श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन्।
संसद भंग गरेका सिरिसेनाले बढ्दो राजनीतिक संकटबीच जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गरेर अक्टोबर २६ मा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
विक्रमासिंघेले राष्ट्रपतिको कदम असंवैधानिक भन्दै प्रधानमन्त्रीबाट हट्न अस्वीकार गर्दै आएका छन्।
अहिले पनि उनी प्रधानमन्त्री निवास टेम्पल ट्रीमै बसिरहेका छन्।
श्रीलंकामा कार्यकारी राष्ट्रपति र सीमित अधिकार भएका प्रधानमन्त्रीको संवैधानिक व्यवस्था छ। तर पछिल्लो पटक संशोधित संविधानमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई स्वेच्छाले हटाउन सक्ने प्रावधान छैन।
संसदमा विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा मात्र राष्ट्रपतिले आफूलाई हटाउन सक्ने दाबी विक्रमासिंघेले गर्दै आएका छन्। यसैबीच, राष्ट्रपति सिरिसेनाले भने संसद नै भंग गरिदिएका छन्।
विक्रमासिंघेको संयुक्त नेशनल पार्टी (यूएनपी) का एक सांसदले संसद भंग गर्ने कदम ‘अवैध’ मानिने र यो अस्वीकृत हुने बताए।
सम्बन्धित समाचारहरू :
के हो श्रीलंकाको राजनीतिक संकट?
श्रीलंकामा अचानक बदलियो सत्ता समिकरण, पूर्वराष्ट्रपति राजापाक्षे बने प्रधानमन्त्री