गगनविरुद्ध विवेकशील साझाले उठायो २६ वर्षिया सुबुना


स्थानीय तहको निर्वाचनमा काठमाडौं  महानगरपालिकाबाट २३ वर्षिया रञ्जु दर्शनालाई उम्मेदवार बनाएको विवेकशील साझा पार्टीले काठमाडौं ४ मा यसपटक २६ वर्षिया सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ।

रञ्जु भने यसपटक २५ वर्ष उमेर नपुगेका कारण उम्मेदवार बन्ने छैनन्। सुबुनाको प्रतिस्पर्धा  यसपटक काँग्रेसका नेता गगन थापासँग हुनेछ। थापा यसअघि पनि काठमाडौं क्षेत्र नं ४ बाट विजयी भैसकेका छन्। स्थानीय तहको निर्वाचनमा काँग्रेसको काठमाडौं क्षेत्र नं ४ मा भोट घटेको छ। त्यहाँ एमालेको भोट बढेको छ भने बुढानिलकण्ठ नगरपालिकामा एमाले विजयी भएको छ।

एमालेले सांसद राजन भट्टराईलाई क्षेत्र नं ४ बाट उम्मेदवार सिफारिस गरिसकेको छ। २६ वर्षिया सुबुनाको प्रतिस्पर्धा गगन थापा र राजन भट्टराईसँग हुने प्रबल सम्भावना छ। इलाममा जन्मेकी सुबुनाले राजधानीकै किंग्स कलेजबाट एमबिए गरेकी छिन्। उनी चार वर्ष अघि विवेकशील नेपाली मञ्चमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्।

विराटनगरको बिरामीलाई रगत खोजिदिन सहयोग पुर्‍याउने संस्था युथ फर ब्लड हुँदै सामाजिक कार्यमा संलग्न सुबुना अहिले विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत छिन्। पार्टीमा उनले उद्यमशीलता र विकास विभागको नेतृत्व गरिसकेकी छिन्।

परिवारमा ४ दिदी बहिनीमा कान्छी सुबुना आफैँ पनि उद्यमशील छिन्। भाईको अध्ययनमा सघाउ पुर्‍याउन गृह जिल्ला इलामबाट घ्यू र खुर्सानी  काठमाडौं ल्याएर बेच्ने काम गर्छिन्। सेतोपाटीसँगको कुराकानीमा उनले भाईको अध्ययनमा सहयोगका लागि सामान्य व्यापार गर्ने गरेको बताईन्। इलाममा सुबुनाको आमा पसल सञ्चालन गर्छिन्। बुवा भर्खरै वन कार्यालयको सुब्बाबाट रिटार्यड भएका छन्।

गगन थापासँगको प्रतिस्पर्धामा उत्रन लागेकी सुबुनालाई निर्वाचन रोमाञ्चक लागिरहेको छ। गगन थापा राम्रो मान्छे भएपनि गलत राजनीतिक दलबाट उम्मेदवार बनेकाले सुबुना आफ्नो दल र आफूलाई जनताले भोट दिने विश्वासमा छिन्। उनी आफूलाई गगनसँगको प्रतिस्पर्धामा  ग्लानी वा डरको अनुभूती नभएको बताउँछिन्। ‘चुनाव हो, ‘फ्री कम्पिटिसन’ हो। भोटरलाई आकर्षण गर्ने हो’, सुबुना भन्छिन्, ‘विकास र समृद्धिका लागि चुनावमा उठेको हुँ। एजेण्डा बोकेर उठेकी हुँ।’ उनले भनिन् ‘गगन थापा राम्रो हुनुहुन्छ तर उहाँ आफैँले पार्टी नराम्रो भनिराख्नु भएको छ। उहाँले नेतृत्व गर्ने आँट गर्न सक्नुपर्छ’, सुबुना आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउँदै भन्छिन्, ‘उहाँ व्यक्ति विरुद्दभन्दा पनि बेथिती विरुद्द  म चुनावमा उठेको हुँ। विकास र समृद्धिको ढोका खोल्न उठेकी हुँ।’

यो पनि हेर्नुहोस्

विवेकशील साझाले टुंग्यायो उम्मेदवार, रवीन्द्र मिश्र काठमाडौं-१ बाट चुनाव लड्ने

राजधानीमा लिफ्ट मागिदिने केटी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.