काठमाडौं, वैशाख ३० (सेतापाटी)– राष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्माले राजीनामा नदिएको जानकारी शीतल निवासले गराएको छ।
शर्मासहित तीन सल्लाहकार राष्ट्रपति यादवको कार्यशैलीप्रति असन्तुष्ट भए पनि सोमबार बिहान ११ बजेसम्म कसैले राजीनामा नबुझाएको शीतल निवासले जानकारी गराएको छ ।
‘हरि शर्माले राजीनामा दिनुभएको छैन,’ राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले सेतोपाटीसँग भने, ‘बरु छोरीको ग्रायजु्एसनमा अमेरिका जाने जानकारी उहाँले गराउनुभएको छ।’
शर्माको पारिवारिक स्रोतका अनुसार उनी सोमबारै अमेरिका जाँदैछन् । स्रोतका अनुसार शर्मा, कानुनी सल्लाहकार सूर्य ढुंगेल र प्रेस सल्लाहकार राजेन्द्र दाहालले मंसिरदेखि नै राष्ट्रपतिसँग भेट पातलो गर्दै लगेका छन् । सेतोपाटीले सोमबार बिहान 'आजको छापा"मा हरि शर्माले राष्ट्रपतिको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएको समाचार कान्तिपुरबाट साभार गरेको थियो ।
‘हामी दुई वर्षलाई सल्लाहकार भएका हौं, चार वर्ष भइसक्यो भनेर मंसिरमा नै छुटकारा मागेका थियौं,’ एक सल्लाहकारले भने, ‘राष्ट्रपतिले एक्लिएजस्तो गर्नुभयो, हामी बस्न बाध्य भयौं।’
ती सल्लाहकारले भने, ‘राष्ट्रपतिले नै कर गरेर राख्नुभयो । तर हाम्रो सल्लाहभन्दा अरूकै कुरा सुनुवाइ भएजस्तो लागेर हाम्रो चित्त फाटेकै हो।’
रेग्मीलाई प्रधानन्यायाधीश र मन्त्रिपरिषद् अध्यक्ष बनाउनेमा पनि सल्लाहकार समूह राजी थिएनन् । सल्लाहकारको नाममा तलब÷सुविधा बुझ्ने तर सल्लाह नबिक्ने देखेर उनीहरू मर्महात भएको स्रोत बताउँछ । लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने सिलसिलामा राष्ट्रपतिमाथि रातदिन परेको अदृश्य हस्तक्षेप र त्यसमा यादवको निरीहताले सल्लाहकार झन् विरक्तिएका थिए।
अघिल्लो दिनसम्म चार राजनीतिक दललाई कार्कीको नाममा पुनर्विचार गर्न आग्रह गरेका राष्ट्रपतिले रातभर देशी÷विदेशी शक्ति केन्द्रको चलखेलपछि एकाबिहानै सपथ खुवाउने निर्णय गरेका थिए । जुन निर्णयले तीनैजना सल्लाहकारलाई आक्रोसित तुल्याएको थियो।
‘तैपनि राजीनामा भने गरिसकेको अवस्था हैन,’ ती सल्लाहकारले भने, ‘हामी उपयुक्त मौका कुरेर बसिरहेका छौं।’