सरकारले मन्त्रालय र निकायका सचिवहरूलाई सीसीटीभीको निगरानीमा राख्ने भएको छ । सीसीटीभीमार्फत सरकारले सचिवहरूले के गरिरहेका छन्, क-कसलाई भेट्दै छन्, कोकोसँग बैठक गर्दै छन्, निर्णय गर्नुपर्ने फाइल टेबुलमा थुपारेर राखिएको छ वा छैन भन्ने नियाल्नेछ आजको कान्तिपुरमा खबर छ । यस्तो निगरानी असार १५ देखि थालिने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार मुख्यसचिवले आफ्नै कार्यकक्षमा बसेर आधुनिक सीसीटीभीबाट सबै मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरूको दिनभरको कामकारबाही र गतिविधि प्रत्यक्ष निगरानी गर्नेछन् । मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूको कार्यकक्षमा जडान गरिने सीसी क्यामराले दिनभर कैद गर्ने दृश्य आफ्नो कार्यकक्षमा राखिने ठूलो स्त्रिmन -डिस्प्ले आउलेट) बाट हेरेर निगरानी गर्नेछन् । मुख्यसचिवले आफू व्यस्त रहेका बेलाका दृश्य पछि फुर्सदमा 'भिजुअल प्ले' गरेर समेत हेर्न सक्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले आवश्यक उपकरणका लागि टेन्डर आह्वान गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीले छनोट हुने आपूर्तिकर्ताले असार १५ भित्र सीसीटीभी क्यामरा र डिस्प्ले आउटलेट जडान गरिसक्नेछ ।
सरकारका कामकारबाही पारदर्शी बनाउन मुख्यसचिवले सिंहदरबारभित्र सबै मन्त्रालयका सचिवहरूको कामकारबाही र गतिविधिको निगरानी गर्न सीसीटीभी जडान गर्न लागिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सूर्य सिलवालले दिए ।
सुरक्षाका लागि सिंहदरबार परिसर र प्रधानमन्त्री कार्यालय बाहिर राखिएको सीसीटीभीभन्दा मुख्यसचिव र सचिवहरूको कार्यकक्षमा जडान गरिने सीसीटीभी आधुनिक प्रविधिको हुनेछ । सिंहदरबार परिसरमा जडान गरिएको साधारण खालको सीसीटीभी हो भने मुख्यसचिव र सचिवहरूको कार्यकक्षमा भने आधुनिक प्रविधिको इन्टरनेट प्रोटोकलमा आधारित सीसीटीभी क्यामरा जडान गरिनेछ