प्रधानमन्त्री केपी ओलीको हावाबाट बिजुली निकालेर देशलाई वर्षदिनमा लोडसेडिङ मुक्त पार्ने महत्वकांक्षी योजनासँग जोडिन्छन् द गुर्खाज युके कम्पनीका मालिक, बसन्त भुजेल। भुजेलकै योजना सुनेर प्रधानमन्त्री ओलीले उत्साही हुँदै हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङ मुक्त पार्ने भाषण गरे।
२ पाउण्ड चुक्ता पूँजी र खातामा जम्मा ९५० पाउण्ड नगद भएका कम्पनीका मालिक भुजेलले प्रधानमन्त्रीलाई कसरी यति ठूलो पोजेक्टका लागि कन्भिन्स गरे? वर्षदिनमा हावाबाट तीन सय मेगावाट र तीन वर्षभित्रै ३,००० मेगावाट विद्युत निकाल्न कसरी सम्भव ठाने ? त्यसका लागि उनले लगानीको जोहो कसरी गर्लान्? यस्ता केही प्रश्न बोकेर हामी भुजेललाई भेट्न भैसेपाटीको उनको निवास पुग्यौं।
न खातामा पैसा न कामको अनुभव, हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङ मुक्त पार्ने आइडिया आखिर उनको दिमागमा कसरी फुर्यो? कुराकानीको सुरुवात यहीँबाट भयो।
‘मैले सुशील कोइराला सरकारका बेला पनि डिजेल प्लान्ट राखेर १०० मेगावाट बिजुली निकाल्ने प्रस्ताव गरेको थिएँ, उनले भने ‘त्यतिबेला मेरो योजना कसैले सुनेन्, ओलीजीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भनेको सुनेपछि मलाई हावाबाट बिजुली निकालेर मात्र त्यो सम्भव छ भन्ने लाग्यो, किनकि डिजेल प्लान्ट चलाउन भारतले तेल दिएकै छैन।'
उनले हावाबाट बिजुली निकाल्ने योजना साथीभाइलाई सुनाए। मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजना नेकपा एमालेकी पूर्व सांसद टासी स्याङमो गुरुङसेनीसम्म पुग्यो। ‘मेरो जिल्लामा काम गर्ने भए प्रधानमन्त्री ओलीलाई म भेटाइदिन्छु‘ टासीले भनिन। उनैले भुजेललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने चाँजोपाँजो मिलाइदिइन्।
भेटमा प्रधानमन्त्री ओलीलाई भुजेलले भने– हजुरले बोलेको कुरा पुरा गर्ने एउटा बाटो छ, हावाबाट बिजुली निकाल्ने।
‘मेरो कुरा सुनेर उहाँ छक्क पर्नु भो, मुस्ताङमा त ढुंगा उडाउने हावा चल्छ भनेर ठट्टा गर्नु भो‘ उनले भने,‘त्यसपछि मैले हावाबाट वर्षदिन ३०० मेगावाट बिजुली निकाल्ने आफ्नो योजना सुनाएँ।‘
मेरो योजना सुनेपछि प्रधानमन्त्रीले भन्नुभयो– उहाँको योजना जसरी पनि पुरा गर्नुपर्छ। कानुनहरू बाधक हुन्छन् भने 'फास्ट ट्रयाक'बाट सबै अडचन पन्छाएर भएपनि यो काम गर्नुपर्छ।
ओलीको प्रतिक्रियाले भुजेल खुसी भए। ‘खुसी हुनुको पनि कारण छ‘ उनले भने, 'हामीले सन् २००२ मा नेपालमा हावाबाट बिजुलीको सम्भाव्यताबारे आफ्नै खर्चमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाएको थियौं। तर त्यतिबेला त्यो प्रतिवेदन टेबलमुनि थन्काइदिए। ओलीजीले भने आफू लागिपर्ने बताउनुभयो।'
प्रधानमन्त्रीले एक भेटमै पत्याएका बसन्त बहादुर भुजेलको 'ब्याकग्राउण्ड' के हो ?
गुल्मी सदरमुकाम तम्घासका भुजेल २० वर्षको उमेरमै २०३६ सालमा बेलायती सेनाको टेक्निकल युनिटमा भर्ति भए। भर्ती हुँदा उनले पोखराको गण्डकी बोर्डिङ स्कुलबाट सेन्ट अप पास गरेका थिए। बेलायती सेनामै उनले इन्जिनियरिङ तालिम पाए। सुरुमा उनले हङकङमा ६ महिने तालिम गरे, जसमा बाटो, बिजुली, पुल, भवन निर्माण सबै समेटिएको हुन्थ्यो। पछि बेलायतमा उनले रोयल मिलिटरी कलेजमा थप अध्ययन गरे र छ महिने प्राक्टिकलका लागि साइप्रस गए। बेलायती सेनामै रहेर मध्य अमेरिकी देश बेलिज, हङकङ, दक्षिण कोरिया, मलेसिया लगायतका देशमा उनले सडक, पुल, विमानस्थल निर्माणमा काम गरे। उनी सन् १९९५ मा सेक्सन कमान्डर बनेर अवकाश भए। उनको सैनिक जीवन यही सकियो।
जागिरबाट फर्केपछि उनले सन् १९९५ मा द गुर्खा इन्जिनियर एण्ड सर्भिस इन्टरनेशनल प्रालि कम्पनी काठमाडौंमा दर्ता गरे। त्यो कम्पनीले बाटो, पुल, घर, भवन, सिचाइँ आयोजनामा काम गर्थ्यो।
‘यहाँका लाहुरेका घर, भैंसेपाटीको टाउन प्लानिङ, बबई सिंचाइ आयोजनाको सब वे टनेल र डुम्रे–बेसीशहर सडक खण्डमा हाम्रो कम्पनीले काम गरेको हो', उनले भने।
१९९९ डिसेम्बरमा उनको कम्पनीले गुल्मी र बागलुङको सीमामा पर्ने दारम खोला जलविद्यूत आयोजना (५ मेगावाट) को उत्पादन लाइसेन्स पायो। प्राधिकरणसँग पिपिए पनि गर्यो। तर उनले काम गर्न सकेनन्। त्यो आयोजना रोकियो। बैंकबाट लिएको ऋण तिर्न नसकेपछि उनको कम्पनी 'ब्लयाक लिस्टेड' भयो। भुजेल, उनकी श्रीमती मिना र जयन्ती कुमारी मुखियाका नाममा रहेको द गुर्खा इन्जिनियर एण्ड सर्भिस इन्टरनेशनल प्रालि अहिले पनि कर्जा सूचना केन्द्रमा 'ब्ल्याक लिस्टेड' कम्पनि हो, किनकि उनले ऋण तिरेका छैनन्।
नेपालमा आफूलाई 'सुरक्षा चुनौती' भएको ठानेर उनी सन् २००३ मा बेलायत हान्निए।
बेलायतमा उनले टनब्रिजस्थित एउटा स्कुलमा जागिर पाए।
सन् २००५ मा द गुर्खाज युके लिमिटेड कम्पनी दर्ता गरे। सो कम्पनीले वेल्स र लण्डनमा निर्माणसम्बन्धी सानोतिना काम गर्थ्यो। त्यही कम्पनी अन्तर्गत उनले गोर्खा एजेन्सी र गोर्खा क्लिनिङ पनि दर्ता गरे। गोर्खा एजेन्सीले बेलायत पुगेका नेपालीलाई काम खोजिदिने, पूर्व लाहुरेलाई सेक्युरिटी गार्डको काम मिलाइदिने गर्छ भने गोर्खा क्लिनिङले घर कार्यालय लगायतका ठाउँमा सरसफाईको काम गर्छ।
बेलायतमै हुँदा उनलाई 'हार्ट स्ट्रोक' भयो। उनको शरीरको एक भाग कम चल्ने भयो। बेलायतको पिआर पाइसकेका भुजेल सन् २०१२ मा नेपाल फर्किए। 'स्ट्रोकको उपचारका लागि गर्नुपर्ने फिजियोथेरापी यहाँ राम्रो र सस्तो हुन्छ भनेर नेपाल फर्किए' उनले भने।
नेपाल फर्किएपछि खासै केही नगरी बसेका भुजेलको हावाबाट बिजुली निकाल्ने योजनाबाट प्रधानमन्त्री ओली प्रभावित भएपछि उनी एकएक चर्चामा आए। ओली क्याबिनेटले उनको कम्पनीको प्रक्रिया अघि बढाउन लगानी बोर्डलाई लिखित निर्देशन पनि दियो। भुजेल एक वर्ष भित्र देशलाई लोडसेडिङ मुक्त गर्ने प्रधानमन्त्री ओलीको सपनासँग जोडिए।
खातामा पैसा नै नभएको र हावाबाट बिजुली निकालेको कुनै अनुभव नभएको उनको कम्पनीले कसरी पार लाउँछ काम?
‘नेपालमा पो कम्पनीको पुँजी देखाउनु पर्छ, भुजेलले भने ‘बेलायतमा कम्पनी दर्ता गरे पुग्छ, पैसा राखिरहनु पर्दैन, सर्भिस चार्ज काट्ने चल्ती खातामा कसले पैसा राख्छ?' उनले आफ्नो कम्पनी बेलायतको रेटिङमा फाइभ स्टार कम्पनी भएको बताए।
‘अनि पैसा नभएको कम्पनीले कसरी बिजुली निकाल्छ?‘ भन्ने प्रश्न भुइँमा खस्न नपाउँदै उनले भने ‘विन्ड इनर्जी मा काम गर्ने डेनमार्कको भास्टा कम्पनी, युरोपियन इन्भेष्टमेन्ट बैंक, ग्रिन इनर्जीमा काम गर्ने केही बेलायती बैंकले हामी लगानी गर्छौं भनेका छन्, उनीहरू नेपालमा जति पनि लगानी गर्न तयार छन्। मेरा केही धनी साथीहरूले पनि हामी लगानी गर्छौ, देशमा केही गर्नुपर्छ भनेका भन्यै छन्।‘
उनले आफ्ना साथीभाइसँग अहिले पनि २०० मिलियन पाउण्ड नगद भएको उल्लेख गर्दै भने– 'लाहुरेहरू त्यसै पनि 'मुडे' हुन्छन्। लगानी गरिहाल्छन्।'
तपाईंलाई कसरी यत्रा बैंक र लागानिकर्ताले पत्याउँछन् जवकी तपाईंको कम्पनीसँग हावाबाट बिजुली निकालेको कुनै अनुभव वा विशेषज्ञता छैन?
‘त्यो सबै मैले टनब्रिजको स्कुलमा काम गर्दाको सम्बन्धबाट भएको हो,उनले भने ‘स्कुलमा धेरै धनीका छोराहरू पढ्न आउँथे, उनीहरूसँग मेरो सम्बन्ध अहिले पनि राम्रो छ', उनले स्पष्टिकरण दिए। टनब्रिज स्कुलमा उनी स-साना प्राविधिक काम गर्थे- बिजुली, पानी, धाराको काम।
विदेशीले उनलाई वित्तिय सहयोग गरे भनेपनि नेपालमा हावाबाट विजुली निकाल्ने नीति स्पष्ट छैन। ठोस सम्भाव्यता अध्ययन पनि भइसकेको छैन। अबको एक वर्षमा कसरी ३ सय मेगावाट बिजुली निकाल्न सकिएला?
उनले भने ‘हामीले अबको एक वर्षमा ३०० मेगावाट बिजुली निकाल्ने भनेका होइनौं, पिपिए भएको वर्षदिनमा ३०० सय मेगावाट बिजुली निकाल्छौं भनेका हौं।‘
प्रधानमन्त्री ओलीले बचन दिए अनुसार 'फास्ट ट्रयाक'बाट काम भएमा अबको ३ महिनामा पिपिए हुने उनको आशा छ। तर प्रधानमन्त्री ओलीको कार्यालयले उनीसँग अचेल सम्पर्क गरेको छैन।
अब उनी के गर्लान्?
‘म त काम गर्छु नि। हामीले लगानी बोर्डबाट डिपिआरका लागि पत्र पाइसकेका छौं, कसले के भन्छ कसले के भन्छ हामीलाई सरोकार छैन, म हतोत्साही भएको छैन‘ उनले भने।
प्रधानमन्त्री ओलीलाई हावादारी गफ गरेको भनेर उडाउने र आफ्नो कम्पनीको हैसियतमाथि नै प्रश्न चिन्ह खडा गर्नेले आफूलाई हतोत्साही नबनाएको उनले बताए।
‘त्यही भएर साथीहरूले मलाई भन्या छन् मिडियासँग धेरै नबोल्नु। तिनीहरू कुरा बिगारीदिन्छन्, उनले भने ‘मलाई मिलाएर कुरा गर्न आउँदैन, जे हो त्यही भनिदिन्छु।'
उनले नेपालमा लोडसेडिङ भयावह भएको, अहिलेका प्रधानमन्त्री हावाबाट बिजुली निकाल्न लागि परेको, विदेशी बैंक र साथीभाइले पैसा लगानी गर्न आफूलाई वचन दिएको र जलविद्युतभन्दा छिटो उत्पादन हुने भएकाले आफ्नो योजनामा विश्वास गर्न आग्रह गरे।
कुराकानीको अन्त्यमा भने-३०० मेगावाटको ठाउँमा ३० मेगावाट मात्रै बिजुली निकाल्न सकियो भनेपनि धेरै राहत हुन्छ। म त्यसैका लागि प्रयास गरिरहेको छु।‘
भुजेलले लामो ज्याकेट र ट्राउजर लगाएका थिए। हामीले फोटोका लागि लुगा फेर्ने मन छ कि भनेर सोध्दा उनले ब्यंग्य साँधे – सुट टाइ लगाउनु पर्ने म अर्बपति होइन, म त दुई पाउन्ड भएको कम्पनीको मालिक हुँ!
तस्बिरहरु : भरतबन्धु थापा
यो पनि पढ्नुस्: