अर्थमन्त्री शंकर कोइरालाले आगामी बजेटपछि मुलुकको आर्थिक वृद्धिदर छ प्रतिशत पुग्ने दाबी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र मोरङ व्यापार संघको आयोजनामा आइतबार पूर्वाञ्चल स्तरीय पूर्वबजेट अन्तक्र्रिया कार्यक्रममा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय पनि सम्हालेका मन्त्री कोइरालाले
राजनीतिको प्रभाव अर्थतन्त्रमा परेको स्वीकार्दै यसलाई जेलाएर राख्न नहुने उल्लेख गरे । उनले भने, ‘अब पर्खिने होइन, आर्थिक क्रान्तितिर लाग्ने बेला ढिलो भैसकेको छ, आगामी बजेटमा जनता, व्यवसायी र देशलाई यसको अनुभूति गराउनेछौं ।’
आगामी आर्थिक वर्षमा सरकारको प्राथमिकता निर्वाचन, आर्थिक बृद्धिमा विकास र सुशासनको अनुभुति रहेको उनले बताए । आगामी बजेटमा प्राथमिकीकरण, उद्देश्य, कार्यान्वयन प्रक्रिया फरक हुने, बजेट फोकस वा छानिएका क्षेत्रमा हुने, हात हालेका क्षेत्रले परिणाम दिने र निजी क्षेत्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने उनले बताए । उनले कानुनी विषयमा पनि सुधार गर्ने प्रतिबद्धता जनाए । औद्योगिक व्यवसाय ऐन अध्यादेश
मार्फत छिटै आउने पनि उनले जनाए ।
महासंघका अध्यक्ष सुरज वैद्यले आगामी बजेटले ऊर्जामा बढी ध्यान दिनुपर्ने उल्लेख गर्दै एक जिल्ला एक प्रोडक्टको धारणा अनुरुप बजेट आउनुपर्नेमा जोड दिए ।
तस्बिर- रविन दाहाल