श्याम भट्ट, काठमाडौं, चैत २२– उपत्यकाका प्लस टु पुस्तामा लागु औषध प्रयोगको लत बढ्दै गएको छ । परिवार र अभिभावकको हेलचेक्र्याइँ र निगरानी अभावमा युवापुस्ता लागु औषधको कुलतमा फस्दै गएको प्रहरीको अनुभव छ ।
सन् २०१२ मा काठमाडौं उपत्यकालाई मात्र आधार मान्ने हो भने लागु औषधको कुलत प्लस टु पुस्तामा डरलाग्दो गरी फैलिरहेको छ । उपत्यकाका समग्र लागु औषध प्रयोगकर्ता मध्ये ३१ प्रतिशत प्रयोगकर्ता प्लसटुमा अध्ययन गर्ने छन् भने १५ देखि ३४ वर्ष उमेर समूहका ९६ प्रतिशत यो कुलतमा फसेका छन् । यीमध्ये २१ प्रतिशतमा हेपाटाइटिसजस्ता संक्रामक रोग देखिएका छन् ।
प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको सन् २०१२ को अन्त्यसम्म गरिएको अध्ययन केलाउने हो भने मुलुकको युवा पुस्ता लागु औषधको अँध्यारोमा प्रतिदिन धकेलिँदै छ । यो कुलतबाट उनीहरूलाई उकास्न परिवार र समाजको सहयोगको खाँचो बढदै गएको छ ।
लागु औषध कालो बजारको अन्तर्राष्ट्रिय प्रवृत्तिका आधारमा यसको कुल कारोबारको १२ प्रतिशत मात्रा मात्र प्रतिवर्ष प्रहरीको हातमा लाग्छ । यही मात्रालाई आधार मानेर प्रहरीले ६ महिनासम्म विभिन्न उमेर समूहमा अध्ययन गरेको ब्युरोका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताए ।
‘हामीले गरेको अध्ययनमा अभिभावक र परिवारले आफ्ना सन्तानलाई दिनुपर्ने ध्यान दिन नसकेका कारण नै युवा पुस्ता कुलतमा फसेको देखिएको छ,’ उनले भने । सन्तानलाई दिनुपर्ने समय नदिएर होस्टलमा राख्ने प्रवृत्ति, आफूभन्दा टाढा राख्ने प्रचलन र साथीभाइको संगतले लागु औषध प्रयोगकर्ता बढिरहेका छन् । ‘७७ प्रतिशत युवा साथीभाइको संगतले दुव्र्यसनमा फसेको भेटिएका छन्, त्यसैले अभिभावक र परिवार आफ्ना सन्तानप्रति चनाखो हुन आवश्यक छ,’ श्रेष्ठले भने ।
उपत्यकामा प्रतिवर्ष प्रहरीको फन्दामा पर्ने लागु औषध प्रगोगकर्ता पनि बढदो क्रममा छन् । सन् २००९ मा ९ सय ३८ प्रयोगकर्ता समातिएकोमा सन २०१०मा बढेर १४ सय ४३, सन् २०११ मा २१ सय ६३ र सन २०१२ मा २६ सय २ लागु औषध प्रयोगकर्ता ब्युरोले समातेको छ ।
२०६५ सालमा ५ सय ५० लागु औषध मुद्दा परेको उपत्यकामा चालु आर्थिक वर्षमा पुग्दा २ हजार ४४ मुद्दा प्रहरीले हेर्नु परेको छ ।
सुइद्वारा लिने हेरोइन र औषधीजन्य लागुऔषधको खपत र प्रयोगकर्ता बढी छन् । सन २०११ मा प्रहरीले ४७ हजार ५ सय ६० एम्पुल औषधीजन्य लागु औषध, ६ हजार १ सय ५१ ग्राम हेरोइन र २० क्विन्टल गाँजा बरामद गरेको थियो । सन् २००९ मा फर्केर हेर्दा हेरोइन बरामदको मात्रा डरलाग्दो छ । यो वर्ष प्रहरीले ३४ हजार ९ सय ६ ग्राम हेरोइन समातेको थियो ।
खुला सीमाना कारण उपत्यकामा जताबाट पनि लागु औषध भित्रिए पनि वीरगन्ज र विराटनगर नाकाबाट हेरोइन र औषधीजन्य लागुऔषध बढी भित्रिरहेको प्रहरीको अनुमान छ । काठमाडौंपछि पोखरा, धरान र चितवन दुव्र्यसनीका अखडा बनेका छन् ।
प्रहरीको अध्ययनअनुसार १५ देखि २४ वर्ष उमेर समूहका दुव्र्यसनी ५२ प्रतिशत र २५ देखि ३४ वर्ष उमेर समूहका ४२ प्रतिशत छन् । यीमध्ये २८ प्रतिशत दुव्र्यसनी एसएलसी मुनिका र ३१ प्रतिशत प्लस टु पुस्ताका छन् ।
रक्सी, चरेस, गाँजा, हेरोइन र औषधीजन्य लागु औषध मुलुकमा बढी खपत हुने दुव्र्यसन हुन् । पछिल्लो समयमा हेरोइनसँगै डाइजेपाम, बु्रपिनर्फिनजस्ता औषधीजन्य दुव्र्यसन बढेका छन् ।
विश्वभरि १४ करोड लागु औषध प्रयोगकर्ता रहेको अनुमान छ । वर्षेनी लागु औषधबाट २ लाख ५३ हजार मानिसको मृत्यु हुने आँकडा छ । केन्द्रीय तथ्यांक विभागको २०६३ सालको लागु औषध सर्भेक्षणमा मुलुकभर ४७ हजार दुव्र्यसनी रहेको भनिए पनि प्रहरी र विभिन्न सामाजिक संस्था र गैससहरूको पछिल्लो अनुमानअनुसार अहिले उनीहरूको संख्या डेढ लाख हाराहारीमा छ ।
प्रहरीको हातमा परेको १२ प्रतिशत लागु औषधलाई आधार मानेर हेरोइनको मात्रै अर्थतन्त्र केलाउने हो भने मुलुकमा प्रतिवर्ष ६० करोडको हेरोइन कारोबार भइरहेको छ ।
प्रकाशित मिति: 2013-04-06 11:57:08