सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह सुरू भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ।
प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै थियो। तर केही समयदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भिन्न बस्दै आएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक सुरू भएको जानकारी दिए। उनले फेसबुकमा सचिवालय बैठकको तस्बिर राख्दै नयाँ बसाइको व्यवस्थापनका साथ भन्ने उल्लेख गरेका छन्।
गत बुधबार बसेको सचिवालय बैठकमा ओली-प्रचण्डको आसन सँगै थिएन। त्यस दिन प्रचण्डले आफू कार्यकारी अध्यक्ष भए पनि बस्ने ठाउँ हेरफेर गरिएकोमा असंतुष्टि जनाएका थिए।
सचिवालय बैठक र केन्द्रीय कमिटीमा पनि अध्यक्ष बस्ने ठाउँ नमिलेको प्रचण्डको भनाइ थियो। ‘अध्यक्षहरूको कुर्सी राख्ने कुरामा फरक गरिएको छ’ भन्ने प्रचण्डको असंतुष्टि थियो।
आजको बैठकमा गत बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कोरोनासंक्रमणपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको सन्दर्भमा छलफल हुनेछ।
यो पनि:
सचिवालय बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति