अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास मन्त्रालयसँग स्थानीय निकायअन्र्तगत भ्रष्टाचार हुने अखडाको सूची मागेको छ ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा अर्बौ भ्रष्टाचार भएको गुनासो आइरहेका बेला शुक्रबार प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त केशव बरालले मन्त्रालय र माताहतका प्रमुखलाई बोलाएर भ्रष्टाचार हुने क्षेत्रको विवरण मागेको आजको नागरिक दैनिकमा खबर छ ।
मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठसहित विभागीय प्रमुख, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरुसँगको कुराकानीमा आयोगले स्थानीय निकायअन्र्तगत हुने भ्रष्टाचार मन्त्रालयबाटै नियन्त्रण हुन नसके अख्तियारले हस्तक्षेप गर्ने संकेतसमेत दिएको छ ।
छ वर्षदेखि रिक्त पदाधिकारीको एक साताअघि नियुक्त भएलगत्तै अख्तियारले भ्रष्टाचार अनुसन्धानको काम तिव्र पारेको छ ।
अख्तियारले यसै साता अर्थ, स्वास्थ्य, शिक्षा, भूमिसुधार मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिइसकेको छ । पदाधिकारी नियुक्त भएको भोलिपल्टै प्रमुख आयुक्त र आयुक्तले अर्थ मन्त्रालयका प्रतिनिधिलाई बोलाई भ्याट छलीमा संग्लन फर्मको सूची मागेको थियो ।