‘रानीपोखरी अब सम्पदा रहेन, स्विमिङ पुलमा परिणत हुँदैछ’

राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरीको वास्तविक स्वरुप।


सम्पदाविद् सुदर्शनराज तिवारी शुक्रबार रानीपोखरी गएका थिए।

तीनवटा डोजर चलाएर पोखरीको पिँध खोस्रने काम हुँदै थियो। डिलमा कंक्रिट पर्खाल ठड्याउन डन्डी बाँधिँदै थियो। अझ भुइँमा टायल बिछ्याउने योजना सुनेपछि उनले मुख बिगार्दै भने, ‘रानीपोखरी अब सम्पदा रहेन, यो स्विमिङ पुलमा परिणत हुँदैछ, जसमा काठमाडौंले गर्व गर्नुपर्ने छैन।’

तिवारी काठमाडौं सभ्यता खोजीमा अविराम लागेका इञ्जिनियरिङ प्राध्यापक हुन्। यसको संरक्षण निम्ति उनले दिनरात आवाज उठाए।

आज रानीपोखरीको अवस्था देखेर ‘दिक्क’ मान्छन्।

२०७२ को भुइँचालोमा भत्किएको यो मल्लकालीन सम्पदा ‘आधुनिक’ शैलीमा पुनर्निर्माण हुँदैछ। पहिले पिँध र डिल कालो माटोले बनेको थियो। काठमाडौं महानगरपालिकाले रोडा, सिमेन्ट, बालुवा प्रयोग गर्दैछ। कंक्रिट पर्खाल बार्दैछ। बीचमा ‘म्युजिकल वाटर फाउन्टेन’ लगाउँदैछ। छेउछाउ बगैंचा र ‘कफी सप’ खोल्दैछ।

काठमाडौं मेयर विद्यासुन्दर शाक्य आफ्नो योजनामा यति उत्साहित छन्, हाकाहाकी भन्छन्, ‘बाबुबाजेले जे गरेका थिए, त्यही गर्छु भनेर हुँदैन। आधुनिकता स्विकार्नुपर्छ। जे नयाँ बनायो, त्यही संस्कृति हो।’

उनको ‘लहड’ देखेर पुरातत्व तथा सम्पदाविद्हरू तर्से। दौडदौड भेट्न खोजे। कुरा बुझाउन खोजे। सुरुमा त शाक्यले भेट्नै मानेनन्। समय दिएर टारे। बल्लतल्ल भेटेर कुरा सुने, सायद बुझेनन्।

उनी टसमस छैनन्।

‘सौन्दर्य सपार्ने लहड छ, सम्पदा मासिएको चिन्ता छैन,’ अथक कोशिसका बाबजुद मेयरलाई सम्पदाको महत्व बुझाउन असफल तिवारी भन्छन्, ‘हामीले त्यत्रो भन्दा पनि रानीपोखरी खोस्रन जारी छ। अहिले त झन् तीन–तीनवटा डोजर चल्दै रहेछ। यही पारा हो भने रानीपोखरी र सपिङ मलबीच कुनै अन्तर हुने छैन।’

‘जे नयाँ बनायो त्यो संस्कृति हुन्न, संस्कृति भनेको सभ्यतासँग जोडिन्छ। रानीपोखरी काठमाडौं सभ्यताको हिस्सा हो। जुन रूपमा यसलाई मासिँदैछ, हामी पोखरी होइन, हाम्रो सभ्यता मास्दैछौं। हामी आफैंलाई मास्दैछौं।’

पुनर्निर्माण क्रममा रानीपोखरीमा कंक्रिट पर्खाल लगाइँदै। तस्बिर: सेतोपाटी

काठमाडौं सभ्यताको अघिल्लो संस्करणमा हामीले तपाईंहरूलाई किराँतदेखि मल्लकालसम्मको दुई हजार वर्ष यात्रामा लगेका थियौं।

हेर्नहोस्:

सम्पदाविद्सँग दुई हजार वर्षको काठमाडौं यात्रा

रानीपोखरी कथा त्यही यात्राको हिस्सा हो।

आज रानीपोखरी यात्रामा हामीसँग तिवारीका साथ अर्का सम्पदाविद् पद्मसुन्दर जोशी पनि छन्। उनी बसोबाससम्बन्धी राष्ट्रसंघीय संस्था युएन–ह्याबिट्याटमा काम गर्छन्। उपत्यकाको प्राचीन पोखरी र ‘हिटी’ (धारा) प्रणालीमा अनुसन्धानमूलक किताब लेखेका छन्।

रानीपोखरी आजभन्दा ३ सय ५० वर्षअघि बनेको सम्पदा हो। राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन बनाएका हुन्।

पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ। मन्दिरको वास्तविक स्वरूप अहिलेजस्तो थिएन। यो ‘ग्रन्थकुट’ शैलीमा बनेको थियो। यसलाई ‘शिखर’ शैली पनि भनिन्छ। राजा प्रताप मल्लले निर्माण गराएका अन्य संरचना यही शैलीका छन्। जस्तो– स्वयम्भूको प्रतापपुर र अनन्तपुर।

प्रताप मल्ल तन्त्रविद्यामा विश्वास गर्थे। हिन्दु र बौद्धतन्त्र दुवैमा उनको आस्था थियो। ग्रन्थकुट शैलीलाई बौद्धतन्त्रमा आधारित संरचना मानिन्छ। उनले ब्राह्मण, प्रधान र खस मगरलाई प्रत्यक्षदर्शी बनाएर रानीपोखरी मन्दिर बनाएको शिलालेखमा छ। भारतीय उपमहाद्विपका ५१ महत्वपूर्ण तीर्थस्थलको जल पोखरीमा हालेको पनि भनिन्छ।

समयक्रममा पटक–पटक पुनर्निर्माण हुँदा मन्दिरको स्वरूप फेरियो।

तिवारीका अनुसार विक्रम सम्बत् १८९० को भुइँचालोपछि पहिलो पुनर्निर्माण भयो। त्यतिबेला ग्रन्थकुट शैलीमै बनेको थियो। १९५१ मा जंगबहादुर राणाले युरोपेली प्रभावमा परेर ‘गुम्बज’ शैली दिए। ९० सालको भुइँचालोपछि जुद्धशमशेरले यही रूपमा पुनर्निर्माण गराए।

यसपालि काठमाडौं महानगरले थप बिगार्दै ‘कंक्रिट’ को मन्दिर बनाउन खोजेको थियो। सम्पदाविद्, युनेस्को र पुरातत्व विभागको विरोधपछि महानगर पछि हट्यो। विभागले पहिलेजस्तै सुर्खीचुना नै प्रयोग गरेर मन्दिर बनाइरहेको छ।

मन्दिर विवाद सल्टिएपछि सबैले ठाने, रानीपोखरीमा अब खेलबाड हुने छैन।

‘यहीँनिर हामीले गल्ती गर्यौं,’ तिवारी भन्छन्, ‘महानगरले त मन्दिरलाई मात्र सम्पदा बुझेको रहेछ, पोखरी भने जसरी बनाए हुन्छ भन्ठानेछ।’

‘मन्दिर जति हाम्रो सम्पदा हो, पोखरीको महत्व त्योभन्दा बढी छ।’

अब हामी रानीपोखरी निर्माण शैली र काठमाडौंको पानी वितरण प्रणालीमा यसको महत्वबारे चर्चा गरौं।

सम्पदाविद् सुदर्शनराज तिवारी।

त्यतिबेला सबैजसो पोखरीको पिँध र डिल कालो माटोले बनेको थियो। ठाउँ–ठाउँमा इँटा वा ढुंगाको खुड्किलोले घाटजस्तो संरचना बनाइन्थ्यो। यसले स्थानीयलाई पोखरीसम्म गएर पानी भर्न, लुगा धुन वा नुहाउन सजिलो हुन्थ्यो।

अर्को विशेषता भनेको, पोखरीभित्र कम्तिमा दुईवटा इनार हुन्थे। तीमध्ये एउटाले पानी आपूर्तिको काम गर्थ्यो, अर्कोले निकासको।

तिवारीका अनुसार धेरै परबाट कुलो खनेर पानी ल्याउने चलन थियो। पोखरीनिर पुगेपछि कुलो दबाएर जमिनमुनि लगिन्थ्यो। र, भूमिगत रूपमै पोखरीको एउटा इनारसँग जोडिन्थ्यो। यसो गर्दा पानी बुलबुल गर्दै पोखरीको सतहसम्म आउँथ्यो।

अर्को इनारमा भने कालो माटो भरिन्थ्यो। पोखरी मर्मत वा सफा गर्नुपरे माटो झिक्ने चलन थियो। पिँधको कालो माटोमुनि बालुवा हुन्थ्यो। माटो झिकेपछि पानी त्यही बालुवाबाट रसाएर जान्थ्यो।

कुनै–कुनै पोखरीमा दुईभन्दा बढी इनार हुन्थे। ती इनारबाट कुलो खनेर ढुंगेधाराहरूसम्म लगिन्थ्यो र टोल–टोलमा पानी आपूर्ति गरिन्थ्यो।

रानीपोखरीको पनि निर्माण संरचना यस्तै थियो।

यहाँ सातवटा इनार खनिएको तिवारी बताउँछन्। यी इनारबाट काठमाडौंका विभिन्न टोलमा पानी आपूर्ति हुन्थ्यो। अहिलेसम्म थाहा भएअनुसार तीनधारा पाठशालामा जाने पानी रानीपोखरीकै हो। सुन्धाराको हिटीमा हामीले केही वर्षअघिसम्म पानी आइरहेको देख्थ्यौं। त्यसको स्रोत रानीपोखरी नै हो। त्यहाँ टुँडिखेल हुँदै कुलो खनेर पानी लगिएको थियो।

‘काठमाडौं मलको जग खन्दा कुलो भत्कियो। त्यही बेलादेखि सुन्धारामा पानी आउन छाडेको छ,’ तिवारी भन्छन्, ‘हामीले काठमाडौं मल बन्दैखेरि यो कुरा उठाएका थियौं, कसैले सुनेनन्। आधुनिक संरचना बनाउँदा सुन्धाराको पुरानो संरचना मासियो।’

यो भयो मल्लकालको कुरा।

रानीपोखरी कथा मल्लकालबाट सुरु भए पनि काठमाडौं सभ्यतामा पोखरी संस्कृतिको यात्रा अझ लामो छ।

यसको सुरुआत दुई हजार वर्षअघि किराँतकालबाटै भएको सम्पदाविद् बताउँछन्।

किराँतकालमा उपत्यकाको सहरी योजना तीन घेराको थियो। पहिलो घेरामा पर्थ्यो, डाँडामाथिको झुरुप्प बस्ती। आज पनि चाहे काठमाडौं होस्, ललितपुर वा भक्तपुर होस्, चाहे कीर्तिपुर वा साँखु, पुरानो नेवार बस्ती डाँडाको थुम्कोमै बसेको छ।

दोस्रो घेरामा बेसीको उर्वर भूमि पर्थ्यो, जहाँ बाह्रै महिना खेती हुन्थ्यो। त्योभन्दा पर, सहरी योजनाको तेस्रो घेरामा थियो– नदी, वनजस्ता प्राकृतिक स्रोत।

यही तीनघेरे सहरी योजनाकै अभिन्न अंग हो, पोखरी संस्कृति– जो भौगोलिक रूपले तीनथरीकै थियो। धेरैजसो मासिए पनि केहीको अवशेष अझै देख्न सकिन्छ।

सम्पदाविद् पद्मसुन्दर जोशी

पहिलो तहमा पर्थ्यो, सिरान पोखरी।

बस्तीभन्दा माथिल्लो भागमा बनाइने यस्तो पोखरीलाई ‘रणनीतिक’ भनिन्थ्यो। बर्खा बेला माथिबाट बग्ने पानीको भेल नियन्त्रण गर्न यस्तो पोखरी बनाइने सम्पदाविद् जोशी बताउँछन्।

यसले पानीको भेल बस्तीभित्र छिर्न रोक्थ्यो। बर्खाको त्यही पानी जम्मा गरेर टोल–टोलमा बाँड्न ‘रिजर्भोयर’ को काम गर्थ्यो। वरिपरि माटो मलिलो राख्थ्यो। र, जमिनमुनि पानीको सतह घट्न दिन्थेन।

हाँडीगाउँको गहनापोखरी किराँतकालदेखिको त्यस्तै पोखरी हो। उपत्यकामा केही जात्रा पोखरी जोगाउने उद्देश्यले नै मनाइन्छन्। गहनापोखरी जात्रा यस्तै एक हो।

क्षेत्रपाटीको इखापुखु अर्को उदाहरण हो। यो लिच्छविकालमै बनेको मानिन्छ। पहिले क्षेत्रपाटीसँगै साँध जोडिएको थियो। पछिल्लो समय कन्यामन्दिर स्कुल र सामुदायिक अस्पतालले मिचेर अवशेष मात्र बाँकी छ। भित्री काठमाडौंका मरुहिटी लगायत प्राचीन ढुंगेधारामा यहीँबाट पानी आपूर्ति हुने तिवारी बताउँछन्।

मल्लकालीन रानीपोखरी सिरान पोखरीकै वर्गमा पर्छ।

जोशीका अनुसार जमल क्षेत्रमा बग्ने बर्खेभेल यहाँ जम्मा हुन्थ्यो। पुनर्निर्माण क्रममा भेल छिर्ने कुलो बन्द भयो। त्यसपछि रानीपोखरी सुक्दै गएको र जमल क्षेत्रमा भेल बग्न थालेको उनी बताउँछन्।

काठमाडौंको कमलपोखरी, ललितपुरको लगनखेल र जावलाखेल पोखरी, भक्तपुरको सिद्धपोखरी यही तहका हुन्। यीमध्ये कमलपोखरी र सिद्धपोखरी मात्र आफ्नो स्वरूपमा छन्। लगनखेल पोखरी सञ्चय कोष, बसपार्क लगायत संरचनाले मिचेर नाश भइसक्यो। जावलाखेल पोखरी चिडियाखानाभित्र अलिकति मात्र बाँकी छ।

सिरान पोखरीभन्दा तल बस्तीभित्र बनाइने पोखरी दोस्रो तहको हो।

हामी अहिले पनि उपत्यकाका तीनै सहरको भित्री बस्तीमा स–साना पोखरी देख्छौं। धेरैजसो लिच्छविकालका हुन्। लिच्छविले किराँतदेखि चलिआएको पानी आपूर्ति प्रणाली व्यवस्थित गरेका थिए। इनार खनेर भूमिगत पानी प्रयोग गर्ने चलन लिच्छविकालमै सुरु भएको हो। तिनै इनारमा पानी नसुकोस् भनेर बस्तीभित्र पोखरी बनाउन थालिएको जोशीको भनाइ छ।

दोस्रो तहका पोखरी सामुदायिक काममा पनि प्रयोग हुन्थे। यसले बर्खा बेला बस्तीमा पानी जम्न दिन्थेन। बस्ती धोइपखाली गर्थ्यो। स्थानीयले यहाँ हाँस पाल्थे।

काठमाडौंका पाको र खिचापोखरी, ललितपुरको पिम्बहाल, पूर्णचण्डी, खपिन्छेँ पुखु, सौगल पुखु, भक्तपुरको ब्यासी पुखु दोस्रो तहका हुन्।

ललितपुरको खपिन्छेँ पुखु। तस्बिर सौजन्य: पद्मसुन्दर जोशी

पिम्बहाल पोखरी सात सय वर्षअघि स्थापना भएको मानिन्छ। जग नभएको यो पोखरीको पुरानो नाउँ ‘जगमदु’ हो। पिम्बहाल क्षेत्रमा परेकाले पछि बस्तीकै नाउँ दिइयो। स्थानीयले यसलाई रानीपोखरी निर्माणको आधार मान्दै आएका छन्। भुइँचालोमा भत्किएको यो पोखरी हालै स्थानीय पहलमा पुनर्निर्माण भएको छ। रानीपोखरीजस्तो ‘आधुनिक’ शैली र स्वरुपमा होइन, कालो माटो हालेर पुरानै रूपमा।

तेस्रो तहमा पर्थ्यो, बस्ती पुछारको पोखरी।

किराँतदेखि मल्लकालसम्म उपत्यकाको नेवार बस्ती डाँडाको थुम्कोमा मात्र थियो। बस्तीको पुछार ओरालो हुन्थ्यो। यस्तो ठाउँमा बर्खेभेलले पहिरो जाने डर थियो। त्यही पहिरो रोक्न पोखरी बनाइन्थ्यो। यो पनि लिच्छविकालबाटै सुरु भएको मानिन्छ।

यसको अर्को उद्देश्य सिँचाइ गर्न पानी जम्मा गर्नु हो। पानीको सतह बढ्दा आवश्यकताअनुसार खेतमा निकास गर्ने चलन थियो। वस्तुभाउको आहाल र हाँस पाल्न पनि प्रयोग गरिन्थ्यो।

‘त्यतिबेला काठमाडौंका नेवार दिनभरि खेतमा काम गर्थे। खेत बस्तीबाहिर बेसीमा हुन्थ्यो। बेलुकी उकालो चढेर सहर छिर्नुअघि उनीहरू यही पोखरीमा हातखुट्टा धोएर सफासुग्घर हुन्थे,’ जोशी भन्छन्।

अर्को विशेषता पनि छ।

त्यतिबेला काठमाडौं सभ्यतामा चर्पी चलन थिएन। दिसा–पिसाब गर्न बस्तीबाहिर खुला ठाउँ छुट्टयाइएको हुन्थ्यो। त्यसलाई ‘खिखःमुगः’ भनिन्थ्यो। बस्ती सकिएर भिरालो लाग्न थालेपछि यस्तो ठाउँ बनाइन्थ्यो। बस्ती पुछारका पोखरी खिखःमुगः छेउछाउ हुन्थे। दिसा–पिसाब गर्ने ठाउँ सफासुग्घर राख्न सजिलो पर्थ्यो।

ललितपुरको च्यास: पुखु, गुइटा पुखु, लिगन पुखु यसका उदाहरण हुन्। पाटनढोकामा जहाँ बसपार्क र सार्वजनिक शौचालय छ, त्यहाँ पनि यस्तै पोखरी थियो।

‘डाँडाको थुम्कोमा बसेको भिरालो बस्ती अहिलेसम्म जोगिएकै पोखरी संस्कृतिले हो,’ जोशी भन्छन्, ‘तीन तहका पोखरी बनाएर बर्खेभेल व्यवस्थापन गर्ने र जमिनमुनि पानीको तह कायम राख्ने चलन नभइदिएको भए काठमाडौं सभ्यता उहिल्यै पहिरोले ध्वस्त भइसक्थ्यो।’

‘हाम्रा पुर्खाले दुई हजार वर्षअघि सुरु गरेको पोखरी संस्कृति आधुनिक युगमा आइपुग्दा अवशेष मात्र छ। बचेखुचेका एकाध पनि रानीपोखरीजस्तो जानाजान नाश गरिँदैछ,’ उनी भन्छन्।

‘यो भनेको हाम्रा पुर्खाले आर्जेको ज्ञान विनाश हो।’

रानीपोखरीमा कालो माटो खोस्रेर कंक्रिट पर्खाल लगाउनुलाई उनी यही ज्ञानको विनाश मान्छन्।

यसका दुई कारण छन्।

पिम्बहाल पोखरी। तस्बिर: सेतोपाटी

पहिलो, पोखरीको पिँध र डिल कालो माटोले भर्नुको वैज्ञानिक कारण थियो। यसले माटोमा पानी आवागमन हुन पाउँछ। कालो माटोको विशेषता के भने, यसले पोखरीको पानी चुहिनबाट रोक्छ र आवश्यकताअनुसार पानी रसाएर जाने बाटो पनि दिन्छ। ढलान गरेपछि अब न बाहिरको पानी भित्र छिर्छ, न त भित्रको पानी बाहिर रसाउने गुञ्जायसै रहन्छ।

पानी आवागमन रोकिएको यस्तो पोखरी ‘स्विमिङ पुल’ जस्तै हुने जोशी बताउँछन्।

दोस्रो, पोखरीको आफ्नै पर्यावरण हुन्छ। यहाँ जलचर हुन्छन्। वनस्पति उम्रिन्छन्। कीरा बस्छन्। यस्तो पर्यावरण माटोको सतहमा बनेको पोखरीमा मात्र सम्भव हुन्छ। ढलानमा हुन्न।

‘ढलान गरेर पोखरी बन्ने भए त मल्लकालमै जब्बर पर्खाल लगाइन्थ्यो होला नि, किन कालो माटो राखिन्थ्यो र !’ जोशी भन्छन्।

रानीपोखरी विनाशलीला यतिमै सीमित छैन।

मल्लकालमा पोखरी किनार इँटाको पेटी बनाइएको थियो। पुनर्निर्माण क्रममा ती इँटा ‘काम नलाग्ने’ भन्दै फालिएको पुरातत्वविद् बताउँछन्।

क्षेत्रफल पनि क्रमिक रूपमा मिचिँदै छ। यो पोखरी ६२ रोपनी १३ आना २ पैसा जग्गामा बनेको थियो। चार कुनाका शिलालेखमध्ये एउटा राष्ट्रिय नाचघर र अर्को वीर अस्पतालनिर फेला परेकाले त्यहाँसम्म साँध फैलिएको अनुमान छ। राणाकालमा त्रिचन्द्र कलेजदेखि दरबार हाई स्कुल र पछिल्लो समय प्रहरी कार्यालय बनाउँदा साँध मिचिएको तिवारीको भनाइ छ।

काठमाडौं महानगरले बनाउने भनेको पोखरी त दुई वर्षअघि हामीले देखेभन्दा सानो हुनेछ। पोखरी खुम्च्याएर बगैंचा, कफीसप र अन्य मनोरञ्जन स्थल बनाउन लागिएका छन्। पुरातत्व तथा सम्पदाविद्हरूको आपत्ति यसैमा हो।

‘अहिलेसम्म जति मासियो, मासियो, अब बचेका अवशेष पुरानै स्वरूपमा जीवित राखेर सम्पदा जोगाउनु हाम्रो दायित्व हो,’ तिवारी भन्छन्, ‘महानगरपालिकाले यही बुझिरहेको छैन।’

रानीपोखरी जोगाउन उनले केही उपाय सुझाएका छन्।

सबभन्दा पहिला, जारी निर्माण रोक्न महानगरपालिका र ठेकेदारलाई सबै मिलेर दबाब दिनुपर्छ।

र, पुरानै स्वरूपमा ल्याउन कम्तिमा एक फिट कालो माटो भर्नुपर्छ।

पुनर्निर्माण ठेक्का ‘वर्ल्डवाइड कँडेल केएनकेभी जेभी’ ले पाएको छ। उसले चौतर्फी विरोधबीच कंक्रिट पर्खाल लगाउन र खोस्रन रोकेको छैन। काम ढिला भएको भन्दै उसलाई कालोसूचीमा राख्न खोजिएको थियो। त्यही भएर पनि धमाधम गरिरहेको अभियन्ताहरू बताउँछन्।

‘सुख्खा याममा पानीको स्रोत व्यवस्थापन गर्न नयाँ प्रणाली विकास गर्न सक्छौं,’ तिवारी भन्छन्, ‘असन, कमलाक्षीजस्ता भित्री बस्तीबाट खेर गएका पानी प्रशोधन गरेर रानीपोखरी ल्याउन सकिन्छ।’

रानीपोखरीको अवस्था। तस्बिर: सेतोपाटी

तिवारीले सुझाएका यी उपाय तब मात्र काम लाग्छन्, जब काठमाडौं सभ्यतासँग जोडिएको रानीपोखरी जोगाउन सरोकारवालाको चेत खुल्छ।

खासगरी काठमाडौं महानगरपालिकाको।

जो, अहिले पनि डोजर चलाएर पोखरी खोस्रँदैछ।

जो, पुरातत्व र सम्पदाविद्हरूको आह्वान बेवास्ता गर्दैछ।

जो, रानीपोखरीमा ‘कफीसप’ बनाउन उद्दत छ।

जो, रानीपोखरीलाई स्विमिङ पुलको रूप दिँदैछ।

र, जो हाकाहाकी भन्छ, ‘बाबुबाजेले जे गरेका थिए, त्यही गर्छु भनेर हुँदैन। आधुनिकता स्विकार्नुपर्छ। जे नयाँ बनायो, त्यही संस्कृति हो।’

यसरी त कसरी जोगियोस् रानीपोखरी! कसरी जोगियोस् पोखरी संस्कृति! अनि कसरी जोगियोस् काठमाडौं सभ्यता!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.