अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिलगत्तै नेपाली सुपारीको नाममा विदेशी सुपारी भारत निकासी गर्ने बाटो खुलेको छ । यसअघि नेपाली सुपारीका कोटामा विदेशी सुपारी निर्यात भएको भन्दै आयोगले नै विराटनगर भन्सारबाट सुपारी निकासी बन्द गराएको थियो ।
लोकमान नियुक्तिलगत्तै अख्तियार दुरूपयोगबाट जारी सुपारी निकासीको सर्कुलरपछि तेस्रो देशबाट आयात गरेर झापामा स्टोर गरेको झण्डै आठ हजार मेट्रिक टन सुपारी भन्सारबाट वैधानिक रूपमै भारत निकासी गर्न पाएपछि सुपारी तस्कर उत्साहित बनेका छन् ।
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार गठनअगावै उद्योग वाणिज्य महासंघको २०६९ चैत ९ गतेको परिपत्रअनुसार झापा उद्योग वाणिज्य संघले ७ हजार ६ सय ३४ मेट्रिक टन नेपाली सुपारी भारत निकासीका लागि उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो ।
उच्च स्रोतबाट प्राप्त सूचनाअनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वैशाख २६ गते भन्सार विभागलाई चिठ्ठी लेखेर सुपारी निकासीको बाटो खुला गरिदिएको हो । सुपारी व्यापारी नेपाली सुपारीको प्रमाणपत्र खोलेर तेस्रो देशबाट आयातीत सुपारी भारत निकासी गर्छन् ।
यसअघि २०६९ जेठ ३१ गते आयोगले नै नेपाली सुपारी विदेश निर्यातको कार्यविधिअनुसार काम नभएको, नेपाली सुपारीका नाममा विदेशी सुपारी निकासी भइरहेको उजुरी परेकाले त्यसको छानबिन नसकिएसम्म नेपाली सुपारी निकासी बन्द भएको जनाउँदै उत्पत्तिको प्रमाणपत्र जारी नगर्न नेपाल उद्योग वाणिज्य महासंघलाई आदेश दिएको थियो । सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दाको अनुसन्धान सकिएको छैन । त्यसविपरीत कृषि मन्त्रालय, वाणिज्य मन्त्रालय, कृषि विकास कार्यालय झापा र सुपारी खेती विकास संस्था झापा मिलेर नेपाली सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गरेका हुन् ।
कार्की नियुक्तिकै दिन वैशाख २५ गते सुपारी निकासीका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले अख्तियारलाई चिठ्ठी लेखेको थियो । भोलिपल्टै त्यो सदर भएको थियो । ‘पहिले परेको उजुरीको लगत कट्टा गरी फायल तामेली भएको हुँदा उल्लेखित पत्रमाथि कारबाही चलाउनू,’ अख्तियारले लेखेको चिठ्ठीमा उल्लेख छ । अधिकारीहरू यो पत्रले पहिलेको अनुसन्धान स्वतः थाती राखेर सुपारी निकासी गर्न बाटो खोलेको बताउँछन् । उक्त पत्रको बोधार्थ उद्योग वाणिज्य महासंघ, भन्सार विभाग, क्षेत्रीय प्रशासन कार्यालय, पूर्वक्षेत्रीय प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभाग, भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ र झापालाई दिइएको छ ।
प्रहरी स्रोतका अनुसार झापामा यसपटक ४ हजार मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन भएकै छैन । काँकडभिट्टा भन्सार नाकाबाट ३ सय मेट्रिक टन नेपाली सुपारी यसअघि नै निकासी भइसकेको छ । काँकडभिट्टा नाकाबाट नेपाली सुपारी भारत निकासी गर्नै पाइँदैन ।
‘झापामा हामीले तेस्रो देशबाट आयात गरेको सुपारी आठ हजार मेट्रिक टन रोकेर राखेका थियौं,’ एक सुरक्षा अधिकारीले सेतोपाटीसँग भने, ‘नेपाली सुपारी त्यति उत्पादन भएकै छैन, अब यो तेस्रो देशबाट आयात गरेको सुपारी भन्सार नाकाबाट लैजान बाटो खुल्ला भएको छ ।’ सुरक्षा अधिकारीले कृषि विकास कार्यालयले समेत यसपटक नेपाली सुपारी उत्पादन बढी देखाएर सुपारी तस्करीमा सहयोग गरेको आरोप लगाएका छन् ।
झापामा ३५ सय बिगाहा क्षेत्रफलमा सुपारी खेती हुन्छ । यति जमिनमा धेरै राम्रो उत्पादन हुँदा पनि ४ हजार मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन नहुने किसान बताउँछन् । व्यापारीले हङकङ, मलेसिया र सिंगापुरबाट सुपारी आयात गरेर चोरी तस्करी गर्छन् । चोरी तस्करीमा कडाइ गरिएपछि नेपाली सुपारीका नाममा उक्त सुपारी भन्सारबाट भारत निकासी गर्छन् ।
अख्तियारले सुपारी निकासीमा ‘लाहाछाप’ लगाइदिएपछि सुपारी व्यापारी भन्सार दौडिरहेका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार अख्तियारको पत्र आइसके पनि सुपारी निकासी सुरू भएको छैन । ‘अख्तियारले खुला गरेको चिठ्ठी आइसकेको छ,’ निमिक्त भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने, ‘तर निकासी सुरू भएको छैन ।’
पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पर्शुराम खत्रीले सुपारी तस्करीमा ‘आँखा चिम्लिएपछि’ सप्तरी र सिरहाका विभिन्न नाका हुँदै तेस्रो देशबाट आयातीत सुपारी चोरी तस्करी भइरहेको छ ।
प्रकाशित मिति: 2013-05-16 18:17:48