धरहराबाट बायाँ मोडिएर भोटेबहाल निस्कने गल्लीलाई बागदरबार मार्ग भनिन्छ। अमरसिंह थापाले निर्माण सुरु गरेको बागदरबार पहिले यो गल्लीसम्म फैलिएको थियो। अहिले यहाँ राणाकालीन दरबारको नामनिसान छैन। गल्लीको नाम भने उही छ।
यही गल्लीमा करिब १० मिटर अगाडि राधाकृष्णका दुइटा मन्दिर छन्। मन्दिरको ठ्याक्कै अगाडि सडकछेउ बाघ गुठी छ। कुनै समय यो गुठी सडककै तहमा थियो। विस्तारै सडक अग्लिँदै गयो, गुठी होचो हुँदै गयो। अचेल गुठीसम्म पुग्न सडकबाट केही खुड्किला ओर्लिनुपर्छ।
गुठीभित्र छिर्नेबित्तिकै चोक आउँछ। चोकमा तलेजु मन्दिर छ। दुईतले गुठीको पहिलो तलाका तीन ढोकामा कलात्मक आँखा बनाइएका छन्। यी आँखालाई यहाँको द्वारपाल मानिन्छ। तान्त्रिक एवं साधकहरूले कुदृष्टि रोकेर साधनामा लीन हुन यस्ता आँखा बनाउने गर्छन्।
यो कथा तिनै तीन ढोकामध्ये एउटाको हो, जुन अरूभन्दा फरक छ।
ढोकाको दायाँ–बायाँ मूर्ति कुँदिएका ढुँगाका सिलोट छन्। ढोकामा दुई आँखामुन्तिर एउटा खापामा ॐ र अर्कोमा स्वस्तिक चिह्न छ। ढोकाको माथिल्लो भागमा काठको स्तुप आकार बनाइएको छ। त्यसमा कलात्मक बुट्टा कुँदिएका छन्। टम्म खापा लागेका यो ढोका सधैं बन्द रहन्छ। बाहिर कुनै चुकुल छैन। भित्र छिर्ने अरू ठाउँ पनि छैन।
त्यही बन्द ढोकापछाडि लुकेको छ, दुई सय वर्षदेखिको बागदरबार इतिहास।
यो ढोकाबाट अन्तिमपटक दुई सय वर्षअघि राजकुमार उपेन्द्र वीरविक्रम शाह भित्र प्रवेश गरेको इतिहास छ। उनी तान्त्रिकसमेत हुन्।
तत्कालीन राजा सुरेन्द्र वीरविक्रमका दाजुभाइमध्ये उपेन्द्र माइला थिए। त्यसैले उनी ‘माइला साहेबज्यू’ का नामले परिचित थिए। उनलाई तत्कालीन राणा शासकहरूले राजालाई दरबारमा बन्धक बनाएको चित्त बुझेको थिएन। उनको एउटै उद्देश्य थियो– राणाशासन अन्त्य।
यसैका लागि उनले तन्त्रविद्याको सहारा लिएको भनाइ छ।
तन्त्रविद्या पाएका उपेन्द्रको शक्ति चर्चा दरबारभरि थियो। उनी आफ्नै छातीको मासु काटेर भगवानलाई चढाउँथे भनिन्थ्यो। काटिएको मासु भोलिपल्ट आफैं पलाउँथ्यो भन्ने पनि जनविश्वास थियो।
मान्छे भन्थे– उनी दियो बनेर उड्थे, एक ठाउँबाट अर्को ठाउँ अदृश्य भएर पुग्थे। देवीदेवतालाई ‘पासा’ खेल्न तलेजु भवानीको मन्दिरमा बोलाउँथे।।
उपेन्द्र आफ्ना तन्त्रविद्यालगायत सम्पूर्ण कार्यविधि यही कोठाभित्र गर्थे। त्यतिबेला यो बागदरबारकै परिसरमा पर्थ्यो।
दुई सय वर्षअघि एकदिन उनी सधैंझैं कोठाभित्र छिरेका थिए।
त्यसपछि कहिल्यै बाहिर निस्केनन्।
‘हामी बागदरबारमै माइला साहेबज्यूका यस्ता कथा सुन्दै हुर्कियौं। केटाकेटी बेला रहस्यमयी ढोकाभित्र के छ होला भनेर चिहाउँथ्यौं,’ उपेन्द्र शाह परिवारकी सगुना शाहले भनिन्, ‘भित्र केही देखिँदैन थियो। ढोकामा सानो प्वाल छ। त्यहाँबाट चिहाउँदा पनि केही देखिन्न।’
यो कोठासहितको गुठी संरक्षण ३० वर्षदेखि सूर्य राईले गर्दै आएका छन्। उनलाई ढोकाको रहस्यबारे धेरैले चासो राख्छन्। यो कोठामाथिको दोस्रो तल्लामा खोजतलास गर्दा केही तरबार र ढाल भेटिएका थिए। यहाँ भने ढोका भत्काएर हेर्ने हिम्मत नगरेको उनले बताए।
यस्ता ऐतिहासिक एवं रहस्यमयी ढोका भत्काएर उत्खनन गर्ने जिम्मा सरकारी निकायको हो। तर यसका गुठियार शाह परिवार भएकाले अनुमति नलिई भत्काउन नमिल्ने पुरातत्वका सूचना अधिकारी दामोदर गौतम बताउँछन्।
संरक्षक राईका अनुसार गुठीको कोठामात्र होइन, तलेजु भवानीको मन्दिर पनि विशेष छ। यो मन्दिर राजकुमार उपेन्द्रले नै प्रतिस्थापन गरेको जनविश्वास छ।
हनुमानढोकामा रहेको तलेजु भवानीलाई उपेन्द्रले तन्त्रविद्यामार्फत् हातमा बोकेर यहाँ स्थापना गरेको मानिन्छ। यो मन्दिर एकतले छ।
‘१९९० सालको भुइँचालोअघि मन्दिर तीनतले थियो। भुइँचालोमा भत्किएर एकतले भयो। त्यसपछि पुनर्निर्माण भएन,’ उनले भने।
मन्दिरमा चार सुरका देवता छन्। उत्तरमा गणेश, पूर्व र पश्चिममा भैरव र दक्षिणमा भगवती छन्। गुठीका आँखा भएका अन्य दुई कोठामा दक्षिणकाली र गणेश छन्।
राईका अनुसार मन्दिरका चार सुरका देवताको दैनिक पूजा हुन्छ। तलेजु मन्दिर भने दसैंको अष्टमीमा मात्र खुल्छ। त्यो दिन यहाँ दुइटा राँगा र पाँचवटा बोका चढाउने चलन छ।
प्रत्येक पूर्णिमामा विशेष होम हुने साधक राम कँडेल बताउँछन्। उनका अनुसार उपेन्द्र शाह अझै पनि यहाँ सूक्ष्म रूपमा साधना गरिरहेको विश्वास गरिन्छ। ‘होम गर्दा उनको छाया देखिन्छ। हामी साधकलाई त्यसको अनुभूति हुन्छ,’ उनले भने।
बागदरबारको ऐतिहासिक रहस्य बोकेको यो घर भुइँचालोपछि जीर्ण छ। संरक्षक राई यसको जीर्णोद्धार प्रतिक्षामा छन्। जीर्णोद्धार क्रममा यो ढोकाको पूर्ण संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
‘दुई सय वर्षदेखि नखोलिएको ढोका हो, र त रहस्यमय छ,’ उनले भने, ‘उत्खनन गर्न थालियो भने यसको अस्तित्व रहँदैन। रहस्य नै बाँकी हुन्न।’
यस्तो किम्बदन्तीले भरिएको रहस्यमयी ढोका र राजकुमार उपेन्द्र वीरविक्रम शाहको सम्बन्धबारे पुरुषोत्तमशमशेर राणाले लेखेको ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’ किताबमा भने फरक प्रसंग छ।
किताबका अनुसार विसं १९०७ फागुनमा उपेन्द्रलाई उनका दाजु सुरेन्द्रको हत्या गर्ने योजना बनाएको आरोप लाग्यो। १९०८ असारमा भारत, इलाहावादको किल्लामा कम्पनी सरकारद्वारा उनलाई नजरबन्द गरी राखियो। १९१० मा उनलाई काठमाडौं ल्याएर रिहा गरियो।
रिहापछि पनि उनलाई हनुमानढोकामा दाजु सुरेन्द्रसँग राख्न उचित ठानिएन। त्यसपछि बागदरबारमा लगेर राखियो।
‘त्यहाँ बस्दा उनी तन्त्रविद्यामा लागे र भयंकर तान्त्रिक भए,’ पुरुषोत्तमले लेखेका छन्, ‘बागदरबारमा साधना गर्दा वाधा परेकाले बागमती किनारमा स्नान गरी त्यहीँ साधना गर्थे।’
यो पनि हेर्नुहोस् :
विसं १९५२ मा उनले एक ‘ब्राह्मणी’ लाई तन्त्रमन्त्र गरेर बिगारेछन्। यो कुरा उपेन्द्रले स्वीकारे र सजाय माग गरे। सजायस्वरुप उनलाई बागमती नदीवारि आउन रोक लगाइयो। उनी पशुपतिनाथको राजेश्वरी घाटमा बस्न थाले। त्यहाँ बस्न थालेपछि वीरशमशेरले उचित बन्दोबस्त मिलाइदिए। विसं १९५३ कात्तिकमा उनको मृत्यु भएको किताबमा उल्लेख छ।
उपेन्द्रको वास्तविक यथार्थ आफ्नो ठाउँमा छ, तर यो ढोकाको यथार्थ भनेकै यसको रहस्य हो।
‘दुई सय वर्षदेखि नखुलेको यो ढोकाको महत्व नै रहस्यको गर्भमा लुकेको कथा हो। कतिपय कुरा रहस्यमै राख्नु ठीक हुन्छ। जुन दिन हामी रहस्य खोतल्छौं, यो ढोकाको महत्व हराउँछ,’ राईले भने।