हावाहुरीसंगै आएको असिनापानीले नुवाकोटको विभिन्न स्थानमा अन्नवाली नष्ट गर्नुका साथै हावाले दजैनौ घर तथा विद्यालयको छानोसमेत उडाएको छ । गएराती भीषण हावाहुरीले नुवाकोटको पश्चिमि भेगमा रहेका दर्जनौं गाविसमा लगाइएको मकै तथा तरकारी वाली नष्ट गरेको फिकुरीका किसान छत्रवहादुर लामाले आइतवार जानकारी दिए ।
हावाहुरीसंगै परेको असिनापानीले काहुले, भाल्चे, साल्मे, फिकुरी, वुङताङ, किम्ताङ र मनकामना गाविसमा लगाइएको अन्न तथा तरकारी वाली नष्ट गर्नुका साथै काहुले गाविस वडा नं। ८ मा रहेको पञ्चलिङ्गे मावि र नर्जामण्डप गाविस वडा नं. १ मा रहेको विज्ञान माविको भवनको छानो उडाएको छ । नर्जामण्डप गाविस्थित आयुर्वेद कार्यालयको छानो पनि उडाएको छ ।
नर्जामण्डप गाविसमा १० वटा विजुलीको पोल हावाहुरीले ढालेपछि विद्युत सेवा नै वन्द भएको छ । काहुले गाविसमा हावाहुरीले सामुदायिक वनका सयौं रुख ढालिदिएको वताइएको छ ।
उता, तुप्ते नमूना गाविसमा रहेका १० घरपरिवारको छानो हावाले उडाएको छ । यस वर्ष नुवाकोटमा दशककै ठुलो हावाहुरी आएको स्थानीयवासीले वताएका छन् ।