काठमाडौं, चैत २३ (सेतोपाटी)– हाँडीगाउँ क्षेत्रमा सडक खाली गराउन डोजर परिचालन गर्न लागिएको समाचार सत्य भए पनि त्यस स्थानका कुनै पनि पुरातात्विक महत्वका डबली वा स्मारक भत्काउने योजना नरहेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
सडक चौडा पार्न शनिबारदेखि हाँडीगाउँमा डोजर आउने भनेर चर्चा चलेपछि शुक्रबार नागरिक समाजका देवेन्द्रराज पाण्डेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराउदै ट्वीट गरेका थिए ।
‘यदि तपाईले संस्कृतिलाई केवल वर्गका रुपमा मात्र बुझ्नु भएको छ भने हाँडीगाउँको सम्पदा आफैमा किसानहरुको सँस्कृतिसँग जोडिएको छ,’ ट्वीटमा लेखिएको थियो ।
त्यसको जवाफमा भट्टराईले सडक विस्तारका क्रममा हाँडीगाउँको साँस्कृतिक सम्पदा जोगाउनका निम्ति आफुले सम्वन्धित निकायका योग्य पदाधिकारीसँग कुरा गरिसकेको उल्लेख गरेका थिए ।
‘त्यस क्षेत्रमा ४ र ५ नम्बर वडाको सिमानामा पर्ने बाटो बिस्तार गर्न पहिलेदेखि चिन्ह लगाइएको सत्य हो,’ प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाईकाजी तिवारी भन्छन्, ‘तर, साँस्कृतिक सम्पदामा कुनै असर नपार्ने त्यो बाटो रोक्नका निम्ति हाँडीगाउँको संवेदनशिलतालाई उचालेर कामै रोक्ने प्रयास भइरहेको छ ।’ उनका अनुसार विस्तार हुनलागेको बाटो सानो गौचरणको ओह्रालो हुँदै हाँडीगाउँतर्फ जान्छ ।
डिआइजीको अनुरोधपछि बग्गीखाना तत्काल नभत्काइने
यसैबीच आफूले तीन दिनभित्र बग्गीखानाको पर्खाल र त्यसभित्र डिआइजीको निवास भत्काउन आदेश दिएकामा ट्राफिक डिआइजी उपेन्द्रकान्त अर्यालको अनुरोध पछि तत्काललाई काम रोक्न लगाएको तिवारीले बताएका छन् । ‘हामीले भित्रबाट पर्खाल उठाउन सुरुगरिसकेका छौं,’ डिआइजी अर्यालको भनाइ उद्धृत गर्दै तिवारीले भने, ‘पर्खालको काम पूरा नभई भत्काउदा ह्वाङ्गै देखिने भएकाले तत्काल रोकिदिनु प¥यो ।’ तिवारीका अनुसार सडकको मापदण्ड अनुसार खाली गर्नका निम्ति ट्राफिक स्वयं पनि सकारात्मक रहेकाले केहि दिनलाई भत्काउने निर्देशन फिर्ता भएको छ ।
प्रकाशित मिति: 2013-04-06 11:24:50