लोकमानसिंह कार्कीलाई आफ्नै मन्त्रालयको सचिवमा ल्याउने गाइँगुइँ सुनेपछि तत्कालीन जलस्रोतमन्त्री बलदेव मजगैयाँले विरोध गरे। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकहाँ पुगे उनी।
भने, 'लोकमानको छवि राम्रो छैन, मलाई इमानदार मान्छे दिनुस्।'
कोइराला निकट थिए मजगैयाँ।
कोइरालाले मजगैयाँलाई ढाढस दिँदै भने, ' ल भन्नोस्, तपाईंलाई को मान्छे दिऊँ?'
मजगैयाँले भने, 'यो, ऊ भन्दिनँ, जो मान्छे दिनुस्, तर राम्रो मान्छे दिनुस्, इमानदार मान्छे!'
कोइरालाले सान्त्वना दिए, 'ल हुन्छ, म लोकमानलाई जलस्रोत सचिव बनाउँदिन, तपाईंलाई राम्रो मान्छे दिन्छु।'
कुरा २०५८ वैशाखको हो ।मजगैयाँ जलस्रोतमन्त्री भएको दुई महिना पनि भएको थिएन।
लोकसेवा आयोगले भर्खरै १४ जना सहसचिवलाई सचिव बनाउन सिफारिस गरेको थियो जसमध्ये लोकमान एक थिए। त्यो सिफारिस क्याबिनेटबाट सदर हुनुपर्थ्यो। मजगैयाँको जानकारीमा त्यो सिफारिसको सूची क्याबिनेटसम्म आएकै थिएन।
कोइरालालाई भेटेर मन्त्री क्वाटर फर्किएको दुई घन्टामै मजगैयाँको हातमा क्याबिनेट निर्णय भन्दै १४ जना सचिवहरूको सूची आइपुग्यो जसमा जलस्रोत सचिवको नाम लोकमानसिंह कार्की थियो।
क्याबिनेटमा कुनै प्रस्ताव नै नल्याई प्रधानमन्त्रीले खल्तीबाटै १४ सचिवको सिफारिस सदर गरेपछि मजगैयाँ आश्चर्यमा मात्र परेनन्, कोइरालाले आफूलाई अर्कै सचिव दिन्छु भनेर बेबकुफ बनाए भन्दै मुर्मुरिए पनि।
क्याबिनेट सिस्टम भन्ने कुनै चिज नै थिएन त्यहाँ। क्याबिनेटले गर्नुपर्ने निर्णय प्रधानमन्त्रीले भटाभट आफ्नै खल्तीबाट गराइरहेका थिए।
आफूले मन नपराएको मान्छे आफ्नै मन्त्रालयमा आफूलाई थाहा नै नदिई सचिवमा ल्याउने निर्णय भएपछि मजगैयाँलाई खल्लो लाग्यो।
कृषि राज्यमन्त्रीका रुपमा राम्रो काम गरेर कर्मचारीमाझ इमान्दार राजनीतिज्ञको छवि अझ मजबुत पारेको बेला थियो। भर्खरै जलस्रोतमन्त्री भएका थिए।
लोकमानसँग काम गर्नुभन्दा मन्त्री पदबाटै राजीनामा गर्ने मनस्थितिमा पुगे मजगैयाँ। कोइरालाकहाँ राजीनामा बुझाइदिए र भने, 'गिरिजाबाबु, तपाईंले अर्कै मान्छे दिन्छु भन्नुभएको थियो, दिनुभएन, म लोकमानसँग काम गर्न सक्दिनँ।'
कोइराला सम्झाउन खोज्दै थिए, उनी निस्के र नेपालगञ्ज हिँडे।
कोइरालालाई धर्मसंकट पर्यो। मजगैयाँ उनलाई प्रिय थिए।
कयौं दिनसम्म राजीनामा स्वीकृत नै गरेनन्। खल्तीमा नै च्यापिरहे। बरु मजगैयाँलाई फकाउने प्रयास गरे। मान्छे खटाए। नेपालगञ्जसम्मै पनि पठाए।
तर, अडानबाट के डेग चल्थे मजगैयाँ?
सत्तालोलुप थिएनन्। आफूले मन नपराएको मान्छे सचिव राखेर काम गर्नुभन्दा मन्त्री नै छाडिदिन उनलाई सहज लागेको थियो।
झन्डै दुई हप्तासम्म कोइरालाले राजीनामा स्वीकृत नगरेपछि मजगैयाँ आफैं उनलाई भेट्न गए। बाझे। झगडा गरे– आफूले नदिनू भनेको मान्छे सचिव दिने, राजीनामा पनि स्वीकृत नगर्ने?
कोइरालाले उनको राजीनामा स्वीकृत गर्नैपर्यो। मजगैयाँ प्रिय थिए। तर कसरी, कुन सुत्रले हो, लोकमान उनीभन्दा प्रिय बनिसकेका रहेछन्।
त्यतिखेर सुशील कोइराला, दिलेन्द्रप्रसाद बडु, शिवराज जोशी, सूर्यमान गुरुङलगायतका नेताहरुसमेत लोकमानलाई सचिव बनाउनु हुँदैन भन्दै प्रधानमन्त्री कोइरालाकहाँ पुगेका थिए। झगडै गरेका थिए। भनेका थिए, 'लोकमानलाई जसरी पनि जलस्रोतबाट हटाउनुपर्छ।'
गिरिजाले कसैको सुनेनन्। लोकमानलाई अर्को मन्त्रालयमा सार्न तयार भएनन्। जलस्रोत सचिव बनाएरै छाडे।
लोकमानविरुद्ध तत्कालीन प्रधानमन्त्री कोइरालासँग झगडा गर्न पुगेका तिनै सुशील कोइरालाले १२ वर्षपछि लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन सहीछाप गरे र सिफारिस हुनु अघिसम्म पनि लोकलाज बचाउन 'लोकमान हुँदै हुन्न' भन्दै दोगला कुरा गरिरहे।
तिनै लोकमानसिंह कार्कीलाई आइतबार संवैधानिक परिषद्ले अतियारको प्रमुख आयुक्तमा सिफारिस गरेको छ। राष्ट्रपतिले उनको सिफारिस अस्वीकृत गरेनन् भने उनी मुलुककै महत्वपूर्ण संवैधानिक अंगको प्रमुख बन्नेछन्।
राजनीतिको कुरूप अनुहार देखेर विरक्तिएका मजगैयाँ भने बत्ती बालेर पनि निष्ठाको राजनीति गर्ने एउटै व्यक्ति भेट्टाउन मुस्किल पर्ने अहिलेको समयमा पुराना कुरा कोट्याउन चाहँदैनन्। २०५८ वैशाखमा जलस्रोतमन्त्री छाडेयता उनी सिंहदरबार छिरेका छैनन्।
भन्छन्, 'भैगो छाड्दिनुस् पुराना कुरा!'