प्रमुख राजनीतिक दलबीच आगामी संविधानसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने सैद्धान्तिक सहमति भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बिहीबार बसेको बैठकमा नेताहरूबीच पूर्ववर्ती डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको नियुक्ति खारेजीको सैद्धान्तिक सहमति भएको समाचार आजको राजधानी दैनिकमा छ।
संविधानसभा विघटनअघि र पछि एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले गरेका नियुक्तिमध्ये कुन–कुन खारेज गर्ने भन्नेबारेमा दलहरूबीच शुक्रबार (आज) बस्ने बैठकबाट टुंगो लगाउने समझदारी भएको छ। ‘निर्वाचनको निष्पक्षतामा असर पार्ने खालका अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने नीतिगत सहमतिसहित थप छलफल जारी छ,’ बैठकपछि एमाले नेता भीम रावलले राजधानीसँग भने, ‘कानुनी पक्षलाई पनि ध्यान दिएर गत १४ जेठअघि र पछि गरिएका राजनीतिक नियुक्ति बदर गर्ने सहमति भएअनुसार कुन–कुन नियुक्ति हटाउने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।’