सेतोपाटीमा प्रकाशित 'डिआइजीहरुलाई तजबिजी अंक दिँदा पक्षपात' भन्ने खबर पढ्न पाउँदा अब नेपालमा साँच्चै प्रजातन्त्र आयो, बर्दी लाउनेले पनि आफ्नो प्रजातान्त्रिक हक खोज्न आँट गर्न थाले भन्ने अनुभूति भयो। नेपालमा कुनै दिन यस्तो पनि आउला, जुन दिन सबैलाई शान्ति र सुरक्षा दिन्छु भनेर रगतपसिना सुकाएर, जिउज्यानको बलिदान दिएर बर्दी लगाएकाले बोल्नु हुन्न; चिमटे कोतरे, अन्याय गरे, मारे पनि ऐय्यासम्म पनि भन्न हुन्न भन्ने संस्कारको अन्त्य हुन्छ। त्यो संस्कार (कुसंस्कार) लाई आँखा चिम्लेर समर्थन गरेमा संगठन प्रमुख नै कोपभाजन बन्नुपर्छ भन्ने जान्दाजान्दै पनि संगठन प्रमुख भनेको स्वर्गको आसन हो भन्ठान्ने समर्पणमुखी व्यवहारले नै नेपालको प्रहरी जीर्ण रोगीजस्तै भैसकेको छ।
आफूसँगै जन्मिएका, हुर्किएका र जीवनको सुखदुख बाँडेका आफ्ना सहकर्मीसँग छल गर्न, आफ्नो स्वार्थको लागि संगठनका सहकर्मीलाई न्यायअन्यायमा बोल्न नसक्ने संगठन प्रमुखहरुले यसैगरी प्रहरी संगठन चलिरहन्छ भन्ठान्छन्। त्यो भनेको सुतुरमुर्गले आपत् आइलाग्दा टाउकोमात्र जमिनमुनि लुकाएर सुरक्षित छु भन्नेठान्नुजस्तै हो। यो कत्तिको बुद्धिमानी कामकुरा हो भनी म एआइजीको पदोन्नतिका मूल्यांकनकर्तालाई सोध्न चाहन्छु।
जब बालकृष्ण ढुंगेललाई सर्वोच्चले जेलको सजाय दिने फैसला गर्यो, त्यसबेला उनीसँगै तत्कालीन काठमाडौँ महानगर प्रहरी प्रमुख कुबेरसिँह रानालाई विशाल जनसभामा सँगै मेचमा बस्न बाध्य गराइयो। नेपालका भविष्यका आइजिपीलाई अपमान र हीनताको बोध गर्न बाध्य पारियो। कुबेरसिंह राना, नवराज ढकाल र भीष्म प्रसाईंमा को आइजिपी बन्ने प्रतिष्पर्धामा प्रहरीको राशनको बोलपत्रजस्तो गरी यो मेरो र यो तेरो भनी तँछाड र मछाड भएको सबै जनताले छर्लङ्गै देखे। त्यसभन्दा अघिका आइजिपी हाल एनेकपा माओवादीका सांसद नियुक्त भएका छन्।
यसले पनि के देखाउँछ भने माओवादीसँग युद्धरत प्रहरी कमाण्डर माओवादीका कति नजिक र प्यारा रहेछन् र उनलाई माओवादी कति प्यारो रहेछ। जब गृह मन्त्रालयमा विजयकुमार गच्छदार उपप्रधान र गृहमन्त्री थिए, गृहमन्त्रालयमा छिर्नैबित्तिकै उनका प्रिय गणेशजी; गणेश लामाको दर्शन नगरी प्रवेश नै निस्फल हुन्थ्यो। अब गच्छदार गाउँ गए, गणेश लामा जेल गए तर तिनले गरेको संगठनको विचलनका सिकार कति छन् कति संगठनमा। उनीभन्दा अघिका आइजिपी रमेश चन्द ठकुरी आफैँमा एक इमान्दार र व्यवसायिक पुलिस हुँदाहुँदै उनका तत्कालीन हाकिम ओमबिक्रम राणाको निर्णयको समर्थन गरेकै कारणले नेपाल प्रहरीको त्यत्रो गरिमामय पदबाट बञ्चित हुन कर लाग्यो। पूर्व आइजिपी ओमबिक्रम राणा र सुडान घोटालाबारे कस्ले के के गरे भनेर जान्न नेपालका सांसद टोलीलाई सुडानसम्म पुगेर आउन पर्यो। आज तिनै राणाको सौजन्यले लुँड्याएको नेपालको धनले रुबेल चौधरी कहाँ के मस्ती गर्दै होलान्। अब हामीजस्ताको त कुरै नगरौं, मानव श्रोत बिभाग प्रमुखलाई जन-आन्दोलन दबाउने भनेर र तपाईँकै संगठनका एआइजी राजेन्द्रबहादुर सिंहलाई रायमाझी आयोग लगाएर संगठनबाटै निलम्बन गरियो। अंग्रेजीमा एउटा उखान छ, इनफ इज इनफ अर्थात “अब अती भो।”
इतिहासको संयोगले हो वा केले हो, योमात्र यस्तो मौका हो, जहाँ आफ्नै ब्याचको साथीले आफ्नै ब्याचको साथीहरुलाई न्याय दिने वा महाभारतको जस्तो “नरो हो वा कुन्नरो हो” भनेर आँखा चिम्लेर सही ठोक्ने अवस्था देखिएको छ।
अब आयो पालो अख्तियार दुरुपयोग आयोगको। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हिसाबकिताब र अंकको मामलामा अति नै निपुण छ। अख्तियारले कत्राकत्रा कर्मचारी र कार्यालयहरुको हिसाबकिताबको पाइपाइ खोट निकाल्न सक्छ भने सेतोपाटीमा बढुवा समितिले दिएको नम्बरको औचित्यबारे केही गर्छ कि गर्दैन? कि सेतोपाटीले छापेको सत्य होइन बनेर खण्डन गर्नुपर्यो। होइन भने ३० वर्षको शान्ति सुरक्षा जस्तो संवेदनशील कामको कार्यसम्पादन मूल्याकंनमा जम्मा तीन जना मिलेर तीन मिनेटमा आफ्नो मनलाई सोधेर विशिष्ट श्रेणीको पदोन्नतिमा कसरी जे मन लाग्यो त्यही गर्न पाउँछन्?
नेपाल प्रहरीमा २५ वर्ष अनवरत सेवा गरेको र अनुभव बटुलेको नाताले म के भन्न सक्छु भने नेपाल प्रहरीमा एकाध अफिसरले मात्र मैलै मेरो कार्यकाल भरि घुस खाएको छैन भनेर जनतासमक्ष भन्न सक्छन्। दुर्भाग्यवश (मूल्यांकनकर्ताहरुका लागि) यसपालिको प्रमोसनमा नपर्ने त्यस्ता व्यक्ति परे, जो जनतासमक्ष मैले भ्रष्टाचार गरेको छैन भनेर चुनौती दिन सक्छन्। यसकारणले पनि अब गृहमन्त्रीलगायत सबै मूल्यांकनकर्तालाई टेलिभिजनअगाडि राखेर ‘श्रीमदभागवत्’ छोएर “मैले जिन्दगीभर भ्रष्टाचार गरेको छैन” र यसमा पनि पैसाको चलखेल गरेको छैन बनेर सपथ खुवाउनुपर्यो। अनि सबै जनताले पत्याउलान्, यसपालिको प्रहरी पदोन्नतिमा सबै उपरवालाले साँच्चिनै निष्पक्ष र न्यायपूर्ण तरिकाले काम गरेका रहेछन् भनेर।
यो पनि पढ्नुहोस
यसकारण पर्नुपर्थ्यो यी चार
डिआइजीहरुलाई तजबिजी अंकु दिँदा पक्षपात