एउटा युवा चरम निरासाबाट गुज्रिरहेको थियो । उसले बाँच्ने आधार देखेन । त्यसै बेला युवकले एउटा कविका कविताहरु सुन्यो । बाँच्ने अठोट गर्यो ।
आफ्ना कविता सुनेर कसैले मर्ने विचार त्यागेर बाँच्ने सोच राख्छ भने कुनै कविको लागि त्यो भन्दा ठूलो पुरस्कार के होला ? त्यो युवक को हुन् कविलाई नै थाहा छ तर ती कवि हुन्, मञ्जुल । साझा पुरस्कार विजयी कवितासंग्रह 'मृत्यु कविता'को भूमिकामा मञ्जुलले ती युवाको कुरा लेखेका छन् । तिनै मञ्जुलको संस्मरण 'पहाडजस्तो बाटोजस्तो म' मा उनका जीवनका विभिन्न आयाम भेट्न सकिन्छ ।
मञ्जुलको जीवनका विविध आयाम छन्— पहाडबाट काठमाडौं पढ्न आएको ठिटो । गीतसंगीतको भाङले लठ्ठ भएर राष्ट्र बंैकको सात वर्षे जागिर छोडेर सांगीतिक दौडाहामा निस्केको ठिटो । वाम खेमा निकट रहेका कवि । गायक । निबन्धकार । रामेशसँगको मित्रताले र फाटोले चर्चित । पारिजातको जीवनलाई आधार मानेर 'छेकुडोल्मा' उपन्यास लेखेका व्यक्ति ।
२०४० सालताका मञ्जुलले रामेश, रायनहरुसँग मिलेर राल्फाली आन्दोलन गर्दै गाउँगाउँ डुलेर गीत गाएको प्रसंग 'सम्झनाका पाइलाहरुमा' प्रस्तुत गरिसकेका छन् । उनको त्यो कृति नेपाली यात्रा साहित्यलाई गजब उपहार हो जसले नेपालको तात्कालीन वस्तुस्थिति र सामाजिक परिवेश साहित्यमा कैद गरेको छ ।
'पहाडजस्तो बाटोजस्तो म'मा भने मञ्जुलले आफू जन्मेहुर्केको गाउँठाउँसाथै बाल्यकालबारे संस्मरण लेखेका छन् । उनले आमाबारे लेखेका सन्दर्भ पढ्दा उनले विगतमा लेखेको बाल्यकाल श्रृंङखलाका कविताको रचनागर्भ पढेझैं रमाइलो लाग्छ । त्यस्तै ती बेलाको स्कुले जीवनबारे प्रसंग पनि अहिले रमाइलो कथा पढेसरह हुन्छ ।
'पहाडजस्तो बाटोजस्तो म' ले एउटा गाउँले ठिटो अध्ययनको क्रममा काठमाडौं आएर कालान्तरमा काठमाडौंकै बासिन्दा भएर राष्ट्रिय स्तरको कवि हुन गरेका संघर्षका केही पाटा भन्छ । उनको संस्मरणले आधुनिकताले नपेलेको पुरानो काठमाडौंको साथै उनी हुर्के–बढेको नेपालको पूर्वी पहाडको जनजीवनबारे पनि धेरै बताउँछ । पाठकले अपेक्षा गर्ने मञ्जुलसँग सम्बन्धित केही कुरा उनले यो संस्मरणमा नसम्झिए पनि अरु धेरै कुरा सम्झिएका छन् । यो कृति रत्न पुस्तक भण्डारले सार्वजनिक गरेको हो ।
उनको भाषा कविता पाराको छ । कविताको तरल भाषालाई उनले पद्यमा उनेका छन् । उनको जीवनकथा पढ्दा कविता पढेजस्तो हुन्छ, कथा पढेजस्तो हुँदैन । मञ्जुलले बरु नलेखेको भए हुन्थ्यो होला । तर नलेख्नुभन्दा जस्तो सुकै भए पनि लेख्नु नै उत्तम हो । तर यो संस्मरण लेखेर मञ्जुलले आफूले लेख्नुपर्ने धेरै कुरा बाँकी रहेको स्वीकारेका छन् । उनले ती पनि लेखुन् ।