सर्वोच्च अदालतले व्यक्तिको चरित्रहत्या गर्ने खालका सामग्री प्रकाशित नगर्न प्रेसकाउन्सिलाई अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले प्रेसकाउन्सीलले प्रकाशित गर्ने त्रैमासिक पत्रिका संहिताले व्यक्तिको मानहानी हुने खालको सामग्री नछाप्न अन्तरिम आदेश दिएको हो। आईतबार पत्रकारहरु रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले आफूहरुको मानहानी संहिताले गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
उनीहरुले प्रेस काउन्सिलले आफ्नो मानहानी गरेको भन्दै १० लाखको क्षतिपूर्ति माग सहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
संहिताको पछिल्लो अंक मा प्रकाशित 'दाई जयनेपाल', 'कमरेड अभिवादन' शीर्षकको लेखले पत्रकार पुरी र अंक १६ मा प्रकाशित सुचनाले पत्रकार देवकोटाको मानहानी गरेको दाबी गर्दै उक्त विषयमा आफूहरुले क्षतिपुर्ति पाउनुपर्ने माग उनीहरुको छ। संचारमाध्यामलाई अनुगमन एवं मर्यादित बनाउने कार्य नगरी आफ्नो मुखपत्रबाटै व्यक्तिगत मान प्रतिष्ठामा
आँच आउने किसिमको भ्रामक र गलत समाचार प्रकाशित गरेकोले न्यायका लागि आफुहरु सर्वोच्चमा आउनुपरेको निवेदकहरुले रिटमा उल्लेख गरेका छन्।
साथै पत्रिकामा आएका यस्ता सामाग्रीले व्यक्तिको जिवनमा पुग्ने क्षतिको सम्बोधन गरि कानुन बनाउन परमादेश दिन समेत रिटमा माग गरिएको छ ।