सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले तल्ला कमिटीसँग मंसिर १४ गते भएको उपनिर्वाचनको समीक्षा मागेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले निर्वाचन भएका प्रतिनिधि सभा, प्रदेश सभा, गाउँ/नगर र वडा कमिटीलाई समीक्षा पठाउन भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘दाङको घोराही-१६ मा हाम्रै बागी उम्मेदवारका कारण हारिएको हो। अरू ठाउँमा पार्टीभित्र अन्तरघात भएको कुरा आएको छैन, ’ श्रेष्ठले भने,‘आफ्नो क्षेत्रमा के भएको हो भन्नेबारे दुई दिनभित्र समीक्षा पठाउन सम्बन्धित कमिटीलाई भनेका छौं।’
गत शनिबार भएको उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेश सभा सदस्य र धरान उपमहानगरमा मेयर गुमाएको थियो। दुई वर्षअघि नेकपा (तत्कालीन एमाले/माओवादी केन्द्र) ले जितेका ६ वडामा पनि यसपालि नेपाली कांग्रेसले जितेको छ।
६ दशकदेखि कम्युनिष्टको गढ रहेको धरानमा पराजित भएपछि नेकपाभित्र हारको कारणबारे बहस जारी छ।
पढ्नुस्:
आजको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको श्रेष्ठले बताए।
उनका अनुसार अर्को सचिवालय बैठक २३ गतेका लागि बोलाइएको छ।
‘उक्त बैठकमा स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल हुन्छ,’ श्रेष्ठले भने।
मंसिर ५ गतेको सचिवालय बैठकले प्रचण्डलाई पार्टी काममा बढी केन्द्रित हुने गरी जिम्मा दिएको थियो। उनले पार्टीको बैठकको आमरूपमा अध्यक्षता गर्ने निर्णय पनि बैठकले गरेको थियो।
उक्त निर्णय भएपछि प्रचण्डले आज पहिलो पटक सचिवालय बैठक बोलाएका हुन्।