बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो। सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री बालुवाटारमा बस्छन्। तर प्रधानमन्त्रीहरूले यो सुविधालाई सरकारी निवासमात्र सीमित राखेका छैनन् सरकारी सम्पत्तिलाई उनीहरूले आफ्नै पार्टी कार्यालय र निजी सम्पत्तिजस्तो बनाइरहेका छन्। पार्टीका आन्तरिक बैठकदेखि अन्य भेटघाट र भोज पनि त्यहीँ आयोजना गर्छन्।
शनिबार यस्तैखाले एउटा भेला प्रधानमन्त्री निवासमा हुँदैछ। त्यो भेला प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीको पनि होइन, उनको वंशको हो।
सामाजिक सञ्जालमा ओली वंशको साधारण सभाबारे सूचना राखिएको छ।
सूचनामा सबैलाई साढे १० बजे प्रधानमन्त्री क्वार्टर बालुवाटारमा डाकिएको छ।
ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उनका बुवा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम छ।
‘प्रधानमन्त्रीले मलाई अभिनन्दन गर्ने भए बालुवाटारमै आउनू भन्नु भएकाले त्यहीँ कार्यक्रम गर्न लागेका हौं,’ कोषका एक जना सदस्यले सेतोपाटीसँग भने, ‘चार/पाँच सय मान्छे भेला हुन्छन् होला। खाजाको पनि व्यवस्था गरेका छौं।’
उनका अनुसार ओली वंशको साधारण सभाको कार्यक्रम तीन/चार घन्टासम्म चल्नेछ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओली वंशको भेला बालुवाटारमा हुन लागेको पुष्टि गर्दै यो सामान्य कुरा भएको बताए।
‘भोलि उहाँको पारिवारिक कार्यक्रम हो। प्रधानमन्त्री बसेको ठाउँमा पार्टी कार्यकर्ता, शुभचिन्तक र परिवारका मान्छे आउँछन्। यो कुन ठूलो कुरा भयो र?,’ अर्यालले भने।
पूर्वप्रशासक र नागरिक अगुवाले सरकारी ढुकुटीबाट खर्च हुने भएकाले यस्ता कार्यक्रममा बालुवाटारमा आयोजना गर्नु अनुचित भएको बताउँदै आएका छन्।
गत माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लगातार बालुवाटारमा राखेपछि पूर्वमुख्यसचिव लीलामणि पौडेल,सचिवहरू शारदा त्रिताल र कृष्ण ज्ञवालीले सार्वजनिक रूपमै त्यो अनुचित भएको बताएका थिए।
प्रधानमन्त्री कार्यालयमा लामो समय काम गरेका एक सचिवका अनुसार, यस्ता कार्यक्रममा हुने खर्च एकमुष्ट बिल प्रधानमन्त्री निवासको बैठक खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयमा आउँछ।
त्यतिबेला सेतोपाटीसँग कुरा गर्दै नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र प्रदीप ज्ञवालीले पार्टी र अन्य संस्थाका कार्यक्रम बालुवाटारमा गर्नु राम्रो नभएकाले त्यसलाई रोक्नु पर्ने बताएका थिए।
यो पनि पढनुस्:
फागुनमा दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले भने त्यो क्रमलाई निरन्तरता दिइरहेका छन्। पार्टीका बैठकमात्र होइन तत्कालीन एमाले र माओवादी केन्द्रको एकता घोषणापछिको भोज पनि बालुवाटारमै भएको थियो। त्यो भोजका लागि कुर्सी मिलाउन नेपाली सेनाका जवानलाई खटाइएको थियो।
२०६२/६३को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो। त्यही बेलादेखि मन्त्रिपरिषद् बैठक पनि प्रधानमन्त्री निवासमा बस्ने चलन सुरू भयो।
त्यतिखेर केही कर्मचारीहरुले मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नुपर्ने आवाज उठाए। तर कोइरालाको स्वास्थ्यका कारण निवासमै मन्त्रिपरिषद् बैठक बस्न थाल्यो।
'२०६२/६३ पछि पार्टी बैठक पनि बाक्लै बालुवाटार बस्न थाले, त्यतिखेर प्रधानमन्त्रीका सल्लाहकारलाई पार्टीका बैठक निवासमा बस्न हुन्न भनेर हामीले सम्झाएका थियौं, तर हाम्रो कुरा कसैले सुनेन,' पूर्वसचिव शारदा त्रितालले भने।