प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्। पार्टीको सचिवालय बैठक सुरू हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भएको राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीलाई बतायो।
‘राष्ट्रपति-प्रधानमन्त्री वान टु वान छलफल भएको हो,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘छलफलमा के विषयमा कुराकानी भयो खुलाइएको छैन।’ प्रधानमन्त्री ओली साढे ४ बजे राष्ट्रपति निवास पुगेका थिए।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले कार्यालयबाट बाहिरिसकेका छन्। प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब एक घण्टा कुराकानी भएको थियो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले नेकपा सचिवालय बैठक छ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्नुअघि उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। शनिबार ४ बजे बोलाइएको नेकपा सचिवालय बैठक पनि प्रधानमन्त्रीको व्यस्तता बढेको भन्दै ५:३० बजेका लागि सारिएको थियो।
नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष छाड्न प्रधानमन्त्री ओलीलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको दवाव छ। गत बुधबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमणपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव प्रधानमन्त्री ओलीले राखेका थिए।
आजको बैठकमा प्रचण्ड-नेपाल समूहले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई ठोस रूपमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गर्ने तयारी गरेका थिए।