काठमाडौं, चैत २४ (सेतोपाटी)– एक सातायता दक्षिण कोरियासँग तनाव बढ्दै गएपछि उत्तर कोरियाले प्योङयाङस्थित विदेशी कुटनीतिक नियोगका अधिकारीहरुलाई युद्ध भड्के उनीहरूको सुरक्षाको जिम्मा आफूले लिन नसक्ने उल्लेख गरेको छ । उत्तर कोरिया सरकारले उनीहरूलाई देश छाड्नेबारे विचार गर्नसमेत आग्रह गरेको छ ।
यसले दक्षिण कोरिया र उत्तर कोरियाबीच भड्किनसक्ने सम्भावित युद्धको संकेत गरेको छ । प्योङयाङ सरकारले कुटनीतिक नियोगहरूलाई बुधबारसम्म दूतावास खालि गर्न सघाउने जानकारीसमेत शुक्रबार दिएको छ । बेलायतले भने अहिले नै उत्तर कोरियास्थित दूतावास बन्द गरिनहाल्ने प्रतिक्रिया दिएको छ । उत्तर कोरिया सरकारले बुधबारको मितिमा जोड दिनुको कारणबारे नबुझिएको बेलायती दैनिक टेलिग्राफले लेखेको छ ।
उत्तर कोरियाका नेता किम जोङ उनले शक्तिशाली हतियार निरीक्षण गर्दै गरेको दृश्य स्थानीय सरकारी टेलिभिजनले प्रसारण गरेपछि तनाव झनै गहिरिएको छ । उनले निरीक्षण गरेका हतियारमा रकेट लन्चर जडान गरिएको जहाजसमेत छ । यसअघि यो साताको सुरुमा आफ्नो सैन्य शक्ति निरीक्षणका क्रममा उत्तर कोरियाका नेता किमले बन्दुक पड्काएर युद्धको संकेत गरेका थिए ।
उत्तर कोरियाको आणविक शक्तिबारे दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कार्यक्रम सार्वजनिक भएपछि कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा तनाव बढ्दै गएको हो । उत्तर कोरियाको सेनाले आफू अमेरिकामाथि आक्रमण गर्न तयारी अवस्थामा रहेको बताएको थियो भने दक्षिण कोरियाका रक्षामन्त्रीले जापान वा आफ्नो देशसम्म लक्षित क्षेप्यास्त्र उत्तरले पूर्वी किनारातर्फ प्रहार गरिसकेको दाबी गरेका थिए । जवाफमा दक्षिण कोरियाले क्षेप्यास्त्र तथा रक्षात्मक प्रणालीसहितका दुई युद्धजहाज छोडिसकेको टेलिग्राफले शनिबार लेखेको छ ।
प्रकाशित मिति: 2013-04-06 19:58:29