कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन्। उनले अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन जान लागेको जानकारी दिए। उनले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए।
बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो।
श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा पुगेका मन्त्री तामाङले आफूले आजसम्म महिला अधिकारका कुरा उठाएका तर अहिले त्यही कुराले आफूलाई लखेटेको बताए।
पत्रकार सम्मेलनको सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूबारे चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए। उनका आँखा रसाएका थिए। केहीबेर उनको गला अवरूद्ध भएको थियो।
दोस्रो चरणको पत्रकार सम्मेलनमा उनले राजीनामा घोषणा गरेका थिए।
आफूले बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएर हालेको उनको गुनासो थियो।







सबै तस्बिरहरूः नारायण महर्जन