मैलै झन्डै बाह्र वर्षअघि लेखेको नाटक ‘अग्निको कथा’मा पुस्तकालय जलेपछि एउटा भिक्षुले द्रवित हुँदै भन्छ, ‘अब किताबहरु जलेर सबै खरानी भए, ज्ञानका सपना सबै खरानी भए ।’ यो संवाद भनेर नाटकमा त्यो भिक्षु ह्वाँह्वाँ रुन्छ ।
आज (शुक्रबार) बिहान ठमेलको पिलग्रिम्स बुकसपमा आगो लागेको खबर गुरुकुलका कलाकार भाइहरुले मलाई ‘अग्निको कथा’को त्यही संवाद दोहोर्याउँदै सुनाए । मेरो मन ‘अग्निको कथा’को भिक्षुजसरी नै रोयो ।
पिलग्रिम्समा आगो लागेको सुन्दा मेरा वरिपरि पिलग्रिम्समै किनेका पुस्तकहरूको चाङ थियो । म फोनमा कुरा गर्दै थिएँ, वरिपरि किताबैकिताब थिए । किताबहरू जलेको खबरले मलाई धेरै पीडा दियो ।
पिलग्रिम्स बुकसप काठमाडौंमा मलाई मन पर्ने ठाउँमध्ये एउटा हो । त्यहाँ म अहिलेसम्म कतिपटक गएँ, भन्न सक्दिनँ । तर ठोकुवा गरेर भन्छु, त्यो पसलबाट मैले अहिलेसम्म लाखौंको किताब किनेको छु ।
शिव रिजाल भन्ने मेरा विद्यार्थीले त्यही पसलबाट किनेका किताबले पिएचडी गरेका हुन् भन्दा पनि हुन्छ । उनलाई मैले त्यहाँबाट एकैपटकमा एक लाखको किताब किनाएको थिएँ । म र शिवले उनको पिएचडीका कयौं सरसल्लाह त्यही पुस्तक पसलमा कफी पिउँदै गर्यौं होला ।
पिलग्रिम्सले बेलाबेला किताबहरूको सेल गरिरहन्थ्यो । त्यस्ता सेलमा म एकपटकमा ३०÷४० हजारसम्मको किताब किन्थेँ । त्यहाँ अझै पढ्न बाँकी कत्ति किताब थिए, सबै जलेर खरानी भए ।
म पनि ‘अग्निको कथा’को त्यही भिक्षुजसरी भन्छु, ‘अब किताबहरू जलेर सबै खरानी भए, ज्ञानका सपना सबै खरानी भए ।’
(अग्निको कथाका निर्देशक सुनील पोखरेल र आफ्ना विद्यार्थी शिव रिजालसँग विराटनगर उड्न विमानस्थल गइरहेका बेला सुवेदीसँग मनोज दाहालले टेलिफोनमा गरेको कुराकानी ।)
सम्बन्धित समाचार
रातभर आगो दन्किरह्यो