सुनसरीको धरान नगर सधैँ नै कम्युनिष्टको गढ रही आएको हो।
नेपालमा पहिलो पटक बहुदलीय व्यवस्थाअन्तर्गत २०१५ सालमा संसदीय र स्थानीय निकायको निर्वाचन भएको थियो। त्यतिबेला संसदमा कांग्रेसको दुई तिहाइ आएको थियो भने स्थानीय निकाय पनि उसैको वर्चश्व थियो।
त्यस्तो बेलामा पनि धरानले भने वाम मेयर छानेको थियो। वामपन्थी नेता केदारप्रसाद खनाल मेयर निर्वाचित भएका थिए। २०४६ सालको आन्दोलनपछि बहुदल आयो। २०४८ सालमा संसदीय र स्थानीय निकायको निर्वाचन भयो।
त्यो बेला र त्यसयता कहिल्यै पनि यो पूर्वी शहरले कांग्रेस मेयर छानेन। संसदीय निर्वाचनमा पनि यहाँ वामपन्थीको यस्तो अधिपत्य थियो कि एमालेले विराटनगर गृहनगर भएका आफ्ना अध्यक्ष मनमोहन अधिकारीका लागि २०४८ सालमा सुनसरी-१ नै छानेको थियो। सुनसरी-१ मा धरान नगरपालिका पर्थ्यो। त्यसयता त्यो क्षेत्रबाट पनि वामपन्थीबाहेक अरू सांसद चुनिएका छैनन्।
यसपालि मेयरमा कांग्रेसका तिलक राईलाई निर्वाचित गरेर धरानले ६० वर्षदेखिको त्यो अविछिन्न इतिहासमा ‘ब्रेक’ लगाइदिएको छ।
६ दशक लामो किल्ला विपक्षीले भेद गरेपछि नेकपामा आन्तरिक समीक्षा र केही आरोप-प्रत्यारोप सुरू भएको छ।
प्रदेश नेतृत्वले तल्लो तहमा उचित व्यवस्थापन गर्न नसकेकै कारण धरान उपमाहानगरपालिका गुमाउनु परेको नेकपाका प्रदेश १ कमिटी सदस्य एवम् पूर्वसांसद रेवतीरमण भण्डारीले सेतोपाटीलाई बताए । प्रदेश १ का नेकपा इन्चार्ज भीम आचार्य हुन्। आचार्य नेकपाका स्थायी समिति सदस्य र प्रदेश सांसद छन्।
‘नेतृत्वको दम्भ, अहंकार र व्यवस्थापकीय कमजोरीले धरानमा ६० वर्षदेखिको हाम्रो किल्ला भत्किएको हो,’ भण्डारीले भने।
२०७४ मा भएको निर्वाचनमा आएको मतको अंकगणितलाई आधार बनाएरमात्रै निर्वाचन जित्न सकिन्न भन्ने नेतृत्वले बुझ्न नसकेको भण्डारीको आरोप छ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेका तारा सुब्बा २० हजार ९ सय मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका तिलक राईले १६ हजार १ सय मत पाएका थिए। तत्कालीन माओवादीले ११ हजार १सय मत ल्याएको थियो। माओवादीले तत्कालीन समाजवादी फोरमलगायतका दलसँग तालमेल गरेको थियो। तर ११ हजारमध्ये ठूलो मत माओवादीकै थियो।
यसरी एमाले र माओवादी जोडेर हेर्दा धरानको पछिल्लो निर्वाचनमा नेकपाको कांग्रेसभन्दा झन्डै दोब्बर मत थियो।
त्यसैले सजिलै जितिन्छ भन्ने नेकपाको आँकलन थियो। कांग्रेसका लागि भने जित सपनाजस्तो थियो। तै कांग्रेसले हार मानेन।
दोस्रो पटक मेयरको टिकट पाएका कांग्रेस नगर सभापति तिलक राईका पछि पार्टी एक ढिक्का थियो। स्थानीय सरकारप्रति धरान नगरमा मतदाताको असन्तुष्टीलाई आफ्नो पक्षमा बदल्न कांग्रेस भगिरथ प्रयत्नमा जुट्यो।
नेकपाका नेता-कार्यकर्ता भने एकातिर जित्नेमा ढुक्क थिए। अर्कोतिर आन्तरिक असन्तुष्टी र नदेखिने कलह थियो।
पूर्वएमाले र पूर्वमाओवादीबीच तल्लो तहसम्म एकता हुन नसक्नु पराजयको अर्को कारण बन्न पुगेको नेकपाको ठहर छ।
नेकपा धरान नगर कमिटी अध्यक्ष नारायण सुवेदीले बलियो आधारभूमिमा पार्टीलाई धक्का लाग्नुमा एकीकरणपछिको संगठन मुख्य कारण भएको बताए।
‘पार्टी एकीकरण भयो, लामो समय कमिटी क्रियाशील रहेनन्। उपचुनावको प्रचारप्रसारमा ध्यान दिने बेला संगठन निर्माणमा केन्द्रित हुनुपर्यो,’ उनले भने, ‘एकीकरणपछि धेरै साथीहरू जिम्मेवारविहीन छन्, निष्कृयता छ, पीडा छ। उम्मेदवारी कसले पाउने भन्नेमा पनि सकस भयो, त्यसको फाइदा विपक्षीलाई भयो,’ उनले भने।
सुवेदीका अनुसार पार्टी संगठन समयमा नबन्दा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशित कसले गर्ने भन्ने संयन्त्रको अभाव रह्यो। जनप्रतिनिधिले जनताको अपेक्षाअनुसारको काम गरे-गरेनन् अनुगमन र निर्देशन गर्ने संयन्त्र भएन।
‘अनुगमन निर्देशन गर्ने काम भएन। संघीयताको अभ्यासमा रहँदा नगरमा केही खर्च बृद्धि (कर)का कुरा जोडले आए, हामीले यस्ता कुरामा ध्यान पुर्याउन सकेनौं,’ उनले भने।
यसपालि नेकपाको प्रभाव भएका वडामा खसेको मतले पार्टीको आन्तरिक असन्तुष्टी देखाउँछ।
धरानको १५,१७ र २० नम्बर नेकपाको सबैभन्दा बढी पकड भएका वडा हुन्। यी वडामा कांग्रेससँग तीन देखि चार हजार मतको अन्तर रहने नेकपाको आँकलन थियो। विगतको चुनावी अंकगणितले पनि त्यही भन्थ्यो।
तर यसपालि यी तीन वडामा नेकपाले कांग्रेसभन्दा ४ सयले मतले मात्र अग्रता लियो।
गत निर्वाचनमा वडा नम्बर १७ मा पूर्वमाओवादीले जितेको थियो। दोस्रोमा पूर्वएमाले र कांग्रेस तेस्रो थियो। यो वडामा माओवादीले १८९९, एमालेले १३९५ मत ल्याउँदा कांग्रेसले जम्मा १०३२ मत पाएको थियो।
यसपालि नेकपाले २२६५ मत ल्याँउदा कांग्रेसले २२२५ मत ल्यायो। अर्थात् नेकपाले कांग्रेसभन्दा ४० मतमात्र धेरै ल्यायो।
१७ नम्बर वडा गनिसक्दा कांग्रेसमा आशा पलाउन थाल्यो- जितिन्छ कि क्या हो!
१५ नम्बर वडामा पनि नेकपाले अपेक्षा गरेअनुसार मत ल्याउन नसकेपछि कांग्रेसले यसपालि पासा पल्टिने देखिसकेको थियो। किनभने १४, १, २ र ५ उसैले जितेका वडा थिए भने बाँकी वडामा प्रतिस्पर्धा थियो।
चुनाव हारेपछि नेकपाभित्र उम्मेदवार पनि ठीक नपरेको गुनासो सुनिन थालेको छ।
‘उमेदवार चयनको प्रक्रिया पनि पारदर्शी हुन सकेन। जसले गर्दा कार्यकर्तामा अपनत्व भएन,’ भण्डारीले भने, ‘सुकुम्बासी समस्या समाधानका लागि उचित विकल्प दिन सकिएन, कर बढी किन उठाइयो भनेर कारण दिन सकिएन, अनि सहरी क्षेत्र भएकाले मतदाताले विकल्प रोज्न सक्छन् भन्नेतर्फ पनि ध्यान दिइएन।’
उम्मेदवार प्रकाश राईका केही व्यक्तिगत कमजोरी पनि हारको कारण रहेको एक स्थानीय नेताले सेतोपाटीलाई बताए।
राई इमान्दार कार्यकर्ता भए पनि भाषण गर्न सक्ने, जनतामा प्रभाव पार्न सक्ने क्षमताको अभाव रहेको उनले बताए।
‘अहिले जनतालाई आश्वासन दिनेदेखि पार्टी कार्यकर्तालाई समेत विश्वासमा लिन सक्ने उम्मेदवार चाहिन्थ्यो,’ ती नेताले भने,‘प्रकाश राई पार्टीका लागि खट्ने मान्छे त हुन् तर उनको व्यक्तित्व लो प्रोफाइलमा बस्ने खालको छ।’
नेकपाको सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका राई सुन व्यवसायी हुन्।
नेकपाभित्र हारको थप विश्लेषण हुने नै छ। आरोप-प्रत्यारोप पनि केही समय चल्नेछ। तर त्यसले भत्किएको इतिहास बदल्ने छैन।
काठमाडौंमा सार्क खेलकुद जारी छ। खेलको भाषामा तिलकले कांग्रेसलाई एउटा स्वर्ण दिलाएका छन्।
धरानको मेयर र भक्तपुरको प्रदेश सभा देखाएर अब कांग्रेसले भन्नेछ- चुनाव हामीले जित्यौं। यसपालि उपनिर्वाचन भएका ५२ मध्ये बहुसंख्यक स्थान जितेर पनि धरानको हार भने नेकपाका लागि नमीठो हुनेछ।