सम्पदाविद्सँग दुई हजार वर्षको काठमाडौं यात्रा

२०७२ को भुइँचालोले भत्किएको लिच्छविकालीन काष्ठमण्डपको जग। यो संरचना तेह्र सय वर्षअघि इस्वी सम्बत् ७४१ आसपास बनेको हो। तस्बिर: नारायण महर्जन/सेतोपाटी


काठमाडौं सभ्यता-३

ख्वपृंगमा आज जात्रा छ।

मध्य–सहरको मूलचोकमा सयौं ख्वपृंगे भेला भएका छन्। त्यही मूलचोकमा द्यो छेँ छ। द्यो छेँ देउताको घर हो। यहाँ देउतालाई हामी मान्छेजस्तै परिवारसँगै राखिन्छ।

आजको दिन देउतालाई खटमा बोकेर सहरबाहिर लैजाने चलन छ। ख्वपृंगेहरूको जम्मै खेतीपाती बाहिरै हुन्छ। सँगै बागमती कञ्चन बग्छे। किनारमा मन्दिर छ। देउतालाई मन्दिरमा प्रतिस्थापन गरी पूजाआजा गरिन्छ। भोज खाइन्छ। र, बेलुकी फेरि खटमा बोकेर द्यो छेँ फिर्ता लगिन्छ।

चार जना पुरुष चारतिरबाट देउताको खट जुरुक्क उचाल्छन्। एक लहर महिला फूल र अक्षता छर्दै अघि बढ्छन्। हुलका हुल ख्वपृंगे पछि लाग्छन्।

सबै जना स्वरमा स्वर मिलाएर कराउँदै छन्ः

‘होए … होए … होए …’

यो २०७४ सालको जात्रा होइन।

यो ठाउँलाई अचेल ख्वपृंग पनि भनिँदैन।

यो समय हो, दुई हजार वर्ष अगाडिको, जब काठमाडौं उपत्यकामा किराँत शासन थियो। जब आजको भक्तपुरलाई ‘ख्वपृंग’ भनिन्थ्यो।

किराँतहरूले ‘सूर्योदय हुने गाउँ’ का रूपमा ख्वपृंग नाउँ दिएको इतिहासकार बताउँछन्। नेपाल भाषामा यसलाई आज ‘ख्वपः’ भनिन्छ।

नाउँ अपभ्रंश भए। रीतिथिति परिस्कृत भए। काठमाडौं सभ्यता भने उही छ।

आज हामी तपाईंलाई काठमाडौं सभ्यताको यही दुई हजार वर्ष यात्रामा लैजाँदैछौं, सम्पदाविद् सुदर्शनराज तिवारीका साथमा। इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन तिवारी आर्किटेक्ट इञ्जिनियर र सम्पदा इतिहासकारसमेत हुन्। उनले काठमाडौं उपत्यकाको प्राचीन बसोबास र मन्दिरबारे अनुसन्धानमूलक किताब लेखेका छन्।

सुदर्शनराज तिवारी। तस्बिर: सेतोपाटी

‘काठमाडौं त्यतिबेलाको सहर हो, जब संसारका धेरै ठाउँमा सहरको परिकल्पनासम्म गरिएको थिएन,’ प्राध्यापक तिवारी भन्छन्, ‘हामीले युरोप, अमेरिका वा चीनलाई मोडल मान्ने होइन, आफ्नै इतिहास फर्केर हेर्ने हो। हाम्रा पुर्खाले जे गरे, त्यसैबाट सिके पनि काठमाडौंलाई धेरै व्यवस्थित र नमूना बनाउन सकिन्छ।’

त्यसो भए जाउँ न त प्राध्यापक तिवारीसँग– किराँतदेखि मल्लकालसम्मको यात्रामा। यो यात्रामा हामी काठमाडौं उपत्यकाको प्राचीन र मध्यकालीन सहरी संरचना हेर्नेछौं। र, त्यसको निर्माण शैली बुझ्नेछौं।

सुरूआत काठमाडौंका बस्तीबाटै गरौं।

आज उपत्यकामा गुजमुज्ज पुरानो बस्ती कहाँ–कहाँ देखिन्छ? सर्सती आँखा दौडाउनुस् त?

ती सबै कुनै न कुनै डाँडाको थुम्कोमा छन्। चाहे त्यो काठमाडौं होस्, ललितपुर वा भक्तपुर होस्, चाहे कीर्तिपुर वा साँखु।

डाँडाको थुम्कोमा बस्ती बसाउने चलन दुई हजार वर्षअघि किराँतकालबाटै सुरु भएको हो। त्यतिबेला सहरी योजना तीन घेराको थियो। पहिलो घेरामा पर्थ्यो, डाँडामाथिको झुरुप्प बस्ती। दोस्रो घेरामा बेसीको उर्वर भूमि, जहाँ बाह्रै महिना खेती हुन्थ्यो। त्योभन्दा पर, सहरी योजनाको तेस्रो घेरामा थियो– नदी, वनजस्ता प्राकृतिक स्रोत। आज पनि काठमाडौं उपत्यकाका थुम्कालाई बागमती, टुकुचा, नंखु, कोड्कूजस्ता नागबेली नदीले घेरेको हामी देख्छौं।

‘किराँतहरू योजनागत रूपमै डाँडामाथि बसे, फाँटमा खेती गरे,’ तिवारी भन्छन्, ‘यसले बाढीको जोखिम भएन, नदीले उर्वर बनाएको भूमि पनि जोगियो।’

यति भनेर तिवारीले मलाई ख्वपृंगको त्यही जात्रामा लगे।

जात्राको सुरु र अन्त्य नै सहरको केन्द्र र परिधि हो। द्यो छेँलाई केन्द्र पारेर वरिपरि सहर बसाउने चलन थियो। ख्वपृंगजस्तै प्रत्येक थुम्कामा स्थानीयले आ–आफ्नै द्यो छेँ बनाएका हुन्थे। पायक पर्ने नदी किनारका मन्दिरमा देउता प्रतिस्थापन गर्थे। त्यसलाई ‘पिठ’ भनिन्थ्यो।

द्यो छेँ र पिठको चलन काठमाडौं सभ्यतामा आज पनि हराएको छैन।

‘यस्ता पिठ नदी किनारमै हुनुको अर्थ छ, उनीहरूले पर्यावरणलाई आस्थामा आधारित जीवनशैलीसँग जोडेका हुन्,’ तिवारी भन्छन्, ‘हाम्रा पुर्खाले दुई हजार वर्षअघि नै सहरी विकासमा पर्यावरणीय महत्व बुझेका थिए।’

कुनै कुनै ठाउँमा सहरको भित्री र बाहिरी क्षेत्र पर्खालले घेर्ने चलन थियो। हाँडीगाउँस्थित सत्यनारायण मन्दिर उत्खनन् गर्दा ईशापूर्व १६७ आसपासको पर्खाल भेटिनुले यही झल्काउँछ।

सहरी विकासको जग लिच्छवि पालामा अझ परिस्कृत भयो।

पाटन दरबार स्क्वायर। फाइल तस्बिर: सेतोपाटी

लिच्छविको सहरी विकास वास्तुशास्त्रमा आधारित छ। उनीहरू सहरलाई ब्रह्माण्डको आकार दिन्थे। र, संरचनाहरू ज्यामितीय शैलीमा बनाउँथे।

‘न्यूयोर्कको म्यानहटनजस्तै,’ तिवारीले अर्थ्याए, ‘म्यानहटनमा पूर्व–पश्चिम र उत्तर–दक्षिण सडकले सहरलाई वर्गाकार खण्डमा बाँडेको छ। ज्यामितीय शैली भनेको यस्तै हो।’

उनले उदाहरण त न्यूयोर्कको दिए, तर काठमाडौंमा यो लागू हुँदा अमेरिका भन्ने देशै पत्ता लागेको थिएन।

‘के अहिले पनि हामीकहाँ त्यसको अवशेष देखिन्छ?’

जवाफमा तिवारीले जैसीदेवलबाट गणेशथान, नरदेवी हुँदै क्षेत्रपाटीसम्म धागोझैं तन्किएको सडक देखाए। ‘यो लिच्छविकालमा बनेको काठमाडौंको मूल सडक हो,’ भने, ‘पाटन र भक्तपुरमा यस्तै सिधा बाटा छन्।’

यो ज्यामितीय शैलीलाई हामी त्यही रूपमा बुझौं न!

सादा कागजमा कम्पासले गोलो चित्र बनाउनुस्। केन्द्रलाई छोएर सिधा धर्सो तान्नुस्। त्यो गोलो चित्र तत्कालीन काठमाडौं हो भने सिधा धर्सो यहाँको मूल सडक। यस्तो सडक सबैलाई पायक पर्ने गरी मध्यसहरमा बनाइन्थ्यो। सहायक बाटाहरू यही मूल सडकमा जोडिन्थे। दुईथरी बाटो जोडिँदा बीचमा चोक बन्थ्यो। एउटा चोकबाट अर्कोसम्मको दुरी लगभग समान हुन्थ्यो।

भित्री काठमाडौंका गल्ली चहार्नुस् त, यस्ता संरचना अहिले पनि देखिन्छन्।

तिवारीले हाँडीगाउँको उदाहरण दिए। यो लिच्छविको राजधानी हो। यहाँ नक्सालबाट सानो गौचरण, कृष्ण मन्दिर हुँदै गैरीधारासम्मको खण्ड वर्गाकार थियो। हाँडीगाउँको सिधा मूलसडकमा सहायक बाटा जोडिन्थे। यसले नौ खण्ड बनेको थियो। प्रत्येक खण्डमा मन्दिर र ढुंगेधारा थिए। ज्यामितीय शैलीमा बनेकाले मन्दिर र ढुंगेधाराको दुरी समान थियो। तीमध्ये केही संरचना अझै बाँकी रहेको तिवारी बताउँछन्।

लिच्छविले सबैजसो ठाउँ ज्यामितीय बनाए, पशुपतिको एक क्षेत्रबाहेक। यो जयबागेश्वरीबाट पशुपति जाने सडक हो, जुन धनुबाण आकारमा छ। बाणको टुप्पोमा पशुपतिनाथ मन्दिर छ।

‘काठमाडौंमा ज्यामितीय आकार नभएको एकमात्र बाटो यही हो,’ तिवारी भन्छन्।

लिच्छविले किराँतकालदेखिको प्राचीन बस्ती बिगारेनन्। भारतको वैशालीबाट आएका उनीहरू नदी किनार बसोबास गर्थे। यहाँ पनि चाहेका भए डाँडाको बस्ती मासेर नदी किनारमै बसाउन सक्थे।

बस्तीसँगै उनीहरूले रीतिथितिलाई निरन्तरता दिए। मूल सडक र सहायक सडकको प्रयोजन नै द्यो छेँ र पिठबीच जात्रा चलाउनु थियो। खट वा रथ घुमाउन सजिलो होस् भनेर प्रत्येक मोडमा खुला ठाउँ छाडिन्थ्यो। ती मोडमा मन्दिर बने, पाटीपौवा बने। अहिले पनि भित्री काठमाडौंका सडक ‘क्रसिङ’ मा सानो चोक छ। त्यहाँ स्थानीयको मूल देउता हुन्छ। सँगसँगै पाटी हुन्छ। मान्छे त्यहाँ आराम गर्छन्। सानोतिनो व्यापार गर्छन्। सामाजिक जमघट पनि हुन्छ।

सहरी विकास मात्र होइन, ठूल्ठूला संरचना निर्माणमा पनि लिच्छविकाल ‘अद्भूत’ रहेको तिवारी बताउँछन्।

तेह्र सय वर्षअघि सातौं शताब्दीमा निर्माण भएको काष्ठमण्डप ज्वलन्त उदाहरण हो। त्यतिबेला राजा जयदेव (द्वितीय) को शासन थियो। २०७२ को भुइँचालोले ध्वस्त यो संरचना अझै पुनर्निर्माण भएको छैन।

कैलाशकूट भवन अर्को नमूना संरचना हो। कुनै कालखण्डमा ध्वस्त यो संरचनाको अवशेषधरि फेला परेको छैन।

छैठौं शताब्दी अन्त्यतिर राजा शिवदेव र उनका महासामन्त अंशुवर्माले हाँडीगाउँमा साततले कैलाशकूट भवन बनाएको इतिहास छ। त्यतिबेला नेपाल आएका चिनियाँ यात्री सुआन चाङले उक्त भवनको कलाकृति र सुन्दरता तारिफ गर्दै लेखेका छन्– ‘यो कैलाशकूट भवन अद्भूत छ, यहाँ सातौं तलाबाट पानी झर्झर गर्दै झर्छ। तल चार कुनामा मकरको मुखबाट छहराजस्तै पानी बग्छ। यस्तो संरचना मैले देखेकै थिइनँ।’

‘उनले नेपालबाट बिहे गरेर गएकी चिनियाँ महारानी भृकुटीलाई खुसी पार्न बढाइचढाइँ लेखेका हुनसक्छन्,’ तिवारी भन्छन्, ‘जति बढाइचढाइँ गरे पनि कैलाशकूट भव्य संरचना थियो भन्ने पुष्टि हुन्छ।’

मल्लकालसम्म आइपुग्दा सहरी संरचना अझ ठूलो भयो।

वसन्तपुर दरबार स्क्वायर। फाइल तस्बिर: सेतोपाटी

मल्लहरूले सहरको ब्रह्माण्ड आकार कायम राखे। लिच्छविले ल्याएको ज्यामितीय शैली भने छाडे। मूल र सहायक सडक जोडेर वर्गाकार खण्ड बनाउने अवाधारणामा उनीहरू गएनन्। बरु, अष्टमातृका शैलीमा सहर विस्तार गरे।

अब यो अष्टमातृका शैलीलाई पनि त्यही रूपमा बुझौं!

एउटा ‘स्क्वायर’ मा अर्को ‘स्क्वायर’ खप्ट्यायो भने आठ कुना निस्कन्छ। यहाँ प्रत्येक कुनामा अष्टमातृका थापना गरिन्छ भने केन्द्रमा त्रिपुरासुन्दरी। मल्लहरूले यही शैलीमा सहरभित्र टोल विभाजन गरे। दरबारलाई केन्द्रमा राखेर आठवटा टोल बनाए। टोल विभाजन स्थानीयको पेसा र जातमा आधारित थियो।

द्यो छेँ र पिठको अवधारणा मल्लहरूले पनि छाडेनन्। फरक यत्ति थियो, किराँत र लिच्छविकालमा सहरभित्र एउटा द्यो छेँ र पिठ हुन्थ्यो। मल्लकालका आठ टोलमा छुट्टाछुट्टै स्थापना भए, आठवटा किराँत बस्ती एकैठाउँ मिसिन आएजस्तो।

पछि टोल संख्या थपिँदै २४ सम्म पुग्यो भनिन्छ। केही इतिहासकार भने ३२ टोल भएको दाबी गर्छन्।

टोल सीमा निर्धारण गर्न चोक–चोकमा गणेश प्रतिस्थापन गरियो। गणेशलाई ‘टोलरक्षक’ मानिन्थ्यो। उनी आफूले रक्षा गर्नुपर्ने टोलतिर पिठ फर्काएर बस्थे। यो चलन अहिले पनि छ।

मल्लकालमा सडक संरचना पनि फेरियो। मूल सडक फराकिला भए। यसको प्रयोजन पनि जात्रा चलाउन सुविस्ता होस् भन्ने नै थियो। रथ मोड्नुपर्ने ठाउँमा फराकिला चोक बने, चौबाटोमा व्यवस्थित पाटी। फराकिलो ठाउँ भए जाडो र गर्मीलाई अलग–अलग पाटी बनाइन्थ्यो। साँघुरो भए यस्तो विन्दु रोजिन्थ्यो, जहाँ जाडोमा घाम लाग्छ, गर्मीमा शितल।

‘पाटीको निर्माण शैली हेर्ने हो भने बाटोतिर चोसो निस्केको देखिन्छ। यो वैज्ञानिक तरिका हो,’ तिवारी भन्छन्, ‘मान्छे त्यही चोसोमा बस्छन्, जहाँ जाडोमा घाम लाग्छ, गर्मीमा बतास चल्छ।’

यही शैली घरका झ्यालमा पनि अपनाइयो। काठमाडौंका पुराना घरमा पहिलो तलाको आँखीझ्याल (नेवारीमा ‘सँःझ्याः’) पर्खालभन्दा बाहिर निस्किएको देखिन्छ। ती सडकतिर ढल्केका हुन्छन्। यसको प्रयोजन बाहिर हेर्न मात्र होइन।

‘झ्याललाई सडकतिर कोल्टे पार्दा प्वालबाट सिरसिर हावा छिर्छ,’ उनी भन्छन्, ‘मान्छे त्यहीँ बसेर सडकमा चल्ने जात्रा हेर्छन्, हावा खान्छन्।’

झ्यालको कुरा उठेपछि मैले सोधेँ, ‘काठमाडौंमा पुराना घर किन यतिविधि अँध्यारा र साँघुरा?’

उनले सुरुमा अँध्यारो हुनुको कारण खुलाए।

‘काठमाडौं सभ्यता सामुदायिक हो। यहाँका धेरै गतिविधि बाहिरै हुन्छन्। बूढाबूढी बिहानै उठेर पाटीमा बस्छन्। केटाकेटी चोकमै खेल्छन्। युवाहरू खेतमा काम गर्न जान्छन्। जात्रा, उत्सव, पर्व सबै बाहिरै हुन्छ। भोजभतेर द्यो छेँमा गर्छन्। घर भनेको राति सुत्न मात्र हो। सुत्ने ठाउँमा उज्यालो किन चाहियो?’

‘अनि साँघुरो?’

‘चिसोबाट बच्न,’ तिवारीले भने, ‘मल्लकालको काठमाडौं अहिलेजस्तो कहाँ हो र! उत्पात् जाडो हुन्थ्यो। न्यानो हुन होचा घर बनाउने चलन चल्यो।’

काठमाडौं उपत्यकामा पुरानो शैलीका घर। तस्बिर: सेतोपाटी

मल्लकालको अर्को विशेषता चारथरीका खुला सार्वजनिक संरचना हुन्, जुन अहिले पनि जस्ताका तस्तै छन्।

तीमध्ये वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो छ। यहाँ भित्री सहरका सबैजसो साना–ठूला सडकको मोहडा खुल्छ। तिवारीका अनुसार यो मल्लकालीन ‘आर्किटेक्चर’ को नमूना हो। मुख्य जात्रा सबै वसन्तपुर डबलीमा हुन्थे। प्रशासनिकदेखि साँस्कृतिक काममा समेत डबली प्रयोग हुन्थ्यो। राज्यभरिका मान्छे जमघट हुने ठाउँ यही थियो।

दरबार स्क्वायरको अर्को विशेषता पनि तिवारीले खुलाए।

‘उपत्यकाका सबै मुख्य मन्दिर यहाँ भेटिन्छन्। मल्लकालमा दाजुभाइबीच राज्य भाग लागेपछि एउटा ठाउँको मन्दिरमा अर्को राजा जान छाडे। अनि त, शिवरात्रिमा पशुपति जानुको सट्टा पशुपतिनाथलाई नै दरबार अगाडि ल्याए। कृष्णजात्रा हेर्न पाटन जानु नपर्ने भयो,’ तिवारीले भने।

पाटन र भक्तपुर दरबार स्क्वायरमा पनि यस्तै शैली देखिन्छ। भक्तपुरमा त चारधाम नै स्थापना गरिएको छ।

दरबार स्क्वायरपछि दोस्रो तहको खुला संरचनामा इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोक पर्छन्। यी मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्, जहाँ किनबेच हुन्छ। इन्द्रचोक, असन अहिले पनि प्रमुख बजारमै पर्छन्। यहाँ दुई–तीन सय वर्ष पुराना पसल छन्।

तेस्रो तहमा सहरभित्रका बहाल छन्। जस्तो– इन्द्रचोकबाट चोखाछेँ गल्ली छिरेपछि आउने इटुम्बहाल। यस्ता बहालमा मन्दिर, पाटी लगायत सामाजिक जमघट निम्ति पूर्वाधार बनेका हुन्छन्। पूजाआजादेखि बिहे–ब्रतबन्ध र घाम ताप्नेसम्म यहीँ हुन्छ।

बहालभन्दा भित्र स–साना चोक हामी देख्छौं, जुन त्यही टोलका मान्छेले बढ्ता प्रयोग गर्छन्।

‘त्यतिबेला सहरको मध्यभागमा पार्क बनाउने, रूखबिरुवा लगाउने चलन थिएन। यति हुँदाहुँदै तह–तहको खुला सार्वजनिक ठाउँ छाडिन्थ्यो,’ उनले भने, ‘त्यहाँ गुजमुज्ज सहरले सास फेर्ने ठाउँ पाउँथ्यो।’

किराँतदेखि मल्लकालसम्मको समृद्ध र संस्कारी सहरमा एउटा अभाव भने खट्कन्छ।

सहरमा एउटै चर्पी देखिन्न।

‘स्वर्ण युग’ मल्लकालमा समेत हाम्रा पुर्खाले चर्पीमा शौच गर्न जानेका थिएनन्। कलात्मक बुट्टा कुँदिएका आकर्षक घर बनाउँथे, चर्पी बनाउँथेनन्। हुन त पछिल्लो तथ्यांकअनुसार अहिले पनि देशभरी ५ प्रतिशत घरमा चर्पी छैन, त्यो बेग्लै कुरा हो!

काठमाडौं सभ्यताको पहिलो शौचालय भक्तपुरका राजा भूपतिन्द्र मल्ल (सन् १६९६–१७२२) को दरबारमा फेला परेको छ। दरबारको तल्लो भागमा शौच गर्न छुट्टै कोठा बनाइएको तिवारी बताउँछन्।

चर्पी नभएपछि त्यतिबेलाका मान्छे शौच गर्न कहाँ जान्थे? शौचालय नहुँदा सहर फोहोर र दुर्गन्धित किन थिएन?

दिसा–पिसाब गर्न बस्तीबाहिर खुला ठाउँ छुट्टयाइएको हुन्थ्यो। त्यसलाई ‘खिखःमुगः’ भनिन्थ्यो। बस्ती सकिएर भिरालो लाग्न थालेपछि यस्तो ठाउँ बनाइन्थ्यो। सार्वजनिक भए पनि महिला र पुरुषलाई अलग–अलग तोकिन्थ्यो। शौचको निम्ति हरेक टोलले आफ्नो क्षेत्र छुट्टयाएका हुन्थे।

सबेरै शौच समय सकिएपछि दिसा सोहोर्ने मान्छे आउँथे। यस्तो काम गर्न छुट्टै समुदाय तोकिएको थियो। ती मान्छेले दिसा सोहोरेर खेतमा लैजान्थे र बाँकी फोहोर पानीले सफा गर्थे।

खुला शौचको चलन भए पनि सरसफाइमा ध्यान दिइन्थ्यो। त्यतिबेला काठमाडौं थुम्को छिर्नुअघि नर्कटको कान्लै कान्ला हुन्थ्यो। यो घारी शौचपछि बगेको पानी शुद्धीकरण निम्ति हो। नर्कट घारीबाट बगेपछि पानी शुद्ध भएर तल झर्थ्यो।

पानी शुद्धीकरणको यो तरिका लिच्छविकालमा पनि प्रयोग भएको पाइन्छ। लिच्छविकालीन एक शिलालेखमा बानेश्वरको दक्षिणपूर्वी क्षेत्रमा ‘नटकट वाटिका’ (नर्कट बगैंचा) रहेको उल्लेख छ।

परम्परागत ढुंगे धारा (हिटी)। फाइल तस्बिर: सेतोपाटी

तिवारीका अनुसार संसारमा दिसालाई सोझै मल हाल्ने आधा दर्जनजति समुदाय थिए। तीमध्ये नेवार एक हो।

संरचना निर्माण र इञ्जिनियरिङमा पोख्त काठमाडौं सभ्यतामा खुला शौचको अवधारणा त्यत्तिकै बनेको भने होइन।

‘यो त्यतिबेलाको कृषिप्रधान समाजको आवश्यकता थियो,’ तिवारी भन्छन्, ‘प्राकृतिक मलखादको विकल्प थिएन। उनीहरूले यसैलाई जीवनशैली बनाए। यो पनि काठमाडौं सभ्यताको हिस्सा हो।’

काठमाडौं सभ्यताको दुई हजार वर्ष यात्रामा एउटा कुरा प्रस्ट देखिन्छ– सहर बदलिए पनि संस्कृति बदलिएको छैन। बाहिरी आवरणमा आधुनिकताको लेप त छ, तर भित्री तहमा काठमाडौं सभ्यता जिउँदै छ। ती अँध्यारा, साँघुरा घर जिउँदै छन्। ती सडक उस्तै छन्, जुन लिच्छविले ज्यामितीय शैलीमा बनाए। ती गल्ली उस्तै छन्, जहाँ आज पनि द्यो छेँ र पिठबीच जात्रा चल्छ। सहरको भविष्य कोर्ने योजना बनाउँदा काठमाडौं सभ्यताको यो इतिहास फर्केर हेर्नुपर्ने तिवारी बताउँछन्।

‘काठमाडौं सभ्यता भत्किएको छैन, बिग्रेको छ,’ उनी भन्छन्, ‘यसलाई पुनर्निर्माण गर्दा हाम्रो सम्पूर्ण कोशिस काठमाडौं सभ्यतालाई उही भर्भराउँदो अवस्थामा फर्काउने हुनुपर्छ।’

स्थानीयले यो सभ्यता आजसम्म बचाएर हाम्रो त्यो कोशिस सजिलो बनाइदिएका छन्।

ख्वपृंगको जात्रा नै हेरूँ न। सहरको नाउँ बदलिएर के भो! रीतिथिति बदलिएर के भो!

सभ्यता आज पनि उस्तै छ।

हो, ख्वपृंगमा आज पनि जात्रा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.