काठमाडौं, चैत २३– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी हवल्दार शोभित कार्कीले असोज २१ गते फ्लाई दुबईको जहाजसम्म झन्डै १ करोड ५५ लाख रुपैयाँ बराबर विदेशी मुद्रा तस्करी गरे । योजनाकार थिए, एसएसपी रविराज श्रेष्ठ । सरकारले दुवैलाई डलरको अवैध कारोबारमा संलग्न भएको ठहर गरिसकेको छ । तर, एउटै अपराधमा मुछिए पनि हवल्दार कार्की थुनामा सजाय काटिरहेका छन्, माथिल्लो दर्जाका एसएसपी श्रेष्ठलाई भने सरकारले काखी च्यापेर चोख्याउने काम गरेको छ ।
गृह मन्त्रालयले विदेशी मुद्रा तस्करीमा संलग्न श्रेष्ठलाई शुक्रबार पेन्सन सुविधासहित स–सम्मान अवकाश दिने निर्णय गरेको हो । हवल्दार कार्की भने राजस्व अनुसन्धान विभागले चलाएको विदेशी मुद्रा अपचलनको मुद्दामा केही लाख धरौटी बुझाउन नसकेर छ महिनादेखि हिरासतमा छन् ।
प्रहरी ऐनअनुसार भ्रष्टाचारमा संलग्न अधिकारीलाई ‘भविष्यमा सरकारी नोकरीका लागि अयोग्य ठहरिने’ गरी अवकाश दिनुपथ्र्यो । त्यस्तो सजाय भएको भए श्रेष्ठले पेन्सन र अरू सुविधा पाउँदैनथे । यतिमात्र होइन, कानुनअनुसार विदेशी मुद्रा अपचलन गर्ने दोषीलाई बिगो बरामद गरी त्यति नै जरिवाना र जेल सजाय हुन्छ । जिम्मेवार सरकारी अधिकारी त्यस्तो अपराधमा संलग्न पाइए सजाय दोब्बर हुन्छ ।
सरकारले कारबाहीको बाहनामा श्रेष्ठलाई ‘स–सम्मान बिदाइ गरेको’ भन्दै सिंहदरबारभित्रै आलोचना भइरहेको छ । यसको जानकारी पाउनेबित्तिकै मुख्यसचिव लीलामणि पौडेलले आपत्ति जनाएका थिए । उनले गृहसचिव नवीन घिमिरे र कानुन सचिव भेषराज शर्मा लगायतसँग रोष व्यक्त गरेको स्रोतले बतायो । ‘तपाईंहरूजस्तो अनुभवीले गज्जब निर्णय गर्नुभएछ,’ पौडेललाई उद्धृत गर्दै स्रोतले सेतोपाटीसँग भन्यो, ‘डलर तस्करी गर्नेलाई सुनपानी छर्केर चोख्याउनुभएछ ।’
पूर्वगृहसचिव समेत रहेका पौडेलले प्रष्टीकरण मागेपछि दुवै सचिव पन्छिएका थिए । ‘कानुनले त रायसम्म दिने हो,’ शर्माले भने, ‘निर्णय त गृहका अधिकारीहरूकै हो ।’ गृहसचिव घिमिरेले पनि आफ्नो जिम्मेवारी आइजिपी कुवेर रानातिर पन्छाए । ‘आइजिपीले नै पेन्सनसहित अवकाश माग गरेका हुन्,’ पौडेललाई घिमिरेले जवाफ दिए, ‘प्रहरी संगठनले मागेभन्दा बढी सजाय गर्न गाह्रो पर्यो ।’
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको बागडोर सम्हालेर बसेका अधिकारी स्वयं तस्करीमा संलग्न हुँदा पेन्सनसहितको अवकाशलाई ‘पुरस्कार’ भनी गृह मन्त्रालयभित्रै आलोचना भइरहेको छ । ‘यो सजाय ठिक हो भनेर तपार्इंहरूको मनले मानेको छ,’ पौडेलले सचिवद्वयलाई प्रश्न गरे । स्रोतका अनुसार उनको यो प्रश्नमा दुवै सचिवले टाउको निहुर्याए केही जवाफ दिएनन् ।
पेन्सनसहितको अवकाश आचरण, पोसाक, परेड, अनुशासनजस्ता सामान्य गल्तीमा दिने दण्ड हो । ‘कागजपत्रमा जालेमाले गरी डलर तस्करीमा संलग्नलाई पनि यस्तै नाम मात्रको दण्ड दिइएको छ,’ गृह स्रोतले भन्यो ।
२०४४ चैत ३० गते इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका श्रेष्ठ शक्ति र सत्ता खेलाउन सिपालु प्रहरी अधिकृत मानिन्छन् । सत्ताको प्रयोग गरेर उनी डिएसपी र एसपीमा पनि सर्वश्रेष्ठ कमाउ अड्डा मानिने निकायमा थिए ।
डिएसपी हुँदा सिन्धुपाल्चोक प्रहरी प्रमुख बन्न सफल उनी एसपीमै उपत्यका ट्राफिक प्रहरी कार्यालयका हाकिम बने । उनलाई कायममुकायम बनाइराख्न गृह नेतृत्वले एक वर्षसम्म ट्राफिकमा एसएसपी पठाएन । त्यसअघि नै उनी कास्की र रुपन्देही प्रहरी प्रमुख भइसकेका थिए ।