सरकार र १२ साना दलका शीर्ष नेताहरूबीच निर्वाचन अध्यादेशका प्रावधान र निर्वाचन मिति घोषणा गर्ने विषयमा शुक्रबार सिंहदरबारमा छलफल भएको छ ।
छलफलमा थ्रेसहोल्ड, समानुपातिक सिट संख्या, दल दर्ताका लागि आवश्यक पर्ने १० हजार मतदाताको हस्ताक्षर लगायतका प्रस्तावित प्रावधानमा केन्द्रित रही दलहरुको धारणा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बुझेका थिए ।
रेग्मीले निर्वाचन अध्यादेशका विभिन्न प्रावधानप्रति दलहरुबाट आएका सुझाव र धारणालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको बताए ।
छलफलमा रेग्मीसँगै मन्त्रिपरिषद्द्वारा गठित परामर्श तथा समन्वय समितिका सदस्यहरू माधवप्रसाद घिमिरे, माधवप्रसाद पौडेल र विद्याधर मल्लिक उपस्थित थिए । नेकपा संयुक्त, नेकपा माले, नेपाल रिपब्लिक पार्टी, जनता दल युनाइटेड, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक दल, नवनेपाल निर्माण पार्टी, राष्ट्रिय सद्भावना पार्टी, संघीय सद्भावना पार्टीलगायतका दलका नेता छलफलमा थिए ।