मुस्ताङ जाने रहर पुरानै हो । तर मौका जुरेको थिएन । सोह्रश्राद्धका क्रममा कागबेनीमा स्नान गरे पितृ तर्ने जनविश्वास रहेछ । समय अनि साथीको अभावका कारण पुरानो योजना थाती थियो । तर पितृ उद्धार गर्ने ममीको चाहनाले दशैंअघि हिमालपारीको जिल्ला जाने साइत जुर्यो ।
टेलिभिजन अनि पत्र पत्रिकामा देखिएको त्यहाँको दृश्यावलीले यात्रा निकै रोमाञ्चक हुने विश्वास मनमा थियो । ढिलो हिंडे गन्तव्य नपुगिने भयका कारण बिहानै जोमसोम हिंड्ने सोचका साथ म्याग्दी जीप तथा व्यवसायी समितिमा टिकट काट्न पुगें ।
पाँचै बजे पुगे पनि त्यहाँ हामी भन्दा निकै पहिल्यै ठूलो जमात जम्मा भैसकेको रहेछ । पहाडी जिल्ला नै भए पनि पृथ्वी राजमार्गको धेरै हिस्सा जोडिएको तनहुँमा एक भन्दा धेरै स्थानीय तथा राष्ट्रिय समिति अस्तित्वमा भएका कारण यातायात सेवामा प्रतिष्पर्धा छ ।
यात्रुले विकल्प रोज्न सक्छन् । तर त्यहाँ त्यसो रहेनछ । एउटै समितिको मात्र बस वा जीप चढ्नुपर्ने । तर टिकट सहजै पाए त हुने नि । निकै सास्ती बेहोर्नुपर्ने रहेछ । अन्त भन्दा बिल्कुलै फरक त्यहाँ अन्यत्रका रिजर्भ सवारी साधन लान नपाइने अघोषित सिण्डिकेट रहेछ । अनि त्यही समितिको सवारी चढ्न पनि पुरै सिटको भाडा तिर्नुपर्ने । २८ जना चढ्ने बस अनि १२ जना चढ्ने जीप जे चढ्नुपरे पनि एकमुष्ट भाडा नबुझाउँदासम्म सुखै नपाइने ।
त्यसो गर्न नसके अरु मान्छे खोजेर कोटा पु¥याएरै भए पनि गन्तव्य रोज्नुपर्ने । बल्लतल्ल जम्मा भएका विभिन्न ठाउँबाट आएका यात्रु गुहारेर बस भर्ने जोहो गरे पछि टिकट काटियो।
अब शुरु भयो जोमसोमतिरको यात्रा । कालिगण्डकीको तिरैतिर साँघुरो अनि भिरालो बाटो हुँदै सुन्दर रुप्से लगायत झरना दृश्यपान गर्दै अघि बढ्दो रहेछ मुस्ताङ यात्रा ।
करिब चार घण्टापछि बस एकाएक रोकियो, सानो पहाडी बजार घाँसामा । घाँसा म्याग्दी र मुस्ताङको सीमा रहेछ । त्यहाँबाट बस बदल्नुपर्ने नियम रहेछ । यात्रु वा कसैले चाहेर पनि म्याग्दीबाट आएको बस मुस्ताङ जान नसक्ने रहेछ । घाँसासम्म म्याग्दी बस तथा जीप व्यवसायीको सिण्डिकेट अब मुस्ताङ बस तथा जीप व्यवसायी समितिको काँधमा हस्तान्तरण हुँदो रहेछ ।
फेरि पूर्ववत २८ जना खोज्ने काम सकिएपछि जोमसोमसम्मको टिकट काटियो । आधुनिक खुल्ला प्रतिष्पर्धाको अर्थतन्त्रमा यति साह्रो संस्थागत सिण्डिकेटले जरा गाडेको रहेछ कि सरकारको निकै माथिल्लो निकायले जान्दा पनि यो हट्न सकेको रहेनछ ।
सेतोपाटीमा मुख्य सचिवको निर्देशनमा सिण्डिकेट हटेको र जुनसुकै सवारी मुस्ताङ प्रवेश गर्न पाउने भन्ने खबर मित्था भइसकेछ । सिण्डिकेटको नयाँ रुप अनुभव गरेपछि घाँसाबाट जोमसोमतिरको यात्रा थालियो ।
खाडी राष्ट्रमा बालुवाको मरुभूमि देखेको आँखाले आफ्नै देशको माटो र गिटीको मरुभूमि देख्न पायो । तर पनि आफ्नै देशको मरुभूमि प्यारो लाग्यो । यात्राका क्रममा मार्फा र लेतेमा देखिएको हरियाली वर्णन गर्न लायक थियो ।
हेर्दा उजाड लाग्ने जमिनमा त्यहाँका किसानले उब्जाएको फापर, मकै, आलु अनि उवा हेर्न लायक थियो । जनशक्ति अभावमा खेतै बाँझो भएको देखेको आँखाका लागि सीमित जनशक्ति भएको उजाड भूमिमा हरियाली देख्नु दुर्लभ दृश्य थियो, देखियो ।
बसमै ठोक्किने गरी फलेका स्याउका हाँगा देख्दा वास्तविक मुस्ताङमा प्रवेश भएको भान भयो । घाँसाबाट करिब तीन घण्टाको रफ्तारपछि कालीगण्डकीको तिरैतिर धुलो उडाउँदै अघि बढेको बसले जोमसोम पुगेको संकेत दियो ।
पहिलो दिनै कागबेनी पुग्न सकिएमा भोलीपल्ट मुक्तिनाथ यात्रा गरेर जोमसोम झर्ने योजना चारजना संलग्न समूहमा बन्यो । त्यसका लागि टिकट काट्न काउण्टर नपुग्दै बाटो बन्द भएको खबर पाएपछि मन चिसो हुन पुग्यो ।
म्याग्दी जीप तथा बस व्यवसायी समितिको काउण्टर पुगेपछि थाहा भयो, नयाँ समिति दर्तामा अवरोध भएपछि कालिगण्डकी पारीको कोबाङ अनि आसपासका गाउँलेले जीप र बस दुबै बन्द गरेका रहेछन् ।
हिउँदमा नदी तारेर गाउँसम्म बस र जीप पु¥याइदिन गरेको बाचा समितिले तोडेपछि आफ्नै समिति दर्ता गरेर सवारी खरिद गरेका स्थानीय त्यसको सञ्चालनमा अवरोध हुन लागेको थाहा पाएपछि आगो भएका रहेछन् ।
हिंडेर करिब दुई घण्टामा पुग्ने खबर जिल्ला कारागार जोमसोममा कार्यरत प्रहरी नायब निरीक्षक नवीन पन्थबाट पाएपछि हिंडेरै भए पनि कागबेनी पुगेर बास बस्ने योजना बन्यो ।
तर हामी हिंडेको आधा घण्टा नबित्दै भोलीपल्ट सम्मका लागि सवारी सञ्चालन गर्न दिने सहमति प्रशासनमा बनेको रहेछ । धुलो उडाउँदै जीप आउन थाले जोमसोम कटिसकेकाले फेरि काउण्टर जान सम्भव थिएन । बीचमा आएका जीप सबै भरि भराउ ।
देशैभरबाट पितृको श्राद्ध अनि तर्पणका लागि जम्मा भएकाहरुको भीड बिहानैबाट थियो । बाग्लुङबाट आएका बटुकहरु वैदिक मन्त्रपाठ गर्दै थिए । हामीले पनि आफ्ना पितृलाई तर्पण दियौं । अब हाम्रो अन्तिम गन्तव्य मुक्तिनाथ थियो ।
त्यहाँ जानका फेरि ग्रुप पु¥याएर काउण्टर जानुपर्ने नियम कायमै थियो । त्यसका लागि पनि सय जनाको लाईन बनिसकेको रहेछ । अब अरु बिकल्प नभएपछि ड्युटीमा रहेका एक प्रहरी हवल्दार गुहारियो । उनले चार जनालाई दुईवटा जीपमा राखिदिने बताए ।
उनको सहयोगपछि हाम्रो यात्रा मुक्तिनाथतिर बढ्यो । हामी अघि बढ्दै गर्दा ग्रुप पु¥याउन नसकी यता उता हिंडिरहेका दाजुभाई दिदिबहिनीहरुको निन्याउरो अनुहार देखेर पैसा हुँदा पनि सेवा नपाउने नयाँ यथार्थ महसुस भयो ।
सिडिओको अक्षमताले सैयौंलाई सास्ती
साँझ जोमसोम बसेपछि भोलीपल्ट जहाजमा पोखरा फर्कने चाहना मौसमका कारण पुरा हुन सकेन । हावाको चाप बढेपछि पाँच उडान गर्ने भनेको तारा एयर एउटामै सीमित भयो । तीन उडान गरेको सिम्रिकले चौथो हाम्रो सहित दुईवटा उडान रद्द गरेपछि हामीसंग अर्को दिन कुर्नुको विकल्प रहेन ।
तर बिडम्बना दोश्रो दिन निकै ढिलो जहाज आउने थाहा पाएपछि निकै कठिनपूर्वक पाएको टिकटको अर्थ रहेन । हामीले बसबाटै भोली फर्कने निधोका साथ टिकटको पैसा फिर्ता लियौं । भोलीपल्ट बिहान टिकटका लागि बस काउण्टर पुग्दा त लाइन निकै लामो बनिसकेको रहेछ । अनि ग्रुप पु¥याउनैपर्ने पुरानै बाध्यता ।
केही दिन अघि रु ४ सय १५ रहेको भाडादर व्यवसायीले आफ्नै निर्णयमा रु ४ सय ८५ पु¥याएपछि प्रशासनले रातारात बाग्लुङमा बसेको यातायात व्यवस्था समितिको बैठकको हवाला दिंदै रु ३ सय ९० पु¥याउन निर्देशन दिएछ ।
तर पनि व्यवयसायीले नयाँ दरमै टिकट भने काटे । टिकट काटेपनि उनीहरुको दाउ अर्कै रहेछ । जब २३ वटा बसको टिकट फुल भैसकेपछि पुरानै भाडामा बस नचल्ने खबर आयो । समितिका पदाधिकारीले घाटा खाएर बस नचलाउने बताए । औंसी स्नानपछि जोमसोम आउने भन्दा फर्कने यात्रुको चाप बढी थियो । त्यसका लागि घाँसाबाट रित्तो भएपनि बस जोमसोम ल्याउनुपथ्र्यो ।
समयमा विरोध नगर्ने तर टिकट काटेर पछि घाटा हुन्छ भन्नु खराब नियत शिवाय केही थिएन । काउण्टरमा जाँदा समिति पदाधिकारी दोष प्रशासनमाथि थोपर्दै आन्दोलन गर्न प्रशासन जान यात्रु उकास्दै थिए ।
अघिल्लो दिनको निर्णय लागु गराउन नसक्ने प्रजिअका कारण पटक पटक सास्ती पाएका यात्रुको त्यो श्रृंखला फेरि दोहोरिने भयो । समितिले बस नचलाउने पक्का भएपछि यात्रुको ठूलो समूह प्रशासनमा गयो । यात्रुहरु बढी भाडा तिरेरै भएपनि घर पुग्ने पक्षमा थिए ।
अन्ततः व्यवसायीले बढाएको दरमा रु १० कम गर्ने गरी भाडा लिने सहमति भयो । टिकट काटिसकेपछि यात्रुले फेरि भाडा थपेर समितिलाई बुझाए । त्यति भएपछि बस त समयमै आउनुपर्ने नि !
तर बिहान ७ बजे आउने भनेको बस निकै ढिला गरी दिउँसो साँढे दुई बजे मात्र आइपुग्यो । आफूले गरेको निर्णय लागु गराउन नसक्ने असक्षम सिडिओका कारण एक हजार बढी यात्रुले दिनभर जसो सास्ती बेहोर्नुपर्यो ।
घाटै नलाग्ने व्यवसाय
जोमसोमको यातायात व्यवसायमा धेरैका लागि आश्चर्य लाग्नसक्ने तथ्य छन् । करिब ५० को हाराहारीमा व्यवसायी रहेका यस समितिमा घाटा कसैले बेहोर्नु नपर्ने रहेछ । भएको नाफा दामासाही । जुन गाडिले जति यात्रु बोके पनि सबै हिसाब समितिले राख्दो रहेछ अनि वर्षमा २।३ पटक भाग लगाईंदो रहेछ ।
दशैंका बेला दैनिक करिब रु ५ लाखको व्यवसाय गर्ने समितिले अरु बेला यात्रु कम हुने सिजनमा पनि नाफा पाइराख्नका लागि यस्तो नियम बनाएको रहेछ । सहयोगी नहुने यहाँका बस वा जीप यात्रुले काउण्टरमै पुगेर भाडा बुझाउनुपर्ने रहेछ । नाफा बराबर आउने भएपछि यहाँ समितिको निर्णय नै सर्वेसर्वा हुँदो रहेछ ।
भीडका बेला सधैं सास्ती
हरेक वर्ष सोह्रश्राद्धको समय कागबेनी अनि मुक्तिनाथ जाने यात्रुको भीड लाग्ने गर्दछ । तर त्यही भीडलाई आधार बनाएर यहाँका यातायात अनि होटल व्यवसायी बढी कमाउने धन्दामा उत्रँदा रहेछन् ।
कुनै बहानामा यातायात बन्द गराएर होटलको व्यापार बढाउनु अनि यातायातको भाडा बढाउनु यहाँको नियमित काम रहेछ । यात्रुको सुरक्षार्थ खटिएका एक प्रहरी सहायक निरीक्षक भन्दै थिए, ‘यहाँ हरेक वर्ष यस्तै चल्छ ।’ उनको भनाई पछि अर्को वर्ष पनि यस्तै दोहोरिन्छ भन्ने पक्का बुझ्न सकिन्थ्यो ।
व्यवसायीका दोहोरो दाऊ
जोमसोमको बस तथा जीप समितिका सदस्य अधिकांशजसो व्यवसायीको जोमसोम, कागबेनी तथा लेते लगायतका ठाउँमा होटल व्यवसाय रहेछ । यस अर्थमा विभिन्न नाममा यातायात बन्द भए त्यसबाट उल्टो उनीहरुलाई फाइदा हुने रहेछ ।
अलपत्र यात्रुले आफ्नै होटलमा खाने तथा बस्ने अनि चढ्नका लागि आफ्नो गाडिको विकल्प नभएपछि उनीहरु सकेसम्म समस्या समाधानमा चासो नदिने रहेछन् ।
गत बुधबार पनि त्यस्तै भयो । पहिले सरासर नयाँ दरमा टिकट काटेका उनीहरुले नयाँ सहमति भएको निकै बेरपछि दिउँसो बस चलाए । तर त्यसबीचमा जोमसोम बजारमा रु ५ लाख जतिको होटल व्यवसाय भैसकेको थियो । जता व्यापार भएपनि आफैलाई हुने भएपछि उनीहरुलाई यात्रुको समस्याले पिरोल्दो रहेनछ ।
छायाँ प्रशासन हावी
राजतन्त्रकालमा जोमसोममा अर्कै शासन चल्छ भन्ने सुनिएको थियो । तर राजतन्त्र र राजा रजौटा समेत उन्मूलन भएर गणतन्त्र आइसकेको मूलुकमा अझै पनि दोहोरो प्रशासन चल्ने कुनै ठाउँ छ भने त्यो मुस्ताङ नै रहेछ ।
प्रजिअ बाबुराम भण्डारीले भाडा घटाउन दिएको निर्देशन बाध्य भएर परिवर्तन गर्नु यसको गतिलो उदाहरण हो । मुखिया प्रणालीमा विश्वास गर्ने धनाढ्य बहुल जोमसोममा सरकारी कर्मचारीले उनीहरुको चाहना पुरा नगरे जुनसुकै बेला जे पनि हुने खतरा रहेछ ।
पैसाको बलमा कर्मचारीको सरुवा अनि उस्तै परे भौतिक आक्रमण यहाँको वास्तविकता रहेछ । कहिलेकाहिं हुने प्रशासन र मुखियाबीचको तिक्तताको मार सर्वसाधारणले भोग्नुपर्ने रहेछ ।
यो पनि हेर्नुहोस