनका पालामा छोरीको विवाहपछि पनि आमाहरू बच्चा पाउँदै हुन्थे। उनको पनि कान्छो छोराको उमेर जेठी छोरीका दुई छोरीभन्दा सानो छ। त्यसैलाई इङ्गित गर्दै मैले पनि स्वच्छन्द भएर प्रश्न गरेँ, 'छोरीले भन्दा पछि बच्चा पाउन लाज लाग्दैनथ्यो?'
उनलाई यो प्रश्न त्यति धेरै पचेन, तै जवाफ दिइन्, 'गौरीले (बहिनीको छोरी, जो सर्वोच्च अदालतका न्यायाधीश भएर अवकाश भएका थिए) न्वारनको दिन आएर गाली गरी! अब यस्तो कुरा नसोध!'
मैले उनको कुरा मानेर, यो सन्दर्भलाई यहीँ बिट मारेँ।
कृष्णकुमारीले राम्रा दिनहरू पनि थुप्रै देखेकी छन्। उनकै शब्दमा त्यस्तो कहिल्यै नबिर्सने दिन 'डकोटा पिलेन' चढेर गएको क्षण हो। बिक्रम सम्बत् २००८ को त्यो समय सर्वसाधारणले हवाइजहाज चढ्न पाउनु ठूलै कुरा मानिन्थ्यो। उनी जेठी छोरीको औषधि गर्न कलकत्ता जाँदै थिइन्। आमाको यादबाट 'पिलेन चढेको' याद मेटिएको छैन।
उनका अनुसार, त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए। मातृकाप्रसादसँग आफ्ना पतिको कुनै प्रकारको सम्बन्धले त्यो जहाज चढेर कलकत्ता पुग्ने सौभाग्य जुरेको थियो। कलकत्ता पुगेपछि उनीहरूलाई सूवर्णशमशेरको घरमा बस्न दिइयो। त्यो 'पिलेन चढाइ' उनका नबिर्सने दिनमध्ये एक भएर स्मृतिमा गाँसिएको छ।
उनले दंग पर्दै सुनाउने अर्को मनोरञ्जनको कुरा विश्वज्योति सिनेमा हलमा सित्तैमा सिनेमा हेर्न पाउने क्षण हो।
विश्वज्योति सिनेमा हलका मालिक गरिबनाथ हरेक दिन बिहान गैह्रीधारातिर स-साना बच्चालाई 'पिपि' (पिपरमेन्ट) बाँड्दै हिँड्थे। त्यही क्रममा उनको पनि चिनजान भएछ। गरिबनाथले उनलाई आफ्नो हलमा सिनेमा हेर्न आउने निम्तो दिएछन्। उनलाई एक्लै जान मन भएनछ। उनले गरिबनाथलाई अरु साथी पनि लग्न पाइन्छ? भनेर सोधिछन्। गरिबनाथले स्वीकृति दिएछन्। सिनेमा चलेको केही दिनपछि मात्रै जान पाइने रहेछ। उनी टोलका अरु महिलालाई समेत लिएर सित्तैमा सिनेमा हेर्न जान थालिछन्।
उनी खुसी, अरु महिला पनि खुसी!
उनी टोलका महिलाहरूको 'नेता' थिइन् भनेर चिन्नेहरु सुनाउँछन्। बिहानको खाना पकाएर घरधन्दा सिध्याएपछि महिलाहरू गैह्रीधाराको त्यो ढुंगेधारोमा धुने लुगा लिएर जान्थे। अहिले त्यो धारोमा पानी आउन्न। सहाराबिनाको बुढेसकालजस्तै भएको छ।
उनीहरू पहिला कपाल नुहाउँथे। कपाल जुन पायो त्यो दिन नुहाउन हुन्नथ्यो। बिहीबार, छोराको जन्मबार, श्रीमानको जन्मबार, औंसी लगायत दिनमा महिलालाई कपाल नुहाउन वर्जित थियो। बिहीबार र आइतबार त महिलाहरूले कपालसमेत कोर्न पाउँदैन थिए। ती बारमा कपाल कोर्दा अपसगुन हुन्छ भन्ने भनाइ थियो।
कपाल नुहाउन हुने बारमा महिलाहरू पहिले कपाल नुहाउँथे। चिसो कपाल निधारमाथि जुरो बनाउँथे। छातीमाथि पेटिकोट टम्म बाँधेर, टुक्रुक्क बस्दै दुई हातले लुगा मिच्न थाल्थे। उनीहरू हातले साबुन दल्दै लुगा धुन्थे भने मुखलाई एकछिन विश्राम नदिई टोलका हरेक घरको हालखबर दिन र लिन व्यस्त हुन्थे। त्यतिबेला अहिलेजस्तो फेसबुक र ट्विटर थिएन तर टोल र टोलियाको खबर त राख्नै पर्थ्यो।
कसको घरमा के पाकेको छ? कसको घरमा जूठो/सुतक परेको छ? कसलाई लोग्नेले ठटाउँछ? कसको बुहारीले माइतीबाट कति कोसेली ल्याई? यस्ता खबर थाहा पाउने सबैभन्दा ठूलो स्रोतकेन्द्र त्यही पँधेरो हुन्थ्यो। न हुलाक खर्च तिर्नुपर्थ्यो न त इन्टरनेटका लागि पैसा!
ती दिन कृष्णकुमारीका लागि रमाइला थिए। कपाल नुहाउन र लुगा धुन ढुंगेधारामा जम्मा नभएको दिन टोलका महिला उनकै वासस्थानमा जम्मा हुन्थे। उनी ढुंग्रोले ठूइठूइ गर्दै आगो फुकेर दाउरामा पकाएको चियाले सबैको स्वागत गर्थिन्।
उनले पकाएको कालो दाल र तारेको आलुको स्वाद जेठी छोरीका छोरीहरूको जिब्रोमा अझै टाँसिएको छ। अब त उनी भान्सामा गएर पकाउने काम गर्न सक्दिनन्। आँखा पनि धमिलो देख्छु भन्छिन्। उमेरले ९० को नेटो काटिसक्यो। तै भाँडा सफासँग नमाझ्लान् र पूजाभाँडा टलक्क नहोला भन्ने पीरले उनलाई अझै सताउँछ। छोरा, बुहारी, पनातिनीसमेतको आँखा छल्न पायो भने भाँडा माझ्ने ठाउँमा उभिएर निरीक्षण गर्न पुगिहाल्छिन्।
तीर्थयात्रा गरेर र लाखबत्ती बालेर उनट्ठ कहिल्यै अघाउन्नन। करिब डेढ वर्षअघि गैह्रीघारास्थित नील सरस्वतीस्थानमा लाखबत्ती बाल्नुको कारण बताउँदै भनेकी थिइन्, 'मैले दिउँसै झलझल गरेकी देवीलाई देखेँ, त्यसैले त्यहाँ लाखबत्ती बाल्न मनलाग्यो।'
लाखबत्ती बाल्दा होस् वा अरु पूजामा, छोराछोरीले उनले भनेकै रङको वस्त्र भगवानका लागि ठीक पारिदिनुपर्छ। होइन भने, पटक्कै चित्त बुझ्दैन।
उनका पति लेखक थिए। त्यसैले, छोराछोरीको जिम्मेवारी प्राय: उनकै पर्थ्यो। आर्थिक श्रोत त्यति बलियो थिएन।
त्यतिका छोराछोरी कसरी हुर्काउनुभयो त? भन्ने प्रश्नको उत्तर उनी सहजै दिन्छिन्, 'छर्छरी (छोराछोरी) हुर्काउन जसलाई नि गाह्रो हुन्छ नि। भगवानले जसरी दिए, त्यसरी नै हुर्काएँ!'
उनीसँगको कुराकानीले त्यतिबेलाको समाज र सामाजिक अवस्था मात्र होइन, महिलाहरूको दमित चाहना पनि ऐनाजस्तै छर्लङ्ग देखिन्छ। कहिलेकाहीँ आजका महिलाले भोग्नुपरेको मानसिक तनाव र दोहोरो/तेहरो जिम्मेवारीबारे घोत्लिँदा त उहिलेकै 'आमा'हरूको जीवन सहज र सरल थियो कि जस्तो लाग्ने!
मनमा यही उथलपुथल बोकेर उनलाई अन्तिम प्रश्न सोधेँ, 'तपाईंलाई त्यतिबेला या यतिबेला पनि केही गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्थ्यो त?'
'लाग्थ्यो नि! मैले पढ्न पाएको भए!' उनले भनिन्, 'मेरो बाले मलाई अलिअलि अक्षर चिनाउनु भएको थियो। म त्यतिमै उपन्यास पढ्थेँ, भानुभक्तको रामायण पढ्थेँ! त्यो भन्दा बढी पढ्न पाइनँ!'
उनीसँगको लामो वार्ता सकेर फर्कंदा, मेरो मनमा थुप्रै प्रश्नमध्ये एक यो पनि थियो, २०७४ भदौ महिनामा ९४ वर्ष पार गरेकी ती आमाको मनका वेदना, आकांक्षा र आजका महिलाका चाहनाबीच के कति अन्तर आएछन्?
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी