संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका १० बुँदे माग राख्दै आमरण अनसन बसेपछि स्वास्थ्य अवस्था गम्भिर भएर अस्पताल भर्ना भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल वीर अस्पताल पुगेका छन्। अस्पताल पुगेका खनालले अध्यक्ष महतोको पछिल्लो स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए।
एमाले अध्यक्ष खनालले उच्चस्तरीय राजनीतिक समितिका शिर्ष नेताबीचहरु बिच छलफल भईरहेको र एक दुई दिनै भित्रै चुनाबको मिति घोषणा गर्न सरकारलाई आग्रह गरिने भएकाले आमरण अनसन तोडन आग्रह गरेका थिए। यसै गरि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का महासचिव अकवाल अहमद साह, अधिवक्ता सुरेन्द्र महतो, स्तम्भकार सिके लाल, समाज सेवी दिगम्भर झा, लगायतका व्यत्कीहरुले पनि महतोलाई भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको केन्द्रिय सदस्य उपेन्द्र महतोले जानकारी दिए।
आमरण अनसनपछि स्वास्थ्य अवस्था विग्रिएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका अध्यक्ष राजेन्द्र महतोलाई जन्डीसको समस्या देखिएको अस्पताल स्रोतले बताएको छ। यसैबिच सद्भावना पार्टीका अध्यक्षलाई अमरण अनसनबाट जबरजस्ती अस्पताल भर्ना गरिएको बिरोधमा सद्भावना पार्टीले आज मधेशका २२ जिल्लामा आव्हान गरेको बन्दले उक्त क्षेत्रको जनजिवन प्रभावित भएको छ।
संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका माग राखि आमरण बस्दा समेत माग पुरा नभएको भन्दै निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पूननिर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशश्त्र समुहलाई चुनावी प्रक्रियाबाट मुलधारमा ल्याउने, नेपाल–भारत सीमामा भारतीय रुपैयाँ सटही काउन्टर स्थापना, मल, खाद्यका लागि राहत, सरकार, संवैधानिक निकाय र अदालत लगायतका स्थानमा समानुपातिक समावेशी नियुक्ति लगायत १० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी सदभावना पार्टीका महासचिव मनिस कुमार सुमनले बताए।