सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले १५ दिनभित्र हाजिर हुन वारेन्ट जारी गरेका फरार अभियुक्त परशुराम बस्नेत (कृष्ण)लाई पार्टीको विभिन्न हैसियतबाट कारबाही गर्ने/नगर्ने विषयमा विवाद हुँदा मंगलबार एमाले मोरङमा हात हालाहात र कुर्सी हानाहान भएको छ । संविधानसभा निर्वाचनसम्बन्धी एक महिने अभियानको तयारी गर्न केन्द्रीय प्रतिनिधिसहित बसेको सचिवालय बैठकमा अध्यक्ष झलनाथ खनाल र केपी ओली पक्षधर नेता कार्यकर्ताबीच हात हालाहाल र कुर्सी हानाहान भएको हो ।
अध्यक्ष खनाल पक्षधरले परशुरामलाई पार्टीबाट कारबाही गर्नुपर्ने ‘एजेन्डा’ बैठकमा प्रस्तावकै रूपमा राखेपछि ओली समूहका नेता कार्यकर्ताले हात हालाहाल र कुर्सी हानेका थिए । दिउँसो एक बजेदेखि सुरू भएको बैठक परशुरामको प्रकरणले दुई घन्टासम्म कोलाहालमय बन्यो ।
युवा संघका केन्द्रीय सदस्य तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य रहेका गुन्डा नाइके परशुरामविरूद्व आइतबार अकुत सम्पत्ति आर्जन गरेको ठहरसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हदैसम्मको कारबाही माग्दै मुद्दा दायर गरेको थियो । सोमबार विशेष अदालतले परशुरामसहित पाँचै गुन्डा नाइकेलाई पन्ध्र दिनभित्र उपस्थित हुन वारेन्ट जारी गरिसकेको छ ।
बैठकको प्रारम्भमै जिल्ला कमिटी अध्यक्ष महेश रेग्मी, सदस्य पारूल क्षेत्री, राजकुमार ओझा, मानबहादुर श्रेष्ठ, बिमला घिमिरे, मानप्रसाद लिम्बू लगायतले चुनावी अभियानसँगै परशुरामलाई पार्टीबाट कारबाही गर्नुपर्ने एजेन्डा पारित गर्नुपर्ने प्रस्ताव राखेका थिए । परशुराम प्रकरणले बैठकमा भनाभन चलिरहँदा विपक्षमा रहेका ओली पक्षधर जिल्ला कमिटी सचिव ऋषिकेश पोखरेल, सदस्य बाबुराम कार्की, सागर थापा, नन्दीकिशोर भण्डारीलगायत हात हालाहाल र कुर्सी हानाहानमा उत्रेका थिए । सचिव पोखरेलले विपक्षीलाई लक्षित गर्दै टेबुल उचालेर पछारेका थिए भने अन्य हात हालाहात र कुर्सी हानाहानमा उत्रेका थिए ।
केन्द्रीय सदस्य राजेन्द्र गौतमले ‘परशुरामलाई कारबाहीको एजेन्डा बन्न नसक्ने’ बताएपछि बैठकमा परशुराम प्रकरण झनै चर्कियो । ‘परशुरामलाई कारबाही गर्ने नगर्ने विषयमा दुई घन्टासम्म विवाद चर्केपछि उहाँहरू हातपात र कुर्सी हानाहानमा उत्रिनुभयो,’ बैठकमा सहभागी खनाल पक्षधर एक जिल्ला कमिटी सदस्यले सेतोपाटीसँग भने, ‘दुबै पक्षबीच हानाहान हुन थालेपछि अन्य कमरेडहरू उठेर छुट्याउनुभयो ।’
उक्त प्रस्तावउपर धारणा राख्दै सचिव पोखरेलले ‘अफ्ठ्यारो अवस्थामा परेको पार्टीको असल कार्यकर्ता (परशुराम)लाई जोगाउनुपर्ने बरू उसको विरोध गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका थिए। तर अध्यक्ष खनाल पक्षधर कार्यकर्ताले गुन्डालाई पार्टीमा संरक्षण दिन नहुने बताएपछि हात हालाहाल सुरू भएको थियो । तर पोखरेलले बैठकमा कुनै पनि किसिमको झैझगडा नभएको दाबी गरे । ‘बैठक संविधानसभा निर्वाचनसम्बन्धमा केन्द्रित थियो,’ पोखरेलले भने,’ पोखरेलले भने, ‘त्यै विषयमा छलफलपछि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो ।’
एमाले केन्द्रीय कमिटीले पारित गरेको एक महिने चुनावी अभियानबारे छलफल गर्न बसेको बैठकमा केन्द्रीय सदस्य लालबाबु पण्डित, यशोदा अधिकारी, भीम आचार्य, कोसी अञ्चल सचिव जीवन घिमिरे लगायत एमाले सचिवालय समितिका ३५ र आमन्त्रित ८ जना सदस्यसहित बैठक सुरू भएको थियो । केन्द्रीय कमिटीले मोरङका ९ वटै निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम सञ्चालन गर्न पठाएका केन्द्रीय प्रतिनिधि पनि बैठकमा थिए । बैठकमा कुटाकुट भइरहँदा आचार्य, अधिकारी, पण्डित लगायत नेता भने मौन बसेका थिए ।
बैठकमा सहभागी केन्द्रीय सदस्य अधिकारीले बैठकमा डनको मुद्दाबारे ‘अलिअलि छलफल’ मात्र भएको जिकिर गरिन् । जिल्ला कमिटी अध्यक्ष महेश रेग्मीले परशुरामको विषयमा गम्भीर छलफल भएको बताए । ‘अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अदालतमा मुद्दा लागेका पर्शुरामको विषय बैठकमा गम्भीर रूपमा प्रस्तुत भयो,’ रेग्मीले भने, ‘तर त्यस्तो हात हालाहात र कुर्सी हानाहान भएको होइन ।’ सम्पत्ति शुद्धिकरण मुद्दा अदालतमा दर्ता हुनेवित्तिकै परशुराम फरार छन् ।
बैठकमा परशुरामलाई कारबाही गर्ने विषयमा चर्को कुरा उठे पनि प्रस्तावउपर कुनै निर्णय हुन सकेन । बैठकले संविधानसभा निर्वाचनका लागि जनपरिचालन गर्ने निर्णय गरेको अध्यक्ष रेग्मीले बताए । ‘परशुरामको विषयमा कुनै निर्णय हुन सकेन,’ रेग्मीले भने, ‘केन्द्रीय प्रतिनिधिले नौ वटै क्षेत्रमा क्षेत्रीय कमिटीसँग छलफल, संगठन परिचालन र क्षेत्रीय सभा गर्ने निर्णय भयो ।’