रानीपोखरी किन कंक्रिटको बनाउनु हुँदैन? महानगरलाई सम्पदाविद्को जवाफ

रानीपोखरीको अवस्था। तस्बिर: सेतोपाटी


रानीपोखरी पुनर्निर्माणबारे काठमाडौं महानगर भन्छ– भुइँचालोले भत्किएको पर्खाल बनाउँदैछौँ। पोखरीलाई अझ बलियो बनाउँदैछौं।

अरू धेरैलाई पनि लागको होला, कंक्रिट बलियो हुन्छ, धेरै समय टिक्छ।

‘यो गलत धारणा हो। कंक्रिटको आयु केवल ८० वर्ष हुन्छ। यसले ३५० वर्षसम्म पुरानो रानीपोखरी जोगाउँदैन। उल्टै समस्या निम्त्याउँछ,’ आइतबार रानीपोखरी संरक्षणबारे भएको सम्पदा बचाऊ अभियानको अन्तर्क्रियामा सम्पदाविद्हरूले भने।

पुरातत्व र वास्तुकलाविद्हरूले पनि परम्परागत शैली नै उत्कृष्ट रहेको बताउँदै त्यही अनुरूप बनाउनुपर्नेमा जोड दिए।

‘यस्ता प्राचीन पोखरीको आफ्नै मौलिक शैली हुन्छ। यिनले पुनर्भरण, पानी रिचार्ज, सिञ्चन लगायत काम गर्छन्। यसरी परम्परादेखि प्रक्रियालाई इँट्टा, रोडा, सिमेन्टले जोगाउन सक्दैन,’ सम्पदाविद् पद्मसुन्दर जोशीले भने।

जोशीका अनुसार काठमाडौँका बस्तीहरु पहिले झुरुप्प थिए। तिनै बस्तीलाई पानी चाहिने हुँदा उनीहरुले पोखरी बनाएका हुन्।

यी पोखरी मुख्य गरी तीन किसिमका हुन्थे। सिरान पोखरी, बस्ती बीचका पोखरी र पुच्छरका पोखरी। यीमध्ये कुनै कुनै पोखरीभित्रै इनार खनिएका हुन्थे। ती इनारबाट कुलो खनेर ढुंगेधाराहरुसम्म लगिन्थ्यो र बस्तीहरुमा पानी पुर्याइने जोशीले जानकारी दिए।

यसरी संरचनाअनुसार प्रविधि मिलाएर बनाइएका पोखरी ढलान गरिने हो भने विविध समस्या देखिने उनले बताए।

‘पोखरी ढलान गर्दा वाष्प प्रणालीबाट पानी सुक्छ। पोखरी आकाशे पानीमा भर पर्छ र यसको पर्यावरण नै समाप्त हुन्छ। माछा र अन्य जलचर बस्ने वातावरण हुँदैन। पानीको ताजापन हराउँदै जान्छ र कामै नलाग्ने हुन्छ,’ जोशीले भने।

अन्तर्क्रियामा बोल्दै सम्पदाविद् सुदर्शनराज तिवारीले मापदण्ड विपरित कंक्रिट पर्खाल लगाउनु अतिक्रमण भएको बताए। बारम्बार भएको अतिक्रमणका कारण पोखरीको आकार नै खुम्चँदै गएको उनको भनाइ छ।

‘राणाशासन कालदेखि सुरु भएको पटक–पटकको अतिक्रमणले पोखरीको आकार घटेको घट्यै छ,’ सम्पदाविद् तिवारीले भने, ‘अहिले पनि १० मिटर मिचेर कंक्रिट पर्खाल लगाइँदैछ। यो गलत हो।’

सांस्कृतिक महत्व बोकेको पोखरीलाई महानगरले व्यवसायसँग जोडेकोमा सम्पदाविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

‘त्यहाँ कफी पसल खोल्ने महानगरको योजना छ। त्यही परियोजनाबाट उसले वार्षिक ३ करोड ६५ लाख कमाउने भनेको छ,’ तिवारीले भने, ‘पैसा नै कमाउने उद्देश्य भए अरू नै काम गरे हुन्छ। सम्पदा नै कमाउने थलो बनाउन भएन।’

यो पनि हेर्नुहोस्

‘रानीपोखरी अब सम्पदा रहेन, स्विमिङ पुलमा परिणत हुँदैछ’

कार्यक्रममा उनीहरूले पाटनस्थित पिम्बहाल पोखरीको उदाहरण दिए।

करिब ७०० वर्ष पुरानो पिम्बाहल पोखरी पुरानै स्वरूपमा पुनर्निर्माण भइसकेको छ। २५ वर्षअघि यसलाई पनि ललितपुर महानगरले व्यापारिक स्थल बनाउने प्रस्ताव राखेको थियो। त्योबेला स्थानीय आफैंले पोखरी संरक्षण गर्ने भनेका थिए। त्यसपछि संरक्षण समिति र स्थानीयकै पहलमा यसको जगेर्ना हुँदै आएको छ।

‘उदाहरण हेर्न अन्त जानै पर्दैन, पिम्बहाल हेरे हुन्छ,’ ज्यापु समाजका पुर्वअध्यक्ष कुललाल डंगोलले भने, ‘त्योबला पिम्बहाल क्षेत्रका सबै इनार सुक्न थालेका थिए। अहिले पोखरी बनिसकेपछि हामी दिनै पानी फिल्टर गरेर बेचिरहेका छौं। यसैले रानीपोखरी पनि जगेर्ना गर्नुपर्छ।’

सेभ हेरिटेजकी सुमना श्रेष्ठले रानीपोखरी हाम्रो सभ्यता भएको बताउँदै यसलाई मासिनबाट रोक्नुपर्ने बताइन्। ‘कुनै समय हाम्रो समाज मानव सभ्यताको उच्च विन्दुमा थियो। अपरिचित यात्रीका निम्ति चौतारी बनाइदिन्थ्यौँ, खानेपानी व्यवस्था होस् भनेर धारा बनाइदिन्थ्यौं,’ उनले भनिन्, ‘यस्ता सभ्यताले भावी पुस्तालाई हाम्रो पहिचान दिन्छन्। हाम्रो इतिहास बताउँछन्। यी सभ्यता र संस्कृतिमा नयाँ खुडकिला थप्न नसकेपनि यसलाई जस्ताको त्यस्तै नयाँ पुस्तालाई हस्तान्तरण गनुपर्छ।’

अन्तर्क्रियामा सम्पदाविद्हरूले रानीपोखरीमा कंक्रिट ढलान रोकेर पिम्बाहल झैँ पुरानै शैलीमा निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन्। अहिले भइरहेको माटो खोस्रने, कंक्रिट पर्खाल लगाउने काम तुरुन्त बन्द गर्न उनीहरूले आग्रह पनि गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.