संवैधानिक परिषद्को बैठकले आइतबार अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को करिब दुई घन्टा लामो बैठक सकेर बाहिरिएका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले संवाददाताहरुलाई भने, ‘सबै कुरा मिलेर बैठक सकियो ।’
उक्त निर्णयअनुसार लोकसेवामा कयोदेवी यमी र महालेखा परीषकमा भानुप्रसाद आचार्यको सिफारिस गरिएको छ । परिषद्को सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ । उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारमा कार्कीको सिफारिस गरेदेखि नै यसप्रति राष्ट्रपतिले असन्तोष व्यक्त गर्दै आएका थिए ।
परिषद् बैठकबाट अख्तियारमा लोकमानसिंह कार्कीसहितको सिफारिस निर्णय गरेर बाहिरिएका सञ्चारमन्त्री माधव पौडेलले संवाददाताहरुसँग भने, ‘म संवैधानिक परिषद्को प्रवक्ता होइन, सरकारको मात्र हुँ, त्यसैले यसबारे केही नबताऊँ ।’
सञ्चारमन्त्री पौडेल लोकमानको सिफारिसप्रति असन्तुष्ट थिए । लोकमानको नियुक्ति भए राजिनामा गर्ने जानकारी आफूलाई मन्त्री बनाउने एमालेका नेताहरुलाई दुई दिनअघि नै गराएका थिए ।
औपचारिक बैठक सकेर सिंहदरबारबाट बाहिरिँदा सधैं संवाददाताहरुसँग हार्दिक रुपमा पेश हुने पौडेलले आइतबार कुराकानी गर्नै चाहेनन् । उनको अनुहार पनि निन्याउरो थियो ।
यसअघि संवैधानिक परिषद् बैठक चलिरहेकै बेला बोलाइएका सबै मन्त्रीहरु केही बेरमै बाहिरिएका थिए । बैठक स्रोतका अनुसार संवैधानिक परिषद् बैठकलाई केही बेर स्थगन गरेर गणतन्त्र दिवस आयोजना मूल समारोह समितिको बैठक बसेको थियो ।
परिषद् बैठकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, तथा तीनमन्त्रीहरु माधव पौडेल, माधव घिमिरे र रिद्दीबाबा प्रधान थिए । बैठक चलेको केही बेरमै सबै मन्त्रीहरु पनि डाकिएका थिए । अर्थमन्त्री शंकर कोइराला भने विदेश भ्रमणमा रहेकाले बैठकमा अनुपस्थित थिए ।