हाम्रो जीत नेतृत्वमा हावी पुरुषवादी मानसिकताको पराजयः बिना मगर


महिला सांसदसँग अन्तर्वार्ता-श्रृंखला-४

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन्। तीमध्ये तीन जना पहिलो पटक सिंहदरबार प्रवेश गर्दैछन्। तीमध्येकी एक हुन कञ्चनपुर–१ बाट निर्वाचित माओवादी नेतृ बिना मगर।

बिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह बिष्टलाई दोब्बर मतान्तरले हराएकी हुन्। प्रदेश नम्बर ७ बाट प्रतिनिधि सभामा प्रत्यक्षबाट आएकी बिना एकमात्र महिला सांसद हुन्। नवनिर्वाचित सांसद मगरसँग चुनावी जीत र उनका आगामी योजनाबारे सेतोपाटीले गरेको कुराकानीः

पुरुष उम्मेदवारलाई हराएर चुनाव जित्नुभयो, कस्तो लागिरहेको छ?
मुख्यतः कञ्चनपुर जिल्लाबाट महिला उम्मेदवार भएर जितेको इतिहास छैन। त्यो इतिहासलाई मैले परिपुर्ति गरें। एकदमै खुसी लागेको छ।

तपाई कसरी राजनीतिमा लाग्नुभयो?
२०५१ सालमा ११ वर्षकै उमेरदेखि तत्कालीन नेकपा (माओवादी)मा बाल कलाकारको रूपमा प्रवेश गरेकी हुँ। २०५६ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुर अध्यक्ष भएँ।

‘जनयुद्द’ का क्रममा २७ महिना जेलनेल हुँदै मेरो राजनीतिक जीवन अघि बढ्यो। विद्यार्थीका हकअधिकारका लागि संघर्ष गर्ने क्रममा रत्नराज्य क्याम्पसको स्ववियू सदस्य समेत भएँ। २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी निभाएँ। पुनः ६४ मा दोस्रो पटक अध्यक्ष भएँ।

सशस्त्र युद्ददेखि नै राजनीतिमा लाग्नुभयो, चुनावमा टिकट पाउनचाहिँ कत्तिको गाह्रो भयो नि?

मलाई त्यस्तो गाह्रो भएन। यो क्षेत्रबाट म पहिला पनि चुुनाव लडिसकेकी थिएँ। त्यही भएर पनि सजिलो भयो।

महिला भएकै कारण चुनाव प्रचारप्रसारमा केही समस्या भोग्नु पर्यो कि परेन?

महिला भएकै कारण चुनावी प्रचारप्रसारमा समस्या भोग्नु परेन। मलाई परेको शोक (चुनावको केही दिनअघि उनका पति प्रकाश दाहालको निधन भएको थियो) लाई ख्याल गर्दै वाम गठबन्धनका साथीहरू मेरो आवाज लिएर फिल्डमा पुगे। म त २÷४ दिन मात्र फिल्डमा हिडें। त्यही पनि मेरो आवाज क्षेत्र नम्बर–१ का जनतासामु पुग्यो ।

तपाईंको विचारमा नेपाली महिलाले अहिले भोग्नु परेको मुख्य समस्या के–के हुन?

महिलाको समग्र सामाजिक, आर्थिक समृद्धि हुन नसक्नु मुख्य समस्या हो। यसका लागि उनीहरूको शिक्षाको सहज पहुँच छैन।महिलाहरूले व्यवहारिक शिक्षा पाएका छैन्। शिक्षा र सीप नभएकाले महिलाहरू आर्थिक उपार्जनमा लाग्न सकेका छैनन्।

आर्थिक अधिकारबाट बञ्चित महिलाहरूले स–साना कुरामा पनि पुरुषमाथि निर्भर हुनुपरेको छ। यसले उनीहरू जीवनका हरेक पक्षमा असर गरेको छ। आर्थिक रुपमा बलिया महिलाले नै आफ्नो आवाज बुलन्द बनाउन सक्छन्, आर्थिक परनिर्भरता नै नेपाली महिलाको मुख्य समस्या हो।

ती समस्या समाधान गर्न संसदले के–कस्ता कानुन बनाउनु पर्ला?
धेरै कानुन बनेकै छ। व्यवहारमा लागु नभएका मात्र हुन्। तिनै नीति–नियम पालना गराउन अब म भूमिका खेल्नेछु।

संसदमा गएर के–के विषय उठाउनुहुन्छ?
महिलाका सवालदेखि सीमा सुरक्षाका विषयसम्म संसदमा उठाउनेछु। सीमा विवादको विषयलाई कम गर्न सीमा अनुगमन, सीमा सुरक्षालाई ध्यान दिनेछु। कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा तीव्र विकास गर्नुपर्ने आवश्यकता छ। त्यसैले त्यहाँको आर्थिक वृद्धि, स्वास्थ्य, शिक्षा लगायत पूर्वाधार विकासका लागि काम गर्नेछु। महिलाहरूको हक अधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकासमा मेरो भूमिका हुनेछ।

सरकारमा कम महिला सहभागी गराउने चलन छ जबकी दोस्रो जनआन्दोलनपछि ‘स्पिरिट’ सरकारका हरेक अंगमा ३३ प्रतिशत महिला हुनुपर्छ भन्ने छ, मन्त्रिमण्डलमा महिला सहभागिता बारे के भन्नुहुन्छ?

महिलालाई नेतृत्व दिनै नचाहने पुरुषवादी मानसिकता अझै पनि सबै पार्टीमा हावी छ। त्यही मानसिकताले कतिपय महिला नेतृमा काम गर्न सक्छु भन्ने हिम्मत कम भएको छ। तर केही महिला प्रत्यक्षमै चुनाव लडेर जिते। हाम्रो जीतले सबै पार्टी नेतृत्वको पुरुषवादी मानिसकता पराजीत भएको छ।

अब सरकारमा पनि महिलाको उल्लेख्य सहभागिता हुनुपर्छ किनकी सांसदमात्र भएर भन्दा मन्त्री अझै धेरै काम गर्न सकिन्छ। म मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिताका लागि आवाज उठाउनेछु।

यी पनि पढ्नुस्:

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.